जेसीज हाफ म्याराथुन हुने

खेलकुद मुख्य खबर

घोराही, १३ मंसिर । दाङमा जेसीज हाफ म्याराथुन हुने भएको छ । त्रिभुवन नगर जेसीजले युवाहरुको व्यक्तित्व विकास गर्नको लागि र खेलकुद क्षेत्रमा कुशल नेतृत्व गर्नको लागि म्याराथुनको आयोजना गर्न लागेको जनाएको छ । जेसीजले पत्रकार सम्मेलन गरेर मंसिर १५ गते शनिबार बिहान ८ बजेदेखि हाफ म्याराथुन सञ्चालन हुने जनाएको छ । म्याराथुन खुल्लातर्फ २१ किलोमीटर रहेको छ भने बालबालिका १४ वर्षसम्मका लागि ५ किलोमीटरको क्षेत्रफल तोकिएको त्रिभुवननगर जेसीजको अध्यक्ष लालमणि भण्डारीले बताए । म्याराथुनमा सहभागी भएर प्रथम हुने महिला र पुरुषलाई २५ हजार द्वितीय हुनेलाई १० हजार तृतीय हुनेलाई ५ हजार रुपैयाँ पुरस्कार रहेको भण्डारीले जानकारी दिए  ।
त्यस्तै बालबालिकातर्फ प्रथम हुनेलाई पाँच हजार, द्वितीय हुनेलाई २ हजार, तृतीय हुनेलाई एक हजार रुपैयाँ पुरस्कार रहेको छ । जिल्ला बाहिरबाट दौडमा सहभागी हुने धावकका लागि शुक्रबार एकदिन रातिको खान बस्नको व्यवस्था, सम्पूर्ण सहभागीहरुका लागि डाक्टरसहितको प्राथमिक उपचारको व्यवस्था एवं पर्याप्त मात्रामा स्वयम्सेवकको व्यवस्था गरिएको कार्यक्रम संयोजक टंक रावतले जानकारी दिए ।
रावतका अनुसार जेसीज हाफ म्याराथनमा भाग लिनको लागि इच्छुक प्रतियोगीहरुले प्रतियोगिता फाराम अनिवार्य भर्नुपर्ने छ । त्रिभुवननगर जेसीज सचिवालय–पारिजात टोल–गुलरीया पानी ट्यांकी हुँदै जमुना चोक–गुलरीया मार्ग–गुलरिया चोक–नापी शाखा हुँदै तुलसीपर चोक–शहिद गेट–जेसीज सचिवालय (५किमीको अन्त्य)–(२१ किमीवाला) अदालत हँुदै भिङ्ग्रेली चोक–पनौरा हँुदै गुरुवागाउँ–गुरुगैं
(धारापानी) पुगेर पुनः गैरागाउँ चोक पानी ट्यांकी हुँदै मदन भण्डारी–गुलरिया चोक, तुलसीपुर चोक–शहिद गेट हुँदै पुनः सचिवालय रहेको त्रिभुवननगर जेसीजले जनाएको छ । कार्यक्रम संयोजक टंक रावतको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *