जिल्ला सहकारीको अध्यक्षमा खत्री

मुख्य खबर

घोराही, ३ मंसिर । आर्थिक समृद्धिका लागि सहकारीले श्रम, सीप र पुँजीलाई सही परिचालन गर्न सक्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेड दाङको १२औँ साधारण सभाको अवसरमा घोराहीमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । आर्थिक समृद्धिको आधार सहकारी भएको भन्दै उनीहरुले स्थानीय उत्पादनलाई वृद्धि गराउन सहकारीले भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । संस्थाका अध्यक्ष अन्जनकुमार पौडेलको अध्यक्षता एवं नेफ्सनका लेखा संयोजक दामोदर अधिकारीको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्घाटन गरिएको हो ।
साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि अधिकारीले समान प्रकृतिका सहकारी एकतावद्ध भएर जानुपर्ने बताए । साधारणसभामा संस्थाका कोषाध्यक्ष विमल अधिकारीले १३ लाख ५७ हजार ६ सय ८३ रुपैयाँको आय तथा ११ लाख ४६ हजार ४ सय बराबरको व्यय प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष हुमा डिसीको स्वागत मन्तव्यबाट शुरु भएको साधारणसभा उद्घाटन कार्यक्रमको सहजीकरण सचिव रुपबहादुर खत्रीले गरेका थिए । त्यस्तै अधिवेशनले रुपबहादुर खत्रीको अध्यक्षतामा ९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा हुमा डिसी, सचिवमा विमल अधिकारी, कोषाध्यक्षमा शिवध्वज मल्ल चयन भएका छन् । सदस्यहरुमा भागवत शर्मा, कुमारराज श्रेष्ठ, दुर्गाप्रसाद भण्डारी, रामकृष्ण श्रेष्ठ र ध्रुबराज पौडेल चयन भएका छन् । अधिवेशसनबाट चेतमणि रिजालको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *