ज्ञानज्योति २४औँ वर्षमा

समाज

तुलसीपुर, २ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ बम्नैमा रहेको पब्लिक ज्ञानज्योति मावि २४औँ वर्षमा प्रवेश गरेको छ । विद्यालयले वार्षिकोत्सवको अवसर पारेर विभिन्न कार्यक्रमको आयोजना समेत गरेको छ । तुलसीपुर उपमहानगरका शिक्षा संयोजक देवराज विकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उनले बालबालिकालाई सिकाइप्रति अभिरुचि जगाउने गरी अध्यापन गराउनुपर्ने कुरामा जोड दिए । विद्यालय बालिबालिकाको आधारभूमी भएकाले उनीहरुको मनोविज्ञानलाई सम्बोधन गर्नुपर्ने कुरामा उनले जोड दिएका थिए । प्रमुख अतिथि विकले विद्यालयले पश्चिम क्षेत्रको नमुनाका रुपमा शैक्षिक कार्यक्रमहरु सञ्चालन गरेकोमा धन्यवाद समेत दिएका थिए । ‘बालबालिकाहरुलाई अध्यापन मात्रै भन्दा पनि अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनुपर्दछ’ विकले भने । उनले बालमैत्री वातावरण निर्माणका लागि हरेक विद्यालयले ध्यान दिनुपर्ने बताए ।
विद्यालयका संस्थापक प्रधानाध्यापक टिकाबहादुर जिसीले विद्यालयले सामाजिक उत्तरदायित्व वहन गरेर आफूले काम गरिरहेको बताउँदै शिक्षा क्षेत्रलाई समृद्ध बनाउनका लागि सधै लागिरहने प्रतिवद्धता व्यक्त गरेका थिए । ‘सानो कक्षाबाट सुरु भएको विद्यालय अहिले फाउन्डेसनका रुपमा रुपान्तरण भएको छ’ उनले बताए । विद्यालयका प्राचार्य सुरेन्द्र जिसीले विद्यालयले अब प्राविधिक शिक्षामा जोड दिने बताउँदै यसै बर्षबाट विसिएको कक्षा आरम्भ गरेको समेत जानकारी दिए । कार्यक्रममा कार्यपालिका सदस्य दिपक कुमाल, तुलसीपुर उपमहानगरपालिकाका प्रेस संयोजक बसन्त विवश आचार्य, अभिभावक दुर्गा भुसाललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा उत्कृष्ट काम गर्ने विभिन्न शिक्षकहरुका साथै वार्षिकोत्सव समारोहमा आयोजित विभिन्न प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । संस्थापक टिकाबहादुर जिसीको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण शिक्षक भिमप्रसाद सुवेदीले गरेका थिए । विस २०५१ सालमा स्थापना भएको विद्यालय अहिले फाउन्डेसनका रुपमा रुपान्तरित भएको छ । अहिले फाउन्डेसनले ९ वटा विद्यालयहरु सञ्चालन गरिरहेको शिक्षा निर्देशक वीरेन्द्र जिसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *