जलजला पर्यटनको गन्तब्य

विचार

रोल्पामा भ्रमणको लागि जाने ग्रामीण पर्यटकहरुले प्राकृतिक सौन्दर्यता अवलोकन गर्न मात्र नभएर रोल्पाको जनजीवन, भाषा, संस्कृति र जनयुद्वको समयमा घटना घटेका गाउँहरुको बारेमा पनि अध्ययन गर्न रुचि राख्दछन् ।
पछिल्लो समय रोल्पामा गुरिल्ला पदमार्गबाट पनि धेरै ग्रामीण पर्यटकहरु रोल्पाका गाउँघरमा भ्रमण गर्ने गरेका छन । रोल्पामा भ्रमणमा पुग्ने मानिसको पहिलो रोजाइ नै थवाङ गाउँ र जलजला पहाड पुग्ने इच्छा राखेको पाइन्छ । रोल्पा स्थानीय भाषामा राखिएको नाम हो ।
रोल्पालाई खाम भाषामा उताको बस्ती भनिन्छ । खामभाषीहरुको बाहुल्यता भएको कारण रोल्पाका गाउँ, र अधिकांश स्थानको नामको पछाडी वाङ शब्द जोडिएको छ । खाम भाषामा वाङको अर्थ हुन्छ चौर ।
थवाङ पनि मगरखाम भाषामा राखिएको नाम हो । थवाङको अर्थ माथि उठेको अथवा पहाडको काखको चौर भन्ने हुन्छ । रोल्पा जिल्ला अठार मगरातको बसोबास क्षेत्र मानिन्छ ।
मगर खाम भाषाबाट जलजलालाई गोङ भनिन्छ । सदरमुकाम लिवाङ पनि खाम भाषामा नै रहेको छ । लि भनेको वास र वाङ भनेको चौर हुने हुँदा यसको अर्थ हुन्छ–वासको चौर ।
थवाङ ऐतिहासिक खाम जातिको बसोवास भएको गाउँ हो । थवाङ अहिले गाउँपालिका भएको छ । थवाङ पूरै यतिखेर १ र २ वडामा विभाजन भएको छ । परम्परागत शैलीका घर ढुङ्गाका छाना एउटै गाउँमा तीन सय ३४ घर पहिलो पटक थवाङ पुग्ने पर्यटक गाउँ देख्दै छक्क पर्दछ ।
जुन गाउँ २०१२ सालदेखि कम्युनिष्ट किल्लाको रुपमा चर्चित छ । थवाङ गाउँ नजिकै फुन्टिवाङ गाउँ छ । यो गाउँ पनि युद्धको बेलामा चर्चामा आएको गाउँ हो । थवाङ गाउँ जान आजभोलि धेरै बाटोहरु छन् ।
तर पनि घोराहीबाट गाडी चढेपछि होलेरी हुँदै दहवन पुगिन्छ । जहाँ माओवादी शान्ति प्रक्रियामा आएपछि जनमुक्ति सेनाको पाँचौ डिभिजन बसेको थियो । दह वनबाट भागोवारी हुँदै नुवागाउँ पुगिन्छ ।
नुवागाउँमा पहिलोपटक शाही सेना र माओवादी जम्काभेट भएको स्थल हो । जुनस्थलबाट माओवादीले युद्धकालमा सहिदमार्ग निर्माण शुरु गरेका थिए । नुवागाउँबाट उकालो लागेपछि टिला बजार पुगिन्छ ।
माओवादी सेनाको एउटा बिग्रेड टिलामा पनि बसेको थियो । अहिले त्यहाँ सशस्त्र प्रहरी बसिरहेको छ । टिलाबाट दारबोट, कोर्चावाङ, घर्तीगाउँ ओवाङ दुईखोली, कुरेलीको खरिबोट, मिरुलको टुटूबजार, र छेर्वाङ हुँदै १३४ किलो मिटरको यात्रामा थवाङ पुगिन्छ ।
थवाङ गाउँको सामूहिक निर्णय प्रणाली परिचय हो । सामूहिक निर्णय गर्ने परिपाटीकै कारण थवाङ सधैंभरी विद्रोही देखिएको हो । आदिवासी जनजाति समाजमा व्यक्तिलाई भन्दा समाजलाई ठूलो मानिन्छ ।
समाजको नाइकेलाई आदरका साथ सत्कार गर्ने र उसैको पछि लाग्ने चलन छ । थवाङका धेरैजसो मानिसहरु राजनीतिक अगुवाले जे निर्णय गर्छन् त्यसको अहिले पनि हुबहु कार्यान्वयन गर्छन् ।
१० वर्षे सशस्त्र विद्रोहमा थवाङबाट मात्रै २८ जना मारिएका थिए । मारिनेमा पाँच महिला पनि थिए । ३१ जना अपाङ्ग भए भने १४ महिला एकल हुन पुगे । एकजना अझैँ बेपत्ता छन् । थवाङ क्षेत्रमा बढी मानवीय क्षति जेलवाङमा भयो ।
जेलवाङका मात्रै ७३ जनाले ज्यान गुमाए । राज्यका पक्षबाट जेलवाङका ६३ जनाको ज्यान गएको थियो । थवाङकै छिमेकी मिरुलमा ३३ जनाले ज्यान गुमाएका थिए । थवाङदेखि पूर्वको उवामा पनि युद्धको अवधिभर २२ जनाको ज्यान गएको थिए ।
मगर समुदायको अत्यधिक बाक्लो बसोबास भएको थवाङ, जेलवाङ, उवा, मिरुललगायतका गाउँमा युद्धबाट प्रत्यक्ष प्रभावित भएका थिए भने सबैभन्दा बढी मानवीय क्षति पनि तीनै गाउँमा भएको थियो । ती गाउँमा मगर खाम भाषा संस्कृति, रहनसहन र चालचलन एउटै छ ।
थवाङमा २०१२ सालमा कम्युनिष्टको बिजारोपण भएको थियो । कृष्ण झाँक्री नामका मुखिया (राजा)ले गाउँमा सुंगुर, बंगुर खुला नछोड्न आदेश गरे । झ्याली पिटाए र कटुवाललाई हाक हाल्नसमेत लगाए ।
तर, गाउँलेले मुखियाको आदेशलाई टेरेनन् । गाउँको स्थिति फेरिएन । त्यसपछि मुखियाले सुंगुर, बंगुरलाई भरुवा बन्दुक, खुकुरी र भालाले हान्न थाले । विरोधमा बोल्ने हिम्मत कसैमा भएन ।
अत्याचार सहिसक्नु नभएपछि बरमन बुढालगायतका युवाले प्रतिकारमा उत्रिए । मुखियाले प्यूठानबाट प्रहरी बोलाए । मुद्दा चल्यो, बरमन जेल पुगे । बरमन बुढालाई प्यूठान कारागार पु¥याइयो ।
संयोगवश बरमन बुढाको भेट कम्युनिष्ट नेता मोहनविक्रम सिंहसँग जेलमा भयो । मोहनविक्रमले उनलाई कम्युनिष्टको शिक्षा दिए । बरमन थवाङ फर्केपछि थवाङमा कम्युनिष्ट राजनीति सुरु भयो ।
उनीपछि प्यूठान कारागार पुगेका मुखिया कृष्ण झाँक्री पनि कम्युनिष्ट दीक्षित कार्यकर्ता भएर थवाङ फर्के । पछि जेलबाट छुटेका मोहनविक्रम थवाङ पुगेर कमिटी गठन गरी बरमन बुढाको नाममा मुखिया (राजा) पद हस्तान्तरण गरेपछि थवाङमा कम्युनिष्ट राजनीतिको औपचारिक सुरुवात भएको हो ।

बसामूहिक निर्णय गर्ने परिपाटीकै कारण थवाङ सधैंभरी विद्रोही देखिएको हो । आदिवासी जनजाति समाजमा व्यक्तिलाई भन्दा समाजलाई ठूलो मानिन्छ । समाजको नाइकेलाई आदरका साथ सत्कार गर्ने र उसैको पछि लाग्ने चलन छ । थवाङका धेरैजसो मानिसहरु राजनीतिक अगुवाले जे निर्णय गर्छन् त्यसको अहिले पनि हुबहु कार्यान्वयन गर्छन् । १० वर्षे सशस्त्र विद्रोहमा थवाङबाट मात्रै २८ जना मारिएका थिए ।

थवाङ पुग्ने ग्रामीण पर्यटकहरुको लागि यी सबै कुराहरु रुचिका साथ सोधखोज गर्ने गर्दछन् । थवाङमा अहिले होमस्टे सञ्चालनमा आएको छ । गाउँमा पुग्ने ग्रामीण पर्यटकहरुलाई खाना बस्नको कुनै समस्या हुँदैन ।
थवाङबाट चलावाङ र तिरिवाङ हुँदै करिवन पाँच घण्टाको यात्रामा जलजला पुग्न सकिन्छ । जलजला पहाड सामुन्द्रिक सतहबाट ३१९३ मिटरको उचाइमा रहेको छ । जलजला पहाडमा लोपोन्मुख सेतो लालीगुराँसका फूल पाइन्छ ।
पौराणिक कथा अनुसार १२ भाइ बराहको जन्म धौलागिरीमा भएको र त्यहिबाट जलजला पहाडमा २२ बहिनी बजुको आगमन भएको विश्वास गरिन्छ । त्यसैले कैलु वराहको पूजा गरेपछि २२ बहिनी रानी वज्यूहरुको पूजा गर्ने प्रचलन छ ।
रोल्पालीको मात्र नभएर जलजला राप्तीबासी कै धार्मिकस्थल पनि हो । यहाँ तीनवटा बराहको मन्दिर रहेका छन् । जसलाई कैलु बराह, वजु वराह, र सहदे बराह भन्ने गरिन्छ । प्रत्येक बर्षको बैशाख, जेठ र जनैपूणिमाको दिन यहाँ मेला पनि लाग्ने गर्दछ ।
जलजला पहाडमा दुर्लभ पंक्षी र वन्यजन्तुहरुको बसोवास पनि छ । यहाँ पाइने डाँफे, मुनाल, कालिज, प्यूराजस्ता पंक्षीहरुले जलजलालाई आफ्नो स्वरले त्यहा पुग्ने पर्यटकलाई स्वागत गरिरहेका हुन्छन् । त्यसैगरी जलजलामा घोरल,
थार, मृग, वदेल, भालुजस्ता जंगली जनावरहरु पनि पाइन्छ । जलजला पहाडलाई दुर्लभ मानिने जटामसी, पदमचाल्ना, केशरनिङ, जस्ता दर्जनौ जडिबुटीले पहाडको महत्व बढाएको छ ।
जलजला पहाड पछिल्लो समयमा नेपालको राजनैतिकसँग पनि गासिएको छ । आजभोलि जलजला पहाडलाई राजनैतिक र बलिदानीको केन्द्रको रुपमा लिने गरिएको छ ।
जलजला पहाडको शिरमा सहिद स्मृति स्तम्भ निर्माण गरिएको छ । अभैmपनि जलजला पहाडमा राता हसिया हतौडाका झण्डा फरफराएको देखिन्छ । जलजलाबाट रोल्पाको भूगोल मात्र होइन रुकुम जिल्लाको सिस्ने हिमाल र अनगिन्ती लेक, वेसी र प्राकृतिक सौन्र्दयताको आनन्द लिन सकिन्छ ।
जलजलाको झाँक्री थान अर्थात् कैलु ब्राहथानमा झाँक्री मगर पुजारी छन् भने अरु मन्दिरमा रोका मगर पुजारी छन् । जलजलामा तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको रेडियो जनगणतन्त्र ९५.१ मेगाहर्ज दुई बर्षसम्म जलजलाबाट भूमिगत रुपमा प्रसारण गरिएको थियो ।
जलजला प्राकृतिक, धार्मिक र युद्ध पर्यटनको सम्भावना बोकेको पहाड हो ।
घाँसे मैदानी, दलदले क्षेत्रमा पानी जम्ने र जमिन हल्लिने भएकोले जलजला नयाँ पर्यटकहरुको लागि आकर्षणको केन्द्र बनेको छ । केही बर्ष अगाडिदेखि जलजलामा स्थानीय समुदायले चरिचराउ बन्द गरी संरक्षण गरिएको छ ।
यस क्षेत्रमा लोप हुन लागेको दुर्लभ रातो पाण्डासमेत संरक्षण भएको छ । चैतदेखि भदौसम्म प्राकृतिक फूलबारीमा रुपान्तरित हुने जलजला दर्जनौं प्रजातिका गुराँस फुलले राताम्य हुने गर्दछ ।
गुराँसबाहेक सुगन्ध हाङ्व, रथविरथ, पातव, विन्जोरीव, धस्कीनी लगायतका फूलहरु चैतदेखि भदौसम्म फुल्ने हुँदा जलजला बाह्रै महिना फूल देख्न सकिन्छ ।
थवाङमा अहिले कला र संस्कृतिलाई जर्गेना गर्न स्थानीयबासी एवं राजनैतिक दलहरु लागिपरेका छन् । असार महिना थवाङमा मगर जातिको भूम्या सुरु हुन्छ । भूम्या पर्व रोकब्याधी नलागोस्, दैवीप्रकोपबाट बचियोस् र राम्रो अन्नबाली फलोस् भनेर मगर समुदायले मनाउने गर्दछन् ।
यो पर्व रोल्पाको जेलवाङ र थवाङ मात्र होइन मगर जातिहरुको बस्ती भएको सबै गाउँमा मनाउने गर्दछन् । वर्षा सुरु हुनुभन्दा अगाडि प्रकृतिको पूजा गर्ने चलन १८ मगरात क्षेत्रमा बसोबास गर्ने मगरहरुको प्रचलन छ ।
मगरहरुले परम्परागत प्राकृतिक पूजा गरेपछि उनीहरुको नाचगान र खानपिन गर्दछन् । विदेशमा बस्नेहरु पनि भूम्या पूजाको समयमा गाउँमा फर्कन्छन् ।
मगर भेषभूषामा सजिएर युवायुवती, बूढापाकाहरु आपसमा मिलेर विभिन्न बाजागाजा, जस्तै दमाहा, टेम्पो, ढोल, झर्रा, सनाई र झ्यालीको तालमा दिनभरि नाच्ने गर्छन् । रोल्पामा भूम्याजस्तै जस्तै नचारु, सिंगारु, मयुर, टप्पा समेतको नाच पनि देखाइन्छ ।
जलजला जाँदा बाटोमा ढकमक्क फूलेका फूलहरु, गुचुमुच्च मगरबस्ती, खोलानाला, पहाड र हरियाली वनजंगल यात्राको आनन्द बेग्लै हुन्छ । द्वन्द्वकालका अवशेषहरु, कम्युनहरु, गुरिल्लाहरुको तालिमस्थल, बंकर अनि द्वन्द्वका कथाहरु प्रशस्तै सुन्न र अवलोकन गर्न पाइन्छ ।
गुरिल्लाहरुले प्रयोग गरेका गोरेटोहरुमा यात्रा गर्दै विभिन्न थरिका फूलहरु, चराचुरुंगी, वनस्पति, कलकल बग्ने खोलानाला, अग्ला पहाड र झरनाहरुले त्यहाँ जाने ग्रामीण पर्यटकहरुलाई आनन्द दिलाउँछ ।
जलजलाबाट सिस्ने, पूठा, धौलागिरी, अन्नपूर्ण हिमश्रृंखलाहरुको दृश्यावलोकन पनि गर्न सकिन्छ । ग्रामीण पर्यटकमध्ये धेरै प्राकृतिक दृश्य अवलोकन र मनोरञ्जनका लागि भ्रमण जाने गर्दछन् । रोल्पाको भ्रमणमा हिमाल, जंगल, नदी, छहरा, ग्रामीण बस्ती, जंगली जनावर र पंक्षी अवलोकन गर्न सकिने धेरै मार्गहरु पर्दछन् ।
गुरिल्ला पदमार्ग भर्खरै मात्रै पहिचान गरिएको नयाँ पदमार्ग हो । यो पदमार्गले रोल्पा, रुकुम, बाग्लुङ हुँदै म्याग्दी जिल्लाहरुसमेत समेटेको छ । यस पदमार्गमा सुलिचौर, जेलवाङ, ओखरेनी, धरमपानी, जलजला,
थवाङ, गुनाम, लुकुम, तकसेरा, निशेल्ढोर हुँदै जलजला, लम्सुम, ताकम, धारापानी हुँदै बेनी निस्कन सकिन्छ । यस्तै अर्को मार्गमा थवाङबाट धरमशाला, लावाङ, रिशालचौर, पातिहाल्ने डाँडा हुँदै च्याङचुङ, भेरिडाँडा (चुनवाङ) हुँदै गैरीगाउँबाट घर्तीगाउँ निस्कन सकिन्छ ।
गुरिल्ला पदयात्रामा मगर संस्कृति, जैविक विविधता तथा प्राकृतिक सुन्दरताको अवलोकन गर्न सकिन्छ । यो पदयात्रामा विशाल फाँट, हरियाली जंगल अनि सेताम्य हिमालको दृश्य हेर्न पाइन्छ ।
यो पहाडी यात्रा प्राकृतिक मात्रै नभएर साँस्कृतिक एवं सामाजिक हिसावले पनि रोचक मानिन्छ । कुनै समय द्वन्द्वको केन्द्रका रुपमा प्रख्यात रहेकोे रोल्पा रुकुमले अहिले विस्तारै पर्यटकीय सम्भावनाहरु खोज्न थालेको छ ।
दाङको घोराही–नुवागाउँको तिलासम्म ५६ किमी र घर्तीगाउँ हुदै रुकुमको महत १७७ पर्दछ । भने घोराहीबाट घर्तीगाउँ हँुदै थवाङसम्मको दूरी १३४ किलोमीटर पर्दछ ।
लिवाङदेखि घर्तीगाउँ हुँदै ७४ किलोमीटरको कच्ची सडक यात्रामा पनि थवाङ पुग्न सकिन्छ । अर्को मार्ग हो सुलिचौर– फुलिवन, रुइनिवाङ हुँदै थवाङ ५७ किलोमीटरको दूरी ।
तर यो मार्गमा .रुइनिवाङ–फुलिवनदेखि थवाङसम्म जोडने सडक खण्ड अझै १० किलोमिटर निर्माण हुन सकेको छैन । सिरक्याङको भीर फोड्ने कार्य भै रहेको छ । यो सडक तयार भयो भने बुटवलतिरबाट आउने मानिसहरुको लागि थवाङ र जलजला पुग्नको लागि छोटो दूरी पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *