तरकारीमा जोडिदै महिला

फिचर मुख्य खबर समाज

तुलसीपुर, २४ मंसिर । तुलसीपुर उपमहानगरपालिका–४ लामीदमरकी धनसरी घर्तीलाई फुल्नै लागेका टमाटरलाई कहिलेसम्म छिटा बनाइसकुँ भन्ने पिर छ । बारीमा एकातिर लटरम्म फलेका टमाटर, अर्कातिर फुल्नै लागेका टमाटर छन्, छेउमै लसुन उम्रेर भर्खर भुइँ छोडेका छन् ।
आइतबार दिउँसो बारीमै पुग्दा धनसरी घर्ती टमाटरको स्यहार गरिरहेकी थिइन् । उमेरले करिब ४ दशक पूरा गरेकी घर्ती अहिले पनि तरकारी खेतीमा व्यस्त बनेकी छन् ।
बिगत लामो समयदेखि तरकारी खेती अंगालेकी ४० वर्षिया घर्ती पनि करिब ५ कठ्ठा जग्गामा तरकारी खेती गरेकी छन् । लामो समयदेखि व्यवसायीक रूपमा तरकारी खेती अंगालेकी घर्तीलाई श्रीमानले साथ दिएपनि टमाटर फलाउनेदेखि बिक्री गर्नेसम्मको जिम्मेवारी उनले सम्हालेकी छन् ।
घरमा तरकारी उत्पादन गरेर बिक्री गर्न थालेपछि दैनिकी सहज बनाएकी उनले तरकारी खेतीबाट मनग्य आम्दानी गरेकी छन् । उनले तरकारी खेतीबाट मासिक २० देखि २५ हजारसम्म गर्ने गरेको बताएकी छन् । ‘श्रीमान र मेरो गरी मासिक ५० हजार जति आम्दानी हुने गरेको छ’ उनले भनिन्– ‘तरकारी खेतीबाटै वार्षिक ६ लाख बढी आम्दानी हुन्छ ।’
तरकारी खेती गर्नलाई केही पनि गाह्रो नहुने सजिलै भएको उनले अनुभव व्यक्त गरिन् । ‘पहिला–पहिला अरूले गरेको देखियो र अनि शुरू गरियो तरकारी खेती गर्न, अहिले त सजिलो भएको छ’ उनले भनिन्–
‘तरकारी खेतीबाटै छोराछोरीको पढाइ खर्चदेखि घर व्यवहार चलाएको छु ।’ श्रीमानको कमाईमा निर्भर रहनुपर्छ भन्ने परम्परालाई अन्त्य गर्न सफल घर्तीले आफूलाई काम गर्न असहज कहिल्यै नहुने बताइन् ।
‘तरकारी खेती गर्न सहज नै छ, परिश्रम नगरी त सुख कहाँ छ र ?’ उनले भनिन्– ‘तरकारी खेतीबाट आम्दानी हुन थालेपछि श्रीमानको कमाई आफूले खर्चनु परेको छैन् ।’
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ लामिदमारका पम्पी डाँगीको दैनिकी पनि तरकारी खेतीमै बित्ने गरेको छ । उमेरले पाँच दशक पुगिसकेकी डाँगीले तरकारी खेतीबाटै मासिक १५ हजार बढी आम्दानी गर्ने गरेकी छन् ।
टमाटर, सिमी, लसुनलगायतका तरकारी खेतीबाट आम्दानी हुने देखेपछि ५० वर्षको उमेरमा पनि तरकारी खेतीलाई अंगालेको बताइन् । ‘बसेर खाने उमेरमा किन यस्तो दुःख गरेर बसेको भनेर सबैले भन्छन्,
तर मलाई बस्न मन लाग्दैन्’ उनले भनिन्– ‘राम्रै आम्दानी भएपछि किन घरमा त्यत्तिकै बस्नु र ?’ तरकारीले बजार भाउ राम्रो पाउन थालेपछि यो पेशा झन छोड्न मन नलागेको उनले बताइन् । ‘यस्तो उमेरमा पनि महिनाको १५ हजार कमाएकै छु’ उनले भनिन्– ‘आम्दानी हुन थालेपछि झन–झन खेती बढाउँदै लगेको छु ।’
उनले तरकारी बिक्रीका लागि कुनै समस्या नरहेको सुनाइन् । ‘पहिले–पहिले तुलसीपुर बजारमा तरकारी लैजानुपथ्र्यो, अहिले बारीमै तरकारी बिक्री हुन्छ’ उनले भनिन्– ‘अहिले दुःख अनुसार आम्दानी पनि राम्रै हुने गरेको छ ।’
समयअनुसार टमाटर, बन्दागोपी, काउली, सिमी, लसुन, प्याजलगायतका खेती गर्ने गरेको उनले बताइन् । ‘टमाटरले बढी आम्दानी दिने भएकाले यसको खेती बढी नै हुने गरेको छ, तर अरू तरकारीको पनि खेती राम्रै हुने गरेको छ’ उनले भनिन्– ‘अहिले प्याजको पनि बजार भाउ राम्रै भएकाले प्याज खेती पनि गर्ने गरेको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *