तुलसीपुर, १७ मंसिर । तुलसीपुरमा एक दम्पत्तिले छोरीको जन्मदिनको अवसरमा शनिबार जेष्ठ नागरिकलाई नगद तथा खाद्यान्न सहयोग गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ रझेनाका सविन नेपाली र शुष्मा नेपालीले आफ्नो छोरी सुप्रियाको जन्मदिनको अवसरमा वृद्ध सेवा समिति जेष्ठ नागरिक समाजमा रहेका विभिन्न जेष्ठ नागरिकलाई खाद्यान्न र नगद सहयोग गरेका हुन् । उनीहरूले चामल, दाल, तेल लगायतका खाद्य सामग्रीसहित नगद २ हजार ५० सहयोग गरेका हुन् ।
छालाजुत्ता व्यवसायी संघका जिल्ला सदस्यसमेत रहेका सविन नेपालीले छोरीको जन्मदिनमा फजुल खर्च गर्नुको साटो सामाजिक काम उत्तरदायित्व बहन गरेको बताए । ‘छोरीको पहिलो जन्मदिन थियो, जन्मदिनमा अरू खर्च गरेर धन पैसा नास गर्नुको साटो सामाजिक काम नै गरौँ भनेर जेष्ठ नागरिकलाई खाद्यान्न र नगद सहयोग गरेका छौँ’
उनले भने– ‘यस्तै सामाजिक कामलाई आगामी दिनमा निरन्तरता दिनेछौँ ।’उद्योग वाणिज्य संघका कर्णाली प्रदेश सामाजिक सदस्य दुर्गाप्रसाद भुसालको अध्यक्षता तथा वृद्ध सेवा समिति वृद्धसेवा समितिका कोषाध्यक्ष झग्गुप्रसाद गौतमको प्रमुख आतिथ्यतामा हस्तान्तरण कार्यक्रम भएको हो ।
