तीज विकृति नबनोस्

मुख्य खबर विचार समाज

हिन्दू महिलाहरुको ठूलो पर्व मध्येको एक पर्व हरितालिका तीज हो । आज हरितालिका तीज मनाइदै छ । किम्बदन्तीमा भएको प्रसंगमा देखाएजस्तो सखीद्वारा हरण गरिएकी पार्वतीले गुप्तस्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास (व्रत)लाई हरितालिका तीजको महत्वले प्रष्ट्याउँदै आइएको छ । यसले परिवारभित्रको सद्भावलाई पनि बलियो बनाउने विश्वास गरिन्छ । हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि श्री महादेव स्वामी पाऊ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान विष्णुलाई कन्यादान दिन लाग्दा उनले महादेवकै लागि गरेको तपस्या र पछि महादेवलाई पति पाएको प्रसंगलाई हेर्दा आफ्नो श्रीमान र रोजाईका लागि गरिने वर्तको रुपमा यसलाई लिइन्छ । विशेषगरेर विवाहिताले श्रीमानको दीर्घायु र अविवाहितले राम्रो पतिको कामना गरेर वर्त बस्ने गरेको पाइन्छ ।
हिन्दू नारीहरूको महान धार्मिक पर्वका रूपमा लिइने हरितालिका व्रत पछिल्लो समय संस्कृत, परम्पराको संरक्षणभन्दा पनि अलि बढी विकृतितिर गएको छ । त्यो अवस्था बजारमा स्पष्ट रुपमा नै देखिने गरेको छ । व्रत र दरको नाममा विभिन्न विकृतिहरु पनि अहिले भित्रिएका छन् । ति विकृति र विसङ्गतिहरुलाई तीजका नाममा भित्र्याइनु हुँदैन । त्यसलाई हौसला हैन निरुत्साहित बनाउनेतर्फ जानुपर्छ । हिन्दू परम्परामा चाडपर्वको आफ्नै महत्व र अस्तित्व छ । त्यो महत्व र अस्तित्वले यहि अवस्थामा राखिनु पर्छ । दरको नाम लिएर एक महिना अघिदेखि भोजभतेर थालिनु अरुलाई नै असर पर्ने गरी गतिविधिहरु सञ्चालन हुनु र देखासिकीमा लैजान हुँदैन । पर्वलाई पर्वकै रुपमा मनाइनुपर्छ । केही वर्षयता तीज आउनुअघि नै भड्किलो रूपमा दर खाने र उपहार दिने क्रमले गर्दा कतै यो पर्व हुने खानेको मात्र होकी भन्ने देखिएको छ । यो अवस्था आउनु हुँदैन । अनावश्यक खर्च गर्ने यस्तो परिपाटीलाई निरुत्साहित गर्न सकिएमा तीजको महत्व झन बढ्दै जाने र आम महिलाले यसलाई आफ्नो पर्वको रुपमा खुसी मनाउने अवस्था आउने छ ।
भाद्र तृतीयाका दिन प्रत्येक वर्ष मनाईने गरिन्छ । हरितालिका तीजको अवसरमा सम्पूर्ण महिलाहरुलाई शुभकामना छ । यो वर्प सबैको साझा सबैले अपनत्व लिनसक्ने पर्वका रुपमा तीज रहोस् । धनीले पर्वकै नाममा भड्किलो वातावरण निर्माण गरेर मनाउने र गरिवहरु घरभित्र लुकेर चाडपर्व मान्नु पर्ने अवस्था नदेखिएयोस् । सबैले परम्परालाई जगेर्ना गर्ने गरी सजह र सामान्य अवस्थामा मनाउन सकून् आफ्नो दक्षता अनुसारको पर्व बनोस् । हरितालिका तीजको सबै महिनाहरुमा शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *