डेंगु नियन्त्रणमा चासो

फिचर विचार

दाङसहित देशभकार ४८ जिल्लामा डेंगुको संक्रमण फैलिएको छ भने डेंगुबाट देशभर अहिलसम्म करिब ४ हजार बढी नागरिक प्रभावित भएका छन् । पिउने पानी अभाव भएको क्षेत्रमा डेंगु संक्रमण बढी देखिएको छ ।
भाँडाकुडामा पानी संकलन गरे पनि छोप्ने गरेको पाइदैन । फोहरमैलाको उचित व्यवस्थापन हुन सकेको छैन । सडकका खाल्डाखुल्डी, पुराना टायर, गमला, कुलरमा जमेको पानीमा लामखुट्टेले फुल पार्छन् । ती लामखुट्टेको टोकाइबाट रोग फैलिने गरेको छ ।
एडिस् जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने यो रोग महामारीमा रुपमा फैलिन थालेपछि नियन्त्रणका लागि सरकारी अधिकारी चिन्तित बनेका छन् । सरकारले लामखुट्टेको फुल एवं लार्भा खोज र नष्ट गर्ने अभियान सञ्चालनमा दुई वर्षमा झण्डै ११ करोड खर्च गरेको छ । नतिजा भने अपेक्षाकृत सन्तोषजनक देखिएको छैन ।
लामखुट्टेको वासस्थान नष्ट गर्न स्थानीय, प्रादेशिक र संघीय सरकारले गरेको प्रयास प्रभावहीन देखिएको छ । दिनप्रतिदिन महामारीका रुपमा फैलिन थालेको डेंगुको नियन्त्रका लागि सरकारले प्रयास चालेपनि सरकारी प्रयास प्रभावकारी बन्न बन्न नसक्दा नागरिक पनि त्रासमा छन् ।
दाङमा पनि अहिलेसम्म करिब १० जनामा डेंगुको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । घोराही, तुलसीपुर, बबईलगायतका स्थानीय तहमा डेंगुबाट संक्रमित बिरामीमध्ये कहिले जिल्लाका निजी मेडिकलमा उपचार गरी फर्किएका छन् भने केही भारतसम्म पुगेका छन् । दाङमा अन्य जिल्लाको तुलनामा दाङमा कमि रहेपनि सचेत रहनुपर्ने अवस्था भने छ ।
डेंगु नियन्त्रणका लागि सरकारमात्रै भन्दा पनि नागरिक पनि सचेत रहनुपर्छ । हरेक नागरिकले आफ्नो घरवर पर ठाउँ सफामात्रै राख्न सक्ने हो भने डेंगु नियन्त्रणमा ठूलो सहयोग पुग्ने देखिन्छ । देशभरमा फैलिन थालेको डेंगु कस्तो रोग हो ? के अब नियन्त्रणमा ल्याउन के गर्नुपर्छ ? आदि विषयलाई आजको राउण्ड टेबलको यो अंकमा छलफल र बहसको विषय बनाएका छौं ।


जोखिम क्षेत्रको पहिचान

कमल चन्द
फोकल पर्सन
जिल्ला स्वास्थ्य कार्यालय, दाङ

दाङमा अहिलेसम्म करिब दशजनामा डेंगुको संक्रमण देखिएको छ तर संक्रमित व्यक्तिमध्ये अधिकांश उपचार गरेर निको भइसकेका छन् । केही व्यक्तिहरु मात्रै उपचारका लागि भारतसम्म पुगेको खबर पाएका छौँ ।
जिल्लामा डेंगुको संक्रमण देखिएपछि हामीले उच्च सतर्कताका साथ डेंगु नियन्त्रणका लागि प्रयास थालेका छौँ । अहिलेका नयाँ संरचना अनुसार दाङका दशवटै स्थानीय तहमा स्वास्थ्य शाखामार्फत डेंगु नियन्त्रणका लागि अभ्यासहरु थालिएका छन् ।
जिल्लामा अहिलेसम्म घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहागरपालिका, बबई गाउँपालिका लगायतका स्थानीय तहमा बढी जोखिम देखिएको छ । अहिले डेंगुका बिरामी देखिएका पनि यी स्थानीय तहमा नै हो ।
जोखिमका हिसाब यि तीन स्थानीय तह बढी जोखिम देखिए पनि दाङका सबै क्षेत्र अलि बढी जोखिम देखिन्छन् । डेंगुको महामारी फैलिन सक्ने क्षेत्र भनेको ग्रामीणभन्दा सहरी ईलाका अझ बढी जोखिम देखिन्छ ।
फेरी यो भन्दैमा गाउँमा सचेत हुनुपर्ने अवस्था नभएको होइन् गाउँ पनि जोखिम नै मानिन्छ । डेंगु सार्ने लामखुट्टे अरु लामखुट्टेभन्दा फरक नै हुन्छ ।
एडिस नामक पोथी लामखुट्टे भनेको अहिले बढी सफा क्षेत्रमा बस्ने गरेको पाइन्छ । त्यसकारण पनि अरु लामखुट्टेको तुलनामा यो जातको लामखुट्टे सहरी क्षेत्रमा बढी पाइने हुँदा जोखिमका हिसाबले सहरी क्षेत्र अलि बढी छ ।
२०/३० डिग्री मौसममा बस्ने यो लामखुट्टेको नियन्त्रणका लागि अहिले गाउँ, टोलको सरसफाई नै प्रभावकारी देखिन्छ । जिल्लामा पछिल्लो समय बिरामीको संख्या थपिन थालेपछि महामारीका रुपमा फैलिने होकी भन्ने चिन्ता पनि छ तर त्यसो हुन नदिनका लागि हामीले विभिन्न पक्षका सरोकारवालासँग सर्कुलर गरिरहेका छौँ ।
सबैभन्दा हामी स्वयम् नागरिक पनि यो रोगबाट ग्रसित हुनबाट बच्नका लागि समयमै सचेत बन्नुपर्ने अवस्था छ भने सरकारी तवरबाट पनि हामी जिम्मेवार निकायका नागरिकले पनि सचेतना फैलाउनु आवश्यक छ । डेंगु लागिसक्यो भने निको नहुने भन्ने हुँदैन् तर समयमै उपचार चाहिँ पक्कै गर्नुपर्छ ।


बिरामीको उपचारमा कमि हुँदैन्

भूवनेश्वर पौडेल
अध्यक्ष
बबई गाउँपालिका

बबई गाँउपालिकामा अहिलेसम्म डेंगुका बिरामी दुईजना भेटिएका छन् । डेंगुबाट संक्रमित ति दुईजना बिरामी अहिले भारतमा उपचारका लागि जानुभएको छ भन्ने खबर पाएका छौँ । वास्तवमा हामीहरुले उहाँहरु भारत गइसकेपछि मात्रै हामीले खबर पाएका हौँ ।
उहाँहरुको उपचारमा कमि हुन नदिने गाउँपालिकाले विभिन्न प्रयासहरु पनि गरेको छ । अहिले गाउँपालिकामा कुनै पनि नागरिक डेंगुबाट संक्रमित भएमा उपचारमा कुनै किसिमको कमि नराख्नुहोला भनेर स्वास्थ्य शाखामार्फत हामी त्यो किसिमको सर्कुलेसन गरेका छौँ ।
डेंगुबाट बच्न सबैभन्दा बढी प्रभावकारीता त नागरिक सचेतना नै हामीले देखेका छौँ । त्यसैले पनि हामी हाम्रो गाउँपालिकाका सबै नागरिकलाई डेंगु रोगबारे सचेतना दिने कामहरु गरिरहेका छौँ ।
उहाँहरुलाई आफ्नो घर, गाउँ, टोलको सरसफाईमा जुट्न विभिन्न माध्यमबाट प्रत्यक्ष वा अप्रत्यक्ष किसिमले हामीले सूचना प्रवाह गर्ने गरेका छौँ । अहिले दुईजनामा देखिएको डेंगुपछि यसले महामारीको रुप लिनसक्ने भएकाले यसबारे सचेत रहन नागरिकसँगै स्वास्थ्यकर्मीलाई पनि आग्रह गरेको छौँ ।
यसलाई पूर्णतया रोक्ने भन्ने नै हुँदैन् तर यदि स्वास्थ्यकर्मीले यस रोगको बारेमा समयमै पत्ता (पहिचान) लगाउन सक्नुभयो भने बिरामीको ज्यान बचाउन सकिन्छ भन्ने उद्देश्यका साथ काम गरिरहेको अवस्था छ । अहिले महामारीका रुपमा फैलिएको भन्न मिल्दैन् ।
तर यसले महामारी लिन चाहिँ सक्छ भनेर पूर्वसर्तकताका साथ काम गरेका छौँ । अहिले गाउँपालिकामा रहेका सातवटा वडाका सम्बन्धित वडा अध्यक्ष ज्यूहरुलाई पनि भनेको छु कि तपाईहरु आ–आफ्नो वडामा सर्तक रहनुस्, वडाबासीहरुलाई सचेतना दिनुस् र मात्रै रोग नियन्त्रण गर्न सकिन्छ ।
डेंगुको संक्रमणबारे अपडेट हुनुस् यसबाट कुनै पनि नागरिकको ज्यान जाने अवस्था नआवस् भनेर हामी सचेत छौँ । गाउँपालिकामा अहिले जोखिमै क्षेत्र भनेर त्यसरी पहिचान गरेका छैनौँ तर पनि हुन सक्ने खतराबाट बच्नका लागि सचेत भने अवश्य छौँ ।
डेंगु रोगको उपचारका लागि लाग्ने कुनै पनि औषधि छिटोछरितो रुपमा प्राप्त गरि बिरामीलाई बचाउने हाम्रो काम हो । त्यसै अनुसार नै स्वास्थ्यकर्मीलगायत सरोकारवाला सबै लाग्नुभएको छ ।


नागरिक सचेतनामा जोड

नारायणप्रसाद घर्ती
स्वास्थ्य महाशाखा प्रमुख
घोराही उपहानगरपालिका

घोराही उपमहानगरपालिकाको वडा नम्बर १६, १७, १८ र १९ नम्बर वडामा डेंगुका बिरामीहरु भेटिएका छन् । संक्रमित बिरामीहरुको उपचार पनि भइसकेको छ भने केही उपचार गराउने क्रममा रहेपनि खतरामुक्त रहेको हामीले पाएका छौँ । घोराही उपमहानगरपालिकामा बिरामी देखिएपछि अहिले हामीले यसको न्यूनीकरणका लागि विभिन्न प्रयासको थालनी गरिसकेका छौँ ।
डेंगुबाट बच्न सर्वप्रथम त प्रमुख विषय त सरसफाई नै हो भने पानी जमेका खाल्डाखुल्डी पुर्ने काम गर्नु बढी प्रभावकारी हुन्छ । यसकै प्रयासस्वरुप हामीले सोमबार हामीले विभिन्न सरोकारवालासँग छलफल गरी आ–आफ्नो टोलमा डेंगु नियन्त्रका लागि के कस्ता प्रयास गर्न सकिन्छ र जोखिम न्यूनीकरण कसरी गर्न सकिन्छ भन्नेमा छलफल गरेका छौँ भने हामीले डेंगु महामारी रोक्ने अभियान समितिसमेत बनाएका छौँ ।
घोराही उपमहानगरपालिकामा १९ वटै वडाका वडा अध्यक्ष, स्वास्थ चौकी प्रमुख, स्वाथ्यकर्मी, पत्रकार, नेपाल प्रहरी, नेपाली सेनालगायतको छलफलमा सबैले आ–आफ्नो क्षेत्रमा डेंगु नियन्त्रणका लागि प्रयास गर्ने,
गाउँ टोलका संघसंस्थासँगै व्यक्तिलाई पनि डेंगुबाट बच्ने उपाय, रोग लागेको लक्षण थाहा पाउने अर्थात् टोलको सरसफाईमा जुट्ने विषयमा बृहत छलफलसमेत भएको छ र हामीले त्यसैअनुसारको योजना कार्यान्वयन गरी डेंगु नियन्त्रणका लागि प्रयासहरु थालेका छौँ । सोमबारको छलफलपछि सबैले टोल विकास संस्थासँग सहकार्य गरेर गाउँ, टोलको सरसफाई गर्ने प्रतिवद्धता पनि गराएका छाँै ।
हामी पनि निरन्तर लागेका छौँ । फैलिन सक्ने महामारीलाई मध्यनजर गर्दै उपमहानगरले नागरिक सचेतना पनि दिने प्रयास गरेको छ । हामीले डेंगु रोगबाट बच्न सकिने उपाय, रोगका लक्षणलगायतका विषयमा हामीले विभिन्न सञ्चार माध्यमबाट प्रचारप्रसार गरेका छौँ ।
महामारी नियन्त्रणलाई प्रभावकारी बनाउन, गाउँ, टोल विकास संस्था, विद्यालय, आमा समूह लगायतलाई सचेतना दिने काम पनि गरिरहेका छौँ ।
विद्यालयस्तरमा शिक्षक, विद्यार्थीलाई डेंगुको बारेमा बताउने गरेका छौँ जसले गर्दा पनि रोगको संक्रमण फैलिन पनि नसक्ने र रोग लागि हालेमा पनि बिरामीले समयमै उपचार पाउने अवस्थाको सिर्जना गरेका छौँ ।
आतिहाल्नु पर्दैन् तर सचेत भने हामी हुनैपर्छ । किनभने रोग भनेको सानो ठूलो हुँदैन सानैबाट ठूलो महामारी फैलिन सक्ने हुन्छ । त्यसैले बेलैमा सचेत हुनुपर्ने आवश्यक छ ।


सरसफाई सचेतना

डा. गोकर्ण दाहाल
प्रमुख
स्वास्थ्य महाशाखा
तुलसीपुर उपमहानगरपालिका

तुलसीपुर उपमहानगरपालिकामा पनि पछिल्लोे समय डेंगुका बिरामीहरु फेला परेका छन् तर समयमै उपचार पाएका कारण उहाँहरु निको भइसक्नुभएको छ । डेंगुका कारण मानवीय क्षति नभए पनि हामी यसबारे सचेत छौँ ।
हामीले यसअघि पनि लामखुट्टेकै कारण फैलिने औंलो रोग नियन्त्रणका लागि लामखु्ट्टेको वासस्थान हटाउन विभिन्न सरसफाईमूलक कामहरु गरेका छौँ ।
तुलसीपुर उपमहानगरपालिको बजार क्षेत्रमा सरसरसफाई अभियान नै सञ्चालन भइरहेको अवस्थामा अहिले हामीले त्यहि क्लिन तुलसीपुर ग्रीन तुलसीपुर अभियानमा समेत हामीले फैलिन थालेको डेंगुको बारेमा सचेतनासँगै सम्भावित क्षेत्रहरुमा हामीले सरसफाईलाई विषेश जोड दिएका छौँ ।
उपमहानगरमा तीनजना डेंगुका बिरामी फेला परिसकेपछि हामीले पनि उपमहानगरपालिकामा विषेश सर्तकताका साथ डेंगुको महामारी रोक्ने प्रयासमा छौँ । यस अभियानमा स्वास्थ्यसँग सरोकार राख्ने व्यक्तिमात्र नभई सबै नागरिक चनाखो बन्न आवश्यक छ ।
उपमहानगरपालिकाभित्र देखिएको डेंगु फैलन नदिन आम नागरिकले साथ दिनुपर्छ । विभिन्न समयमा आइपर्ने यस्ता महामारीजन्य रोगबाट बच्न हामी सचेत हुनुपर्छ ।
अहिले प्रत्येक वडामा वडा अध्यक्षको संयोजनमा महिला स्वास्थ्य स्वयम्सेविका, टोल विकास संस्था तथा स्थानीय नागरिकको सहभागितामा उपमहानगरपालिकाको टोलीसमेत सम्मिलित भई अभियान सञ्चालन गरिएको हो ।
जनचेतना जगाउँदै डेंगुको लार्भा उत्पादन हुने पानी जमेका स्थान पुर्ने र पानी जमेका वस्तु हटाउने कार्य गरिएको छ । डेंगुविरुद्ध खोप तथा खास कुनै उपचारसमेत नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने मुख्य उपाय हो । यो रोग लाग्दा देखिने लक्षणहरुबारे आम सर्वसाधारण सचेत बन्दै रोगबाट बच्न आवश्यक सावधानी अपनाउनु उचित हुनेछ ।
डेंगुको शंका लागेमा तुरुन्त स्वस्थ्य संस्थामा सम्पर्क गर्ने र डेंगु संक्रमणको सम्भावना रहेका क्षेत्रमा आवश्यक सचेतनासहित लामखुट्टे नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन गर्नु आवश्यक छ ।
डेंगु संक्रमण गर्ने लामखुट्टेले जमेको पानीमा फुल पारी लार्भा उत्पादन गर्दछन् । त्यसैले वर्षायाममा आकाशबाट परेको पानी खाल्डाखुल्डी, बाहिर राखिएका भाँडाकुँडा, पुराना ट्याङ्की, टायरलगायतमा पानी जम्ने भएकाले खाल्डाखुल्डी पुर्ने र पानी जम्ने सामान हटाउने गर्नुपर्छ ।
सरकारी निकाय, स्थानीय तहका साथै आम सर्वसाधारणले आफ्ना घर, टोलमा लामखुट्टे बस्न मिल्ने गरी पानी जम्न नदिने हो भने डेंगु संक्रमण कम गर्न सकिन्छ ।


डेंगुको लक्षण र बच्ने उपाय

डा. नारायण ज्ञवाली

डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाईबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइने गर्दछ । य
सले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खासगरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्याङ्की आदिमा यसले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिएको बताए ।
डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखुट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ ।
यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोम गरी तीन प्रकारका छन् ।
क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो । यो आफै निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ । तर यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्छ ।
स्वास्थ्य संस्थामा यसको लक्षण अनुसार उपचार गरिन्छ । ज्वरो घटाउन सिटामोल खानुपर्छ तथा प्रशस्त झोल पदार्थ खानुपर्छ । तर ज्वरो घटाउने भनेर एस्पीरीन तथा आईबुप्रोफेन भने खान हुँदैन ।
डेंगु ज्वरोविरुद्धको खोप तथा खास उपचारसमेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो । डेंगु ज्वरोको शंका लागेमा हुनसक्ने जटिलताबाट बचाउन तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ । डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो ।
यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुने आदि लक्षणहरू पनि देखापर्न सक्छ ।
डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ । पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न नदिने र पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने, कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने,
फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने, यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ ।
साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्दछ । लमखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ । घरका झ्याल, ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ । घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *