तीज महोत्सवको तयारी अन्तिमतिर

मुख्य खबर समाज

दाङ, २१ भदौ । हिन्दूहरुको महान् पर्व हरितालिका तीजको अवसरमा दाङको घोराहीमा भदौ २२ देखि २८ गतेसम्म हुने तीज महोत्सवको तयारी तीव्र बनेको छ । तयारीअन्तर्गत तयारी अन्तिम चरणमा रहेको आयोजक मूल समितिले जानकारी दिएको छ । राष्टिूय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङको आयोजनामा हुने ‘तीज विशेष साँस्कृतिक महोत्सव २०७५’ को तयारीअन्तर्गत ८० प्रतिशत तयारी पूरा भईसकेको मूल समितिका संयोजक प्रेम शर्माले जानकारी दिएका छन् । घोराहीको कर्मचारी मिलन केन्द्रको दक्षिणतर्फको मैदानमा हुने तीज महोत्सवका लागि आवश्यक तयारीअन्तर्गत भौतिक निर्माणका बाल उद्यानका सामग्रीहरु तयारीे, बाउण्डर, मूल गेट एवं स्वागत गेट निर्माण, मुख्य मञ्च निर्माण लगायतका काम अन्तिम चरणमा रहेको उनले बताए । महोत्सवमा खुला तीज गीत प्रतियोगिता र तीज नृत्य प्रतियोगिता हुने भएको छ । जसमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने छ । यस्तै महोत्सवमा चर्चित कलाकारहरुको प्रस्तुति रहने छ । साँस्कृतिक महोत्सवमा दैनिक हुने साँस्कृतिक कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुति रहने साँस्कृतिक उपसमितिका संयोजक राजेन्द्र दाहालले जानकारी दिए । जसमा नेपाली चलचित्र क्षेत्रका कलाकार एवं चर्चित कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । यसैबीच तीज महोत्सवमा बाल उद्यानका सामग्रीहरु रहने भएको छ । जसमा झुला र डुङ्गा पिङ, रेल, बालबालिकाहरुका लागि खेलहरु रहने आयोजक मूल समितिले जानकारी दिएको छ ।
तीज मिलन कार्यक्रम हुने घोराही उपमहानगरपालिका वडा नम्वर ७ ले आगामी २३ गते शनिवार तीज मिलन कार्यक्रम गर्ने भएको छ । वडा कार्यालयले चालु आव२०७५÷०७६ मा तीज मिलन कार्यक्रमका लागि बिनियोजन गरेको तीस हजार रुपैयाँबाट लैंगिक हिंसा न्यूनीकरण सम्बन्धी तीज गीत तथा नृत्य प्रतियोगिता समेत गरिने भएको हो ।
कार्यक्रम व्यवस्थापनका लागि वडा सदस्य गोमा नेपालीको संयोजकत्वमा ९ सदस्यीय मुल समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा अमृता विक, सुनिता चौधरी, गोमा रेग्मी, देवा चौधरी, डिला डिसी, सीता भण्डारी, जुुनु विक र लक्ष्मी केसी रहेका छन् । यस्तै प्रतियोगिता सफल बनाउन मिना डाँगीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, खीमा विकको संयोजकत्वमा बाद्यवादन व्यवस्थापन उपसमिति र सुशिला चौधरीको संयोजकत्वमा भान्सा व्यवस्थापन उपसमिति समेत गठन गरिएको छ । मावि सौडियारको प्राङ्गणमा हुने कार्यक्रममा टोलस्तरीय तीज गीत तथा नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरिने छ । यसैबीच कार्यक्रम संयोजक गोमा नेपालीको अध्यक्षतामा बुधबार बसेको बैठकले तीज मिलन कार्यक्रममा सहभागी हुन सबै टोलबासीमा अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *