ज्ञानमहायज्ञमा उत्साहजनक सहभागिता

समाज

तुलसीपुर, १३ भदौ । भद्रकाली मन्दिर तथा धर्मशाला निर्माणका लागि जारी ज्ञानमहायज्ञमा बिहीबार पनि दानदाताहरुको उत्साहजनक उपस्थिति देखिएको छ ।
तुलसीपुर उमहानगरपालिका–९ थर्कुडाँडामा जारी श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञमा दैनिकजसो दानदाताको संख्या बढ्दै गएको हो । महायज्ञमा बिहीबार पनि दानदाताको संख्या उल्लेख्य रहेको महायज्ञ मुल आयोजक समितिका संयोजक विनोद अधिकारीले जानकारी दिए ।
ज्ञानमहायज्ञमा अहिलेसम्म सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिका–९ का धनबहादुर वलीले २ लाख ५ रुपैयाँ दान गरेका छन् । त्यस्तै तुलसीपुर उपमहानगरपालिका–९ कै पिमलाल डाँगीले १ लाख ७५ हजार ११ रुपैँया, मन्दिर व्यवस्थापन समितिका
अध्यक्ष तथा महायज्ञ मूल आयोजक समितिका संयोजक विनोद अधिकारीले १ लाख ११ हजार १ सय ११ दान गरेको महायज्ञ मूल आयोजक समितिका आर्थिक संयोजक विनोद कुमार भण्डारीले जानकारी दिए ।
महायज्ञमा छैठाँै दिनसम्म १३ लाख बढी दान संकलन भएको छ । भद्रकाली मन्दिर र धर्मशाला निर्माणार्थ यही भदौ ७ देखि जारी ज्ञानमहायज्ञ १५ गतेसम्म सञ्चालन हुने महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।
हिन्दू धर्मको संरक्षण, सम्वद्र्धन गरी धार्मिक, साँस्कृतिक तीर्थस्थलको रुपमा विकास गर्नका लागि मन्दिर तथा धर्मशाला निर्माणको सहयोगार्थ महायज्ञ सञ्चालन गरिएको संयोजक अधिकारीले जानकारी दिए ।
‘मन्दिर निर्माण गर्नका लागि आवश्यक बजेट छैन्, धर्मशाला पनि निर्माण गर्नुपर्ने छ’ उनले भने ‘महायज्ञबाट संकलित रकमले मन्दिर र धर्मशाला निर्माणमा सहयोग पुग्नेछ ।’
महायज्ञको कथा वाचकमा पण्डितद्वय रामचन्द्र तिमल्सिना र १०८ भागवतका अभियान्ता हरिचन्द्र तिमल्सिना रहेका छन् । महायज्ञमा एक लाखभन्दा बढी दान दिने दातालाई सम्मानपत्रसहित बजार परिक्रमा गराइने गरिएको छ ।
त्यसैगरी ७० हजारदेखि १ लाखसम्म दिने दातालाई घरबाट महायज्ञ स्थलमा परिक्रमा गराइने गरिएको छ । त्यसैगरी ५० हजारदेखि ७० हजारसम्म दान गर्ने दातालाई पञ्चेबाजासहित महायज्ञ स्थलमा परिक्रमा गराईने गरेको मूल आयोजक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *