जनप्रतिनिधिहरुलाई कानुनी तालिम

मुख्य खबर राजनीति समाज

तुलसीपुर, ३ मंसिर । ‘अहिले कानुनमा बीस वारी विहे नगर्ने भन्छ तर मुलुकी ऐन लागू भएभन्दा अगाडि विहे गरेको भन्न आए भने के गर्ने ?’ तुलसीपुर उप–महानगरपालिका वडा नम्वर ११ वडा अध्यक्ष चित्रबहादुर वलीले मुलुकी ऐन जारी भएपछिको कानुनी जटिलता पोखे । यस्तै समस्या थियो वडा नम्वर १५ का वडा अध्यक्ष लक्ष्मण चौधरीको पनि । उनले बहुविवाह गरेर विवाह दर्ता नगरेको अवस्थामा बच्चा जन्मिएमा बच्चाको जन्मदर्ता गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न राखे ।
मुलुकी ऐन लागू भएपछि विभिन्न सिफारिसका साथै घटना दर्ता गर्न भएको जटिलताका बारेमा तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले राखेका प्रश्नका जवाफ दिदै जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलले भने ‘बहुविवाह गरेको, बाबुआमा नभेटिएको लगायतका विभिन्न समस्या राखेर हामीले घटना दर्ता गर्ने काम रोक्न मिल्दैन, आफू जन्मेको प्रमाण व्यक्तिले पाउनै पर्दछ, त्यो उसको अधिकार पनि हो ।’ न्यायधीश रावलले मुलुकी ऐन जारी भएभन्दा अगाडिका कुनै पनि घटनालाई त्यतिबेलाका कानुनसँग जुधाएर काम गर्नुपर्ने बताए । ‘भदौ १ गतेभन्दा अगाडिको कुनै पनि घटनालाई मुलुकी ऐनको कसीमा राखेर हेर्न मिल्दैन’ रावलले भने ।
तुलसीपुर उपमहानगरको सहयोगमा कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र सेलर्डले जनप्रतिनिधिका लागि आयोजना गरेको देवानी तथा फौजदारी अपराधसंहिता सम्बन्धी कार्यक्रममा जनप्रतिनिधिहरुलाई नयाँ कानुनका विशेष प्रावधानका बारेमा जानकारी दिदै उच्च अदालत तुलसीपुरका न्यायधीश महेश शर्मा पौडेलले अदालतको हिसावले कैद, जरिवाना लागेको व्यक्तिलाई कुनै पनि सिफारिस दिन नहुने बताएका थिए । ‘नयाँ कानुन लागू भएपश्चात कैद र जरिवाना बाँकी रहेको व्यक्तिले त्यसको भुक्तान नगर्दासम्म कुनै पनि सिफारिस दिन मिल्दैन’ उनले यस्ता व्यक्तिको विवरण हरेक स्थानीय तहमा पठाउन लागिएको समेत जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पौडेलले समाजमा अपराध नहोस् भन्नका लागि सबैले ध्यान दिनुपर्ने बताए । ‘सबैले स्वस्थ दिमागले सोच्ने हो भने त्यहि नै कानुन हो’ । उनले व्यवहारतः ढंगले पनि कतिपय समस्या समाधान गर्नुपर्ने आवश्यकता रहेको बताउँदै गाउँघरमा कसले जग्गा मिचेको छ भन्ने कुरा अदालतले भन्दा पनि व्यवहारिक ढंगले समाधान गर्न बढी कानुनतः हुने बताए । तुलसीपुर उपमहानगरका कार्यवाहक नगरप्रमुख सूर्यबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सेलर्डका अध्यक्ष मोहन धितालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *