तीनदिने उद्यमशीलता तालिम

समाज

तुलसीपुर, १९ चैत । हरेक महिलाहरु आत्मनिर्भर बन्नसके मात्र महिला हिंसा न्यूनीकरण हुने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । महिलाहरु स्वरोजगार भई आत्मनिर्भर बन्नसकेमा महिलाप्रति हुने हिंसा कमी हुँदै जाने उनीहरुले बताएका छन् ।
सोमबारदेखि तुलसीपुर–६ बरुवागाउँमा महिला उद्यमशीलता तथा आयआर्जनसम्बन्धी तीनदिने तालिम उद्घाटन कार्यक्रममा बोल्ने सहभागीहरुले यस्तो बताएका हुन् ।
दलित महिला संघ जिल्ला शाखा दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ को वडा कार्यालयको सहयोगमा तालिम सञ्चालन गरिएको हो । वडा अध्यक्ष नवराज लामिछानेको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले हरेक महिलाहरु उद्यमशील बन्नुपर्ने बताएकी छन् ।
विगतमा भन्दा अहिलेको अवस्थामा महिलालाई राज्यले थुप्रै अधिकार र अवसर दिएको भन्दै अबका दिनमा कुनै पनि महिला बेरोजगार भई बस्न नहुने बताइन् ।
उपमहानगरपालिकाले महिलाहरुको आयआर्जनका लागि विभिन्न सिपमूलक कार्यक्रमहरु सञ्चालन गरेको बताउँदै सिकेका सीपलाई व्यवहारमा लागू गर्नुपर्ने बताइन् । कार्यक्रममा दलित महिला संघ जिल्ला अध्यक्ष एवं वडा सदस्य युवा कराराले आर्थिक, राजनैतिक, सामाजिक र शैक्षिक हिसावले पछाडी परेका महिलालाई जागरुक गराउनुपर्ने बताइन् ।
अझै पनि समाजमा महिलामाथि विभिन्नखाले हिंसा भईरहेको भन्दै यसलाई न्यूनीकरण गर्न सबै एकजुट हुनुपर्ने बताइन् । उक्त अवसरमा पत्रकार लक्ष्मण विश्वकर्मालगायतले बोलेका थिए । तीन दिनसम्म सञ्चालन हुने तालिमको प्रशिक्षकमा खेमराज विश्वकर्मा रहेका छन् । कार्यक्रमको सहजीकरण वडा सदस्य यमुना परियारले गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *