जिपी फाउन्डेसनको तीज मिलन

मुख्य खबर समाज

घोराही, १५ भदौ । सामाजिक एकता र सद्भावको रुपमा तीज पर्वलाई मनाउनुपर्नेमा जोड दिएका छन् । गिरिजाप्रसाद कोइराला फाउन्डेसन जिल्ला समिति दाङ, घोराही उपमहनगर समितिको आयोजनामा भएको तीज मिलन कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
जिपी फाउन्डेसन जिल्ला कार्यसमिति दाङका संयोजक खगराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका जिल्ला उपसभापति कमान सिंह भारतीले तीज सामाजिक एकता र महिलाहरुको स्वतन्त्रतापूर्वक परापूर्व कालदेखि महिला अधिकारलाई संस्थागत गर्न भूमिका खेल्दै आएको बताएका थिए ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि संविधान सभा सदस्य राजु खनालले तीजको मौलिकता जोगाउदै सबै महिलाको खुशीको पर्वको मनाउनुपर्ने बताए ।
खनालले नेपालको संविधानमा महिलाका थुप्रै हक अधिकारका सुनिश्चित गरिएको बताउँदै प्राप्त अधिकारलाई प्रयोग गर्ने बेला आएको बताए । अब महिलाहरुले आफ्नो अधिकारलाई समाज परिवर्तन देश परिवर्तनमा भूमिका खेल्ने बेला आएको बताए ।
नेपाल महिला संघ दाङकी संस्थापक अधयक्ष विमला योगीले आध्यात्मिक चाडपर्वले समाजलाई अनुशासित बनाउने बताईन् । राष्ट्रिय विकासको मुल प्रवाहमा महिलाको नेतृत्व नपुगेसम्म सभ्य, समृद्ध राष्ट्र हुन नसक्ने बताईन् ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष सावित्रा राना, नेपाल महिला संघका जिल्ला अध्यक्ष गोमा रावत, प्रजातान्त्रिक विचार समाजका जिल्ला अध्यक्ष गोविन्द न्यौपाने,
गणेशमान चिन्तन केन्द्रका जिल्ला अध्यक्ष तुल्सीराम राना, विपी विचार राष्ट्रिय समाजका जिल्ला अधयक्ष रमेश पाण्डे, नेपाली काँग्रेस क्षेत्र नं. ३ का क्षेत्रीय सभापती भूपबहादुर डाँगीलगायतले तीज पर्व नारी जागरण र समाज रुपान्तरणको पर्वको रुपमा विस्तार हुँदै आएको बताएका थिए ।
त्यस अवसरमा पत्रकार वसुनधरा गौतमले अति अनुपम धरोहर विषयक आधारपत्र प्रस्तुत गरेकी थिईन् । गौतमले प्रस्तुत गरेको आधारपत्रमा नेपाली काँग्रेस र नेपाल महिला संघको नेतृत्वमा महिला अधिकार र महिलाको मुद्दामा गरेका कार्यक्रमहरुसमेत बुँदागत रुपमा प्रस्तुत गरिएको थियो ।
कार्यक्रम संयोजक सुशीला थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण फाउन्डेसनका सचिव कृष्ण प्रसाद गौतमले गरेका थिए ।
त्यसैगरी गुरुकुल एकेडेमीले तीज मिलन कार्यक्रम गरेको छ । विद्यालयका संस्थापक अध्यक्ष अनन्तराज घिमिरेको अध्यक्षता एवं पूर्व सामानय प्रशासन मन्त्री तथा वर्तमान सांसद प्रतिनिधि रेखा शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा महिला मानव अधिकार सञ्जाल दाङकी अध्यक्ष लक्ष्मी आचार्यलगायतले बोलेका थिए । विद्यालयकी संयोजक गोमा भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण आशा वलीले गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *