जन्मदोषसम्बन्धी अभिमुखीकरण

मुख्य खबर समाज

दंगीशरण, ३ असार । जन्मदोष सम्बन्धी पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम सोमबार दंगीशरण गाउँपालिकामा सम्पन्न भएको छ । दंगीशरण गाउँपालिकाअन्तर्गत स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य कार्यालय दाङका पब्लिक हेल्थ नर्स रेणु श्रेष्ठले जन्मदोषको परिचय, यसका कारणहरु र यस रोगका प्रकारहरुमा संरचनात्मक वा कार्यात्मक जन्मदोष, विकासात्मक जन्मदोषका बारेमा जानकारी गराएकी थिइन् ।
जन्मदोष हुनुका कारणहरुमा धुम्रपान, खराब वातावरण, हानिकरक औषधिको सेवन, केमिकल्स मिसिएको खानाबाट बच्चाहरु जन्मदोषको सिकार भएको पाइएको छ । बच्चालाई जन्मदोष हुनबाट बचाउनका लागि गर्भधारण हुनुभन्दा पहिले चेकजाँच गराउने,
जन्मअघि अल्ट्रासाउन्ड अर्थात् रक्त परिक्षणबाट जन्मदोषबारे पहिचान गर्ने, यौन सञ्चारित रोगको परिक्षण गर्ने, जन्मदोषसम्बन्धी शरीरमा लक्षण देखापरेमा चेकजाँच गराउने, भिटामिनयुक्त खाना खाएमा यस रोगबाट बच्न सकिने नर्स श्रेष्ठले जानकारी दिईन् ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पिमा कुमारी खड्काले यो विषयको कार्यक्रम गाउँपालिकाका लागि नौलो कार्यक्रम रहेको बताईन् । उनले गाउँघरमा यो रोगको शिकार धेरैजना भएको भन्दै यसलाई निर्मूल पार्न यस्तै अभिमुखीकरण कार्यक्रमको आवश्यक रहेको बताइन् ।
उनले गाउँतहमा बाहिर नआएका यस्ता प्रकारका रोगबाट बच्न अभिमुखीकरण र जनचेतनामूलक कार्यक्रम गर्नु आवश्यक रहेको भन्दै आगामी दिनमा स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम गर्न गर्न स्वास्थ्य शाखालाई आग्रह गरिन् ।
उक्त अवसरमा सहभागीहरुले दंगीशरणमा यो विषयको कार्यक्रमलाई हरेक वडामा लग्न जरुरी रहेको बताएका थिए । यस रोगबारे यहाँका धेरै जनता अनभिज्ञ रहेको भन्दै यो कार्यक्रमलाई अगाडि लग्नुपर्ने जरुरी रहेको उनीहरुको भनाइ थियो ।
अभिमुखीकरणमा ईलाका स्वास्थ्य चौकी कार्यालय हेकुली, श्रीगाउँ स्वास्थ्य चौकी र गोल्टाकुरी स्वास्थ्य चौकीका प्रमुख, नर्स, स्वयम्सेवक र जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
स्वास्थ्य शाखाका प्रमुख विष्णु क्षेत्रीको अध्यक्षता तथा उपाध्यक्ष पिमा कुमारी खड्काको प्रमूख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाका उपप्रमुख नेवबहादुर केसीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *