तीनदिने बाख्रापालन तालिम सुरु

फिचर मुख्य खबर समाज

तुलसीपुर, ३० भदौ ।
तुलसीपुरमा तीनदिने व्यावसायिक बाख्रापालन तालिम सुरु भएको छ । समाजमा रहेका महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि सञ्चालन गरिएको तालिम सोमबारदेखि सुरु भएको हो । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा सञ्चालन भएको उक्त व्यावसायिक तालिममा संस्थाको कर्जा कारोवारमा संलग्न रहेका महिलाहरुलाई सहभागी गराईएको छ ।
उक्त अवसरमा तालिमको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख सूर्य बहादुर डाँगीले तालिममा सिकेका कुरालाई अनिवार्यरुपमा लागू गर्न अनुरोध गरे । ‘बाख्रापालनको तालिम लिने तर किला, दाम्ला र खोरमा बाख्रा नहुने हो भने यसको कुनै अर्थ छैन’ उनले भने ‘दुईवटा बाख्रा पालेर साँझ बिहान घाँस खुवाउनलाई दिएको तालिम होइन, यो व्यावसायीक बनाउन दिईएको तालिम हो ।’
व्यवसायमूलक कुराहरुलाई आफूले सिक्न र अरुलाई सिकाउन आग्रह गर्दै उनले प्रशिक्षणलाई व्यवहारमा ल्याउन अनुरोध गरे । समाजका जागरुकताका साथ निरन्तर लागि परे स्थानीय र वडा सरकारले यस्ता आत्मनिर्भर बन्न चाहने महिलाहरुका लागि विभिन्न आयोजना तथा योजनाहरु ल्याईएको उनले जानकारी दिए ।

कार्यक्रमका अवसरमा बोल्दै भेटेनरी अस्पताल तथा पशु विज्ञान केन्द्र दाङका वरिष्ठ पशु चिकित्सक वेदबहादुर केसीले पशुपालन विभिन्न समस्याहरु आउन सक्ने भन्दै त्यसको समाधानमा आफू सधै तत्पर रहेको बताए । यस्तै तुलसीपुर शाखा प्रमुख पिताम्वर पौडेलले तालिमबाट सिकेका कुरालाई व्यवहारिक बनाउँदै परनिर्भरता हटाउनुपर्ने बताए ।
क्षेत्रीय कार्यालय कोहलपुरका कार्यक्रम अधिकृत नवराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रशिक्षार्थी आशा केसीले तालिमपश्चात् आफू बाख्रापालन व्यवसायी बन्न चाहेको बताईन । तालिममा सिकेका हरेक कुरालाई आफूले व्यवहारमा ल्याई आत्मनिर्भर वन्ने प्रतिवद्धतासमेत व्यक्त गरिन् ।
संस्थाको कर्जा कारोवारसँग संलग्न विभिन्न समूह तथा क्षेत्रका ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । तालिमको पहिलो दिन पशु सेवा शाखा तुलसीपुरकी अधिकृत सुनिता शर्मा, क्षेत्रीय कार्यालय कोहलपुरका कार्यक्रम अधिकृत नवराज जोशी र भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका पशु चिकित्सक नवीन बस्यालले वर्तमान समयमा बाख्रापालनको महत्व, आवश्यकता, चुनौती, अवसर र बाख्रापालनसम्बन्धी आवश्यक पर्ने विभिन्न विधि तथा प्रक्रियाको बारेका प्रशिक्षण दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *