तुलसीपुर, २७ भदौ । पछिल्लो समय देशभर महामारीको रुपमा फैलिएको डेंगुको संक्रमण रोक्नका लागि तुलसीपुरमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको छ । डेंगुको संक्रमणबाट कसरी बच्न सकिन्छ ? भन्नेबारे सचेतना फैलाउन विभिन्न विद्यालयका विद्यार्थीहरुसमेत सक्रिय भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका र राप्ती लाइफ केयर हस्पिटल प्रालि तुलसीपुरको संयुक्त आयोजनामा सञ्चालन गरिएको उक्त सचेतना अभियानका बोल्दै नगर प्रमुख घनश्याम पाण्डेले डेंगु रोगबाट बच्न सबैले उच्च सतर्कता अपनाउनुपर्ने बताए । नगरबासीहरुलाई कुनैपनि समस्या परेको खण्डमा स्वास्थ महाशाखामा सम्पर्क गर्न अुनरोध गरेका छन् ।
यस्तै डेंगुबाट बच्न नागरिकहरुलाई सचेत गराउनुका साथै डेंगुका लार्भा खोज्ने र नष्ट गर्न कार्यसमेत भईरहेको राप्ती लाईफ केयर प्रालिका कार्यकारी अध्यक्ष हरि रिजालले बताए । उनले डेंगुको जोखिम रहेको भन्दै सचेतना अभियान शुरु गर्न थालिएको बताए ।
उनका अनुसार झण्डै एक सयभन्दा बढी विद्यार्थी र शिक्षिकाहरु परिचालन गरी बजारका विभिन्न क्षेत्रमा पुगेर जनचेतना र परामर्श दिने काम भईरहेको छ ।
यस्तै विद्यार्थी र स्वास्थ महाशाखाको सहकार्यमा फोहोर ठाउँमा सरसफाईसमेत गरिएको छ । अभियानका क्रममा घर आँगन वरपर गमला तथा अन्य भाँडामा भएको सफा पानी पोख्नेदेखि लामखुट्टे लाग्ने स्थानहरुमा सरसफाई गरी सम्बन्धित घर
तथा पसलधनीहरुलाई सचेत बनाउने काम गरिएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा उपप्रमुख बसन्त आचार्यले जानकारी दिए । उद्घाटन कार्यक्रमको सहजीकरण प्रवक्ता जीवन भण्डारीले गरेका थिए ।
विद्यालय सचेतना अभियान
यसैबीच घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले डेंगु रोग नियन्त्रणका लागि विद्यालय सचेतना अभियान सुरु गरेको छ । वडा कार्यालयले यसैक्रममा बिहीबार बालविकास माविका शिक्षक तथा विद्यार्थीहरुलाई डेंगु रोग नियन्त्रणका बिषयमा जानकारी दिएको छ ।
लामखुट्टेको टोकाईबाट डेंगु सर्ने भएकाले सरसफाईमा विषेश ध्यान दिन वडा कार्यालयले आग्रह गरेको छ । वडा अध्यक्ष शक्तिराम डाँगीले लामुट्टेको टोकाईबाट बच्ने र घर आँगनमा पानी जम्ने खाडलहरु पुर्ने, भाँडाहरुमा पानी जम्ने गरी नराख्ने र शरीर ढाकिने गरी कपडा लगाउन आग्रह गरे ।
विद्यार्थीहरुमार्फत डेंगु रोगबाट बच्ने उपायहरु परिवार र समाजमा फैलाउन विद्यालय अभियान थालिएको समेत उनले बताए । कार्यक्रममा नयाँ बजार सहरी स्वास्थ्य केन्द्रका इञ्चार्ज रामहरी शर्माले डेंगुको संक्रमणले उच्च ज्वरो आउनु, टाउको र आँखाका नानी बेस्सरी दुख्नु तथा शरीरमा बिबिरा आउनेजस्ता लक्षण देखिने बताए । उक्त विद्यालयका करिब १ हजार ३ सय विद्यार्थी र ४० बढी शिक्षकहरुलाई डेंगु रोग नियन्त्रणका बिषयमा जानकारी दिएको हो ।