तुलसीपुर, २२ भदौ । दाङसहित देशभर डेंगुको संक्रमण फैलिन थालेपछि नागरिकहरु घर, गाउँ, टोलको सरसफाईमा जुटेका छन् । डेंगुको संक्रमणबाट बच्न लामखुट्टेको टोकाई बच्नुपर्ने भन्दै नागरिकहरु सरसफाईमा जुटेका हुन् ।
फोहरका कारण लामखुट्टे फैलिने र डेंगुको संक्रमण बढ्न सक्ने जोखिम न्यूनीकरणका लागि तुलसीपुर –१६ जहदागाँउका स्थानीय गाउँको सरसफाईमा जुटेका हुन् ।
जहदा टोल विकास संस्थाको आयोजनामा गाउँमा फैलिएको फोहर सफा गरिएको छ भने पानी जम्ने खाल्डाखुल्डी पुरिएको छ । डेंगुबाट बच्न गाउँको सरसफाईसँगै टोलका सबैलाई सचेतनासमेत दिएको जहदागाउँ टोल विकास संस्थाका अध्यक्ष टेसीराज पोखरेलले जानकारी दिए ।
‘गाउँका सबै स्थानीय टोलको सरसफाईमा जुटेका छौँ, डेंगुको महामारीबाट बच्न मात्र नभई गाउँको प्रतिष्ठासँग पनि सरसफाई जोडिएको छ’ उनले भने ‘त्यतिमात्र नभई टोलका सबैलाई फोहरका कारण फैलिन सक्ने डेंगुको बारेमा जानकारीसमेत गराएका छौँ ।’
जहदागाउँ टोल विकास संस्थामा ८७ घरधुरी रहेका छन् भने करिब २ सय जनसंख्या रहेको अध्यक्ष पोखरेलले जानकारी दिए । यसबीच जहदागाउँ टोल विकास संस्थाले टोलको सडकमा बत्ती जडान पनि गर्ने निर्णय गरेको अध्यक्ष पोखेरेलले बताए ।
