नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका (तीज) आउन एकसाता मात्रै बाँकी हुँदा बजारमा चहलपहल बढिरहेको छ । ग्रामीणस्तरमा पनि तीजको रौनकताले छोइसकेको छ । संस्कृति र परम्परा राष्ट्रका सम्पत्ति हुन् ।
हरितालिका तीज पर्वलाई पनि निकै महत्वका साथ लिने गरिन्छ । अविवाहित हिन्दू नारीहरुले सुयोग्य पति पाउँ भनि र विवाहित नारीले श्रीमानको आयु लामो होस् भनेर तीज पर्वमा ब्रत बस्ने चलन छ । तीजको अघिल्लो दिन दर खाने परम्परा छ भने तीजको दिनमा नाचगान गरेर धुमधामका साथ तीज पर्व मनाउने गरिन्छ ।
तर पछिल्लो समय तीज पर्व पनि अलि भड्किलो बन्दै गएको हो की ? भन्ने विभिन्न क्रियाकलापले देखाउने गरेको छ । एक महिना अघिबाट दर खाने, विभिन्न किसिमका गहना प्रदर्शन गर्ने, ठूला–ठूला आवाजमा गीत बजाएर नाच्ने आदि गतिविधिहरु तीज पर्वमा पछिल्लो समय देखिन थालेपछि यो पर्वको महत्व घटेर जाने हो की ? भन्ने चिन्तन गर्न थालिएको छ ।
पर्व नयाँ पुस्तामा हस्तान्तरण हुँदै गर्दा पुराना कला, संस्कृति लोप भएर जाने हो भन्ने कुरा चिन्तन, मननको विषय बनेको छ । त्यतिमात्र नभई पछिल्लो समय तीजका गीतमा समावेश गरिने शब्दले पनि समाजलाई नकारात्मक दिशातर्फ लैजाने हो की भनेर चिन्ता व्यक्त गर्न थालिएको छ ।
रितिरिवाज र परम्परा देखावटी शैलीमा भन्दा पनि आफ्नो क्षमता अनुसार मनाउनुपर्छ । तर त्यसो हुन नसक्दा हाम्रा चाडपर्व विकृत बन्दै गएका छन् । तीजलाई कसरी हामीले पछिल्लो पुस्तालाई हस्तान्तरण गर्दैछौं त ? पर्वलाई तडकभडकभन्दा पनि संस्कारयुक्त कसरी बनाउने ? आदि विषयलाई आजको राउण्ड टेबलको यो अंकमा छलफल र बहसको विषय बनाएका छौं ।
एकताको सन्देश दिने तीज
बसुन्धरा गौतम
पत्रकार
हरितालिका पर्व नेपालीको जनजिब्रोमा तीज पर्वका रुपमा छ । तीजको धार्मिक र साँस्कृतिक, सामाजिकसँगै महिला स्वतन्त्रताको आवाज बुलन्द गर्ने स्वतन्त्रता पर्वको रुपमा पनि महत्व रहेको छ ।
यसो हेर्दा तीज हिन्दू महिलासँग मात्र जोडिएको जस्तो लागेपनि वास्तवमै तीजले सिङ्गो नेपाली समाजलाई बाँधेर लगेको छ । धर्मसँग जोडिएर धार्मिक आस्था बोकेकाहरुले ब्रत बस्ने, पूजाआजा गर्ने गरेपनि नाचगान अर्थात् साँस्कृतिक माहोलमा सिङ्गो नेपाली समाजको प्रतिविम्व पाउन सकिन्छ ।
साँस्कृतिक कार्यमा जुनसुकै जात, धर्म, लिङ्ग, वर्ग, वर्ण, भाषाभाषी उमेरका मानिसलाई जोड्ने यसको सबैभन्दा सुन्दर पक्ष भनेकै साँस्कृतिक पक्षलाई मान्न सकिन्छ । यसले सिङ्गो समाजलाई जोड्नलाई भूमिका खेलेको पाइन्छ ।
यसले सिङ्गो नेपाली समाजलाई जुरुक्क उठाउन र राष्ट्रिय एकताको सन्देश दिन सक्ने सामाथ्र्य राख्छ भने त्यो तीज पर्वले मात्रै राख्छ भन्न सकिन्छ ।
तर बिडम्वना मान्नुपर्छ केही दशक यता हाम्रा संस्कार, संस्कृति, चालचलन, मुल्य, मान्यतामा एकप्रकारको प्रहार नै भैरहेको छ । यसबारेमा बेलैमा सोच्न जरुरी छ ।
हिन्दू महिलाको मात्र नभएर सिङ्गो नेपाली महिला सिङ्गो नेपाली समाजलाई बोक्ने र जोड्ने समाथ्र्य राख्ने तीज पर्वमाथि चारैतिरबाट प्रहार भैरहेको छ ।
वास्तवमा तीज नेपालीहरुको स्वतन्त्रताको पर्व हो भन्ने कुरा हामीले हिमालयकी छोरी पार्वतीको कथाबाट पनि बुझिसकेका छौँ । जतिबेलाको समाज जहाँ महिलाहरु घरभित्रै भात, भान्सामा सीमित थिए, शिक्षाबाट समेत बञ्चित थिए ।
खुला समाजमा खुलेर हिड्नलाई पनि त्यति बेलाको समाजले बन्देज गरेको थियो । बाटोघाटो, यातायात सञ्चारका कुनै पनि आजको जस्तो विकसित साधन र माध्यम पनि थिएन । महिला घरभित्र बस्दथे ।
आफ्नो श्रीमानलाई शिर ठाडो पारेर घरपरिवारका माझ ऊसँग खुलम–खुल्ला रुपमा बोल्नलाई पनि छुट थिएन । जस्तोसुकै थिचोमिचो, अन्याय, अत्याचार पनि महिलाले सहनुको विकल्प थिएन त्यसबारे मुख खोल्ने, बोल्ने ठाउँ थिएन, उजुरी गर्ने ठाउँ थिएन, न्याय माग्ने ठाउँ थिएन ।
त्यस्तो अवस्थामा रहेका महिलाहरुलाई वर्षमा एकदिन छुट थियो जहाँ घरमा वर्षभरिका पीडा, बेदना, व्यथा, अन्याय, अत्याचारलाई गीतका भाकाहरुमा मिसाएर दिदीबहिनीसँगै बसेर पोख्ने र मनलाई हलुङ्गो बनाउने हुन्थ्यो ।
अहिलेको जस्तो स्रोत साधन, बाटोघाटो केही नभएको उतिबेलाको समाज जहाँ आफ्ना बाबाआमा, दाजुभाइ, दिदीबहिनी, साथीसङ्गी र सिङ्गो जन्मघरसँगको पुनर्मिलन गराउने भनेकै तीज पर्व थियो । तीजमा माइत जानलाई छुट थियो । विरह र वेदनाका भाखाहरुलाई गाउनलाई छुट थियो ।
जहाँ महिलाहरुले सासूका व्यवहार, श्रीमानको व्यवहार, परिवारको व्यवहार मात्र होइन वर्ष दिनसम्म उनले भोगेका, आईपरेका सबै समस्या गीतमै गाउँथे, गीतमै बिसाउँथे र गीतमै मन बुझाउँथे । यसबाट के भन्न सकिन्छ भने तीज त महिलाहरुको स्वतनत्रताको पर्व रहेछ ।
त्यति मात्र होइन कर्म घरमा पुगेका छोरीचेलीलाई मीठो मसिनो खान र एकसरो लाउनलाई पनि त्यतिबेला तीज नै पर्खनुपर्ने वर्ष भरिमा माइतीबाट पाएको २ जोड घरबाट दिएको २ जोड गरि ४ जोर कपडाले हिउँद, वर्षा, गर्मी चाडपर्व थेग्नु पर्ने अवस्था थियो ।
अहिलेको जस्तो जतिबेला जे चाह्यो त्यही पाउने कुरा थिएन । स्रोत साधन सोच सबैले अहिलेको जस्तो सम्भव पनि थिएन । एकसरो लाउनलाई पनि महिलाले तीज कुर्नुपर्ने, मीठो मसिनो खानलाई पनि तीजको अघिल्लो दिनको माइतीमा गएर खाने दरलाइ पर्खनु पर्दथ्यो ।
यी सबै पक्षले गर्दा पनि तीज पर्व महिलासँग विशेषरुपमा जोडिएको पर्व मान्न सकिन्छ । तर अहिले समय फेरिएको छ । अवस्था फेरिएको छ । महिलाको अवस्थामा परिवर्तन आएको छ ।
समाज बदलिएको छ । स्रोतसाधन, यन्त्र उपकरणले असम्भव भन्ने कुरा केही छैन । त्यसको प्रभाव यदाकदा हाम्रा चाडपर्वहरुमा पनि देखिन थालेको छ । हिजो घरमा सीमित रहेका महिलाको आजको संसार खुला छ, समाज खुला छ ।
महिलाका भूमिका फेरिएका छन् यी सबैका कारण हिजो घर र माइतीसँग मात्र जोडिएका महिला आज सिङ्गो समाज राष्ट्र राज्यका सबै निकाय, संघसंस्था, कार्यालय सबैमा जोडिएका छन् ।
यसले पनि हिजोको जस्तो माइतीमा गएर दर खाने कुरा अब सम्भव छैन । भूमिका पेशा, व्यवसाय र सम्बन्धका आधारमा महिलाको समाज पनि हिजोको जस्तो साँघुरो छैन । अब महिलाको समाज पनि फराकिलो छ ।
परम्परा र संस्कार नभुलौं
शारदा खड्का
सामाजिक अभियान्ता
तीज पर्व भन्नासाथ हामी चेली माइती भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरको रूपमा बुझ्छौं । यस अवसरमा चेलीहरू माइत आउँछन् । दूग्धजन्य परिकार सेवन गर्छन् । उपवास बस्छन् । रातो, हरियो, पहेंलो रंगको पहिरनमा सजिन्छन् ।
चुरा, पोते लगाउँछन् । नाचगान गर्छन् । तीज पर्वको अर्को सुन्दर पक्ष भनेको सामाजिक पक्ष अर्थात् सामाजिक महत्व मान्न सकिन्छ । यसबेलाको समय उसबेलाको समाजमा पुरुषहरु कामका शिलशिलामा घर बाहिर जाने परदेश जाने, जहाँ निष्ठा, त्याग अनुशासन र एकाग्रतासमेत भङ्ग हुनसक्ने तमाम बाह्य परिस्थितिका कारण धर्म, संस्कार,
संस्कृतिको रक्षा गर्नसक्ने पुरुषलाई विश्वासिलो र भरपर्दो मान्न नसक्ने परिस्थिति देखापर्न सक्ने भएकाले अटल विश्वास आस्था र अनुशासनका प्रतिमूर्ति रहेका नारीहरुकै अगुवाइमा गरिने पूजाआजा, ज्ञान, ध्यान, जपतपले मात्र यी सबको रक्षा हुने मान्यता र विश्वासका आधारमा पूजाआजा गर्ने, धर्म संस्कृतिको रक्षा गर्ने, घरपरिवार, समाजलाई जोड्ने दायित्व महिलाहरुमा आएको मानिन्छ ।
जन्म घरपछि कर्म घरमा आएका महिलाका सबैभन्दा विश्वासिला, सबैभन्दा नजिक र सबैभन्दा प्रिय लाग्ने भनेको उनको श्रीमान अर्थात उनको जीवन साथी मानिन्छ । यो धु्रवसत्य पनि हो ।
पुरुषहरुले धर्म, संस्कृतिको रक्षा गर्दै समाजलाई जोड्न सक्ने सामथ्र्य उतिबेलाको समाजले नदेखेपछि यसको सम्पूर्ण अभिभारा महिलाहरुलाई दिए अनि यसको रक्षा गर्ने जुक्ति फेरि पुरुषहरुले नै लगाए त्यो पनि कसरी भने जन्म घर छोडी कर्म घर आएकी महिलाहरुलाई पतिको राम्रो होस् भनी पूजाआजा गर्ने, ब्रत बस्ने, जपतप गर्ने कुरा ।
यसरी यो पुरुष अर्थात् पतिसँग जोडिएको मानिन्छ । तर यसको मूलमर्म भनेकै महिलामा भएको गुण, महिलामा भएको आस्था, विश्वास र अनुशासन जसले धर्म, संस्कृति र समाजलाई जोड्दै यसलाई पुस्तौपुस्तासम्म लग्न सहज होस् भन्ने नै हो ।
त्यसकारण यसलाई पतिकै लागि महादेवको पूजा गर्ने भन्ने कुराबाट मात्र बुझ्नु गलत हुन जानेछ । माथि भने जस्तै निष्ठा, त्याग अनुसासन विश्वास जोसँग छ, ऊ सबैले पूजा गर्न हुन्छ भन्नु बुझ्न जरुरी छ ।
तर त्यतिबेला अराजकतत्व, धार्मिक विखण्डनकारी र पश्चिमाहरुले हाम्रो सिङ्गो समाज भाँड्नका लागि राम्रो पति पाउन, पतिको राम्रो होस्, दीर्घ आयु होस् भनेर महिलाले पूजा गर्ने, ब्रत बस्ने भन्ने कुरालाई गतल अपव्याख्या गर्दै हाम्रो धर्म,
संस्कृतिमाथि नै हामीद्वारा विरोध गर्न लगाई यसका विरुद्धमा नारी र पुरुषबीचको विभेद भन्दै महिला र पुरुषबीचमा द्वन्द्व सिर्जना गरे जसको परिणाम आज हाम्रो चाडपर्व, धर्म, संस्कृतिसँगै हाम्रो मूल्य, मान्यता नै हराउँदै जान थालेको पाइन्छ । भूमिका फराकिलो छ र दर खाने तौरतरिका पनि फराकिलो भएको छ ।
महिलाहरु अहिले अरुमाथि आश्रित छैनन् आफै कमाउन सक्ने देश चलाउन सक्ने आवश्यकता र औचित्यका आधारमा पैसा खर्च गर्ने सामथ्र्य राख्दछन् त्यसैले घरमा दर खाने हिजोकोे चलन केही विकसित भएको छ । टोल छिमेक कार्यालय सबैसँग जोडिदै महिलाले एकैदिन अर्थात् तीजको अघिल्लो दिन दर खाने कुरा अहिलेको समाजमा सम्भव छैन ।
समयको माग र बदलिदो समयले संस्कृतिमा ल्याएको नयाँपनको रुपमा समाजले स्वीकार्न जरुरी छ । यसैगरी तीजमा महिलाहरुले लगाउने गरगहना र सारी चोलीको विषयलाई पनि यदाकदा तडकभडक र विकृतिका रुपमा लिने समाजको एकथरि वर्गको सोच पनि छ ।
वास्तवमा हामीले बुझ्नुपर्ने कुरा के जस्तो लाग्छ भने चाडपर्व भनेकै राम्रो लगाउने मीठो खाने हो त्यो पनि आफ्नो क्षमता र आर्थिक अवस्थाले धानेसम्मको अर्थात् ‘घाँटी हेरेर हाड निल्ने’ भन्ने हाम्रो उखान पनि छ । त्यसैगरी गर्नु स्वभाविक हो ।
कसैको सामाथ्र्य र क्षमताले पुग्छ र उसले आफ्नो औकात अनुसारको गरगहना, लवाईखुवाई गर्छ भने त्यसलाई हामीले तडकभडकको पगरी नगुथौ र नहुनेले भए नभई त्यसो पनि नगरौँ । चाडपर्वलाई थोरै खर्च एकसरो लाएर पनि रमाइलो गरी मनाउन सकिन्छ । नपुगी नसकी ऋणको भारी बोक्ने गरी मनाउनेतर्फ हामी नलागाँै र हुनेहरु पुग्नेहरुले लगाएको विरोध पनि नगरौँ ।
पुनर्मिलनको पर्व तीज
हुमा डि.सी.
अधिकारकर्मी
आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा र पर्व हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाहपश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनुपर्ने हुन्छ ।
यसरी आफू जन्मेको घर, माता, पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराई घरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ ।
तीजमा महिलाहरूलाई मीठा–मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराई घरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ ।
तीजमा विवाहिता महिलाहरू आफ्नो पतिको दीर्घायुको कामना गर्दै ब्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी ब्रत बस्छन् । ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई दान दक्षिणा गर्ने चलन रहेको छ ।
तीजको ब्रत अन्य ब्रतभन्दा फरक ढंगले लिइन्छ । छोरी, चेली र माइतीबीचको सम्बन्धलाई पुनर्मिलन गराउने, साथी, सङ्गीबीचको सम्वन्ध पुनर्मिलन गराउने पर्वका रुपमा तीजलाई लिन सकिन्छ ।
विवाह गरेर कर्म घर गएका सबै छोरीचेलीहरु जन्म घरमा आउने जन्मथलोसँगको पुनर्मिलन आफू जन्मी हुर्की बढेको ठाउँ, घास, दाउरा, पाखापखेरा गरेको डाँडाकाँडा, उकाली ओराली गरेर हिडेका बाटाघाटा, थकाई मारेका चौतारा,
खोलानाला साथीसङ्गी सबैसँग पुनर्मिलन गराउने र बालापनमा पुनः फर्काउँदै जीवनमा आएका उतारचढावलाई विश्लेषण गर्दै एकैछिन भएपनि रमाईलो आभाष गराउने पर्वको रुपमा तीजलाई लिइन्छ ।
पछिल्लो समय तीज पर्व केही भड्किलो बन्दै गएको पनि छ तर यसको लागि हामी आफैपनि सचेत हुनुपर्छ । आफ्नो क्षमताअनुसार नै तीज पर्वलाई भव्य र सभ्यरुपमा मनाउने संस्कृतिको विकास गर्न आवश्यक छ ।
समय परिवर्तनशील र गतिशील छ । समयको परिवर्तनशीलता र गतिशीलता सँगसँगै मानव समाज र सभ्यताहरूको परिवर्तन हुँदै आएका छन् । समयको गतिसँगै भएका सकारात्मक एवं सिर्जनशील परिवर्तनहरूले समाज र सभ्यताहरूलाई विकासको उचाईमा पु¥याएका छन् ।
तीज पर्वका बारेमा विभिन्न विकृति भित्रिन थालेको भन्दै आलोचना हुने गरेको छ । वर्षौदेखि चलिआएको रितिरिवाज, परम्परा र संस्कारलाई हामीले परिवर्तन गर्नुहुँदैन् । किनभने रितिरिवाज र संस्कार संस्कृति हाम्रा सम्पत्ति हुन् ।
हामीले तीज पर्वमा गर्ने फजुल खर्चको कटौती गरेर अरु कुनै पनि काममा लगाउन सक्छौँ । आफ्नो क्षमताले धान्ने गरी तीज पर्वलाई मनाउनुपर्छ ।
समयको बदलिदो प्रवाह सँगसँगै नकारात्मक र सिर्जनशील परिवर्तनहरूले हाम्रो समाज र सभ्यताहरूलाई बदनाम गर्ने गरेको छ । त्यसैले यस्ता कुराहरुको पाठ आजैबाट सिकेर जानुपर्ने देखिन्छ । र अन्त्यमा तीजपर्वको सबै दिदीबहिनीलाई शुभकामना ।
मानवीय भावना र संस्कृतिको पर्व तीज
महिमा थापा
गृहणी
तीज आस्था विश्वास र प्रेमको पर्व हो । विवाहपश्चात् एक नारीको सम्पूर्ण आस्था विश्वास र प्रेम पतिमा केन्द्रित हुन जान्छ । पतिबाटै परिवारको सिर्जना हुने हुँदा तीजलाई पति प्रेम वा पारिवारिक प्रेम र स्नेह बढोत्तरी गर्ने पर्वको रूपमा परिभाषित गर्नु उपयुक्त हुन्छ ।
पत्नीले निष्ठा, प्रेम, आस्था र विश्वासको प्रतिक मानेर पूजित गर्दा निश्चय नै पतिको हृदयमा पनि सोही भाव जागृत हुन्छ र यसबाट पति–पत्नीबीच गाढा सम्बन्ध स्थापित हुन्छ । जहाँ पति–पत्नीमा गाढा प्रेममय सम्बन्ध हुन्छ त्यहाँ परिवार अवश्य खुसी हुन्छ ।
तीज एकातिर मानवीय भावनात्मक पक्षसँग सम्बन्धित छ भने अर्कोतिर यो धर्म र संस्कृतिसँग पनि जोडिएको छ । परिवारमा नारी नै संस्कृति र परम्परालाई धान्दै यसलाई सकारात्मक रूपमा पालना गर्ने र आफ्ना सन्ततीलाई पनि पालना गर्न लगाउने मुख्यकर्ता हो ।
परिवारमा चालचलन र परम्परागत कुराहरूलाई एक असल गृहिणीले नै व्यवस्थित र स्थापित गर्छिन् भने यही कुरा आफ्ना सन्तानहरुलाई पनि सिकाउँछिन् । यसले एकतातिर परम्परा र संस्कृतिको जगेर्ना गर्दछ भने अर्कातिर व्यवस्थित र अनुशासित परिवार कायम गर्न मद्दत गर्छ ।
धर्म वा ईश्वरमा विश्वास गर्ने मानिस कहिले पनि एक्लो हुँदैन । ईश्वरप्रतिको आस्थाले मानिसमा उच्च इच्छाशक्तिको प्रादुर्भाव हुन्छ, नैतिक बल र अदम्य साहस उत्पन्न गरिदिन्छ । फलतः मानिस कूकर्म गर्नबाट रोकिन्छ र पौरखी र कर्तब्य परायण हुन्छ ।
कर्मयोगीहरु सदैव सत्मार्गमा अघि बढ्छन् र आशावादी हुन्छन् । व्यक्ति व्यक्तिबाट समाज र समाजबाट देश बन्दछ । समाजका हरेक व्यक्ति सत्मार्गमा लागे पूरा देश नै व्यवस्थित अनुशासित र कर्तब्य परायण हुन्छ ।
मूलतः तीज आस्था प्रेम र सद्भावनाको पर्व भएता पनि बदलिदो परिवेशमा यसमा अनेकन् आडम्बरहरु भित्रिएका छन् जुन समाजको लागि अजीर्ण बनेर देखापर्दैछ ।
टाढाबाट माइत आएका चेलीहरु यात्राका कारणले गलित हुने र भोलिपल्ट निरहार ब्रत बस्ने हुँदा स्वास्थ्यको ख्याल गर्दै माइतीपक्षले अघिल्लो दिन दूधयुक्त पौष्टिक परिकार खुवाउने गरिन्छ र यसैलाई दर भनिन्छ ।
स्नेह र प्रेम दर्शाउँदै चेलीबेटीलाई दर खुवाउनु निश्चय नै राम्रो पक्ष हो तर गच्छे भुलेर आडम्बरी हुँदै महिना दिन अघिदेखि अनुत्पादक खर्च गर्नु र पुगिसरि आएको देखाउन विभिन्न भोजभतेर गर्नु निश्चय नै तीजमा भित्रिएको विकृत चलन हो ।
परिवारको व्ययभार बढाउने यस्ता कार्यतर्फ हरेक नारी सजग रहन आवश्यक छ । एक विवाहित नारीको लागि तीज मुख्यतः पतिप्रति आस्थाको पर्व हो ।
आस्था मनोभाव हो र यसलाई प्रमाणित गर्नको लागि आफ्नो शरीरको, रोगको र व्यक्तिगत स्वास्थ्य अवस्थाको ख्याल नगरी चलिआएको चलन भन्दै निराहार पानी पनि नपिएर पतिलाई देखाउनु आवश्यक छैन ।
पानी नपिउँदा शरीरमा पानीको मात्रा घट्छ, जलवियोजन भएर ब्रतालुको अवस्था गम्भीर हुनसक्छ । त्यस्तै शरीरलाई अत्यावश्यक खानेकुरा नखाँदा ग्यास्ट्रिक, सुगरका रोगीहरुको अवस्था गम्भीर हुनसक्छ ।
परिवर्तित समयमा अन्धविश्वासमा लागेर आफ्नो शरीरको ख्याल नगरी तीजमा पानी पनि नपिइकन ब्रत बस्नु कहाँसम्म अपरिहार्य हो, त्यो सबैले बुझ्नु जरुरी छ ।
धेरैजसो महिलाहरूले अचेल साँझपख पानी, फलफुल खाने गर्छन् यो सकारात्मक पक्ष हो । पतिले पनि पत्नीको मनोभाव बुझेर त्यसलाई कदर गर्दै पानी र फलफुल खान दिन्छन् ।
अहिलेको परिवेशमा लगभग सबै महिलाहरू कामकाजी भएकोले धर्म, रितिरिवाज, चलनलाई आँखा चिम्लेर चल्दै आएको परम्परा अनुसार मनाउन पर्छ भन्दै तीज मनाउँन जरुरी छैन ।
आस्था, प्रेम र विश्वासको प्रतीक तीजलाई आफू स्वस्थ्य भएर मनाऔँ, पतिसँग भावनात्मक सम्बन्धको बिस्तार गरौँ, आडम्बर र अन्धविश्वासमा लागेर आफूलाई नै अप्ठेरोमा पार्दै पति र परिवारलाई दुःख हुने परिस्थिति निम्त्याउने कार्य नगरौँ ।
हिजोआज धेरै बिकृतिहरु देखापरेको छ यस्ता विकृतिलाई बहिस्कार गर्दै आफ्नो चाडपर्वको जगेर्ना गर्नु हाम्रो दायित्व र कर्तव्य पनि हो । समस्त नेपाली नारीहरूमा तीजको मंगलमय शुभकामना ।