‘जनताका समस्या समाधान गर्छु’

फिचर राजनीति विचार संवाद

मंसिर १४ को चुनावी रौनक चलेको छ । दल तथा उम्मेदवारहरू मत माग्न गाउँ–गाउँमा पुगेका छन् । मतदाता पनि दक्ष, सक्षम र योग्य उम्मेदवार छनौट गर्ने सोंचमा छन् । दाङमा निर्वाचन क्षेत्र नम्बर ३ को (ख) मा प्रदेशसभा सदस्य पदका लागि १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । चुनावमा होमिएका उम्मेदवारहरू सबैले आफूले जित्ने विश्वासका साथ मत मागिरहेका छन् । सत्तापक्ष नेकपाले प्रदेशसभा सदस्यको लागि स्वर्गीय पूर्व प्रदेशसभा सदस्य उत्तरकुमार ओलीकी धर्मपत्नी विमला ओलीलाई उम्मेदवारी बनाएको छ । खत्रीले आफ्नो पक्षमा मत पार्न घरदैलो अभियानलाई तिब्रता दिएकी छन् । आजको अंकमा हामीले नेकपाका तर्फबाट चुनावी प्रतिस्पर्धामा रहेकी उम्मेदवार ओलीसँग कुराकानी गरेका छौं । 


चुनावी गतिविधि कस्तो हुँदैछ ?

राम्रो हुँदैछ । उपनिर्वाचन हुन लागेका २५ वटै वडाहरूमा घरदैलो अभियान भइरहेको छ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता मलाई जिताउन चुनावी गतिविधि सक्रिय पार्नुभएको छ । आमनागरिक नेकपाको पक्षमा देखिएको छ । मतदाताले पनि नेकपालाई अर्थात् मलाई जिताउने बचनवद्धता दिनुभएको छ ।
आमनागरिकको साथ पाउँदा निकै खुशी छु । गाउँ–गाउँमा पुग्दै गर्दाखेरी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीले मलाई भोट दिने र अझ विशेषगरी श्रीमानले अधूरा राखेका सपना पूरा गरिदिन आग्रह गर्नुभएको छ । जनताको साथले मलाई मिलेको हौसलाले पक्कै पनि म बिजयी हुन्छु भन्ने साहस मिलेको छ ।

नागरिक के भन्छन् ?

जनताले पश्चिम दाङको विकास मागेका छन् । विकास निर्माणका सवालमा केही अधूरा रहेका योजना, केही नयाँ योजना आमनागरिकले विकास मागेका छन् । श्रीमानले छोडेर गएका अधूरा कामहरू पूरा गर्नुहुनेछ भन्ने आम मतदाताको विश्वास छ ।
नेकपाको सरकार तीनैतहमा भएको समयमा विकास निर्माणका सवाललाई गति दिन नागरिकले आग्रह गरेका छन् । पश्चिम दाङ अर्थात् म निर्वाचनमा होमिएको क्षेत्रमा सडक, स्वास्थ्य, शिक्षा, रोजगारी, खानेपानीका लगायतका समस्या समाधान गरिदिन नागरिकहरूले आग्रह गरेका छन् । विकास निर्माणका काम यसअघि पनि भएका, भइरहेका पनि छन् । नयाँ योजना लिएर पश्चिम दाङको समृद्धिमा लाग्न मतदाताले अनुरोध गर्नुभएको छ ।

चुनावी एजेण्डाहरू के हुन् तपाईका ?

हामीले यसक्षेत्रमा नागरिकका सानाभन्दा साना समस्यालाई समाधान गर्नेदेखि दीर्घकालिन ठूला योजना बनाएका छौँ । हामीले तीनवटै पालिकाका नागरिकलाई समेट्ने गरी विशेषज्ञ सेवासहितको सुविधा सम्पन्न अस्पतालको परिकल्पना गरेका छौँ । त्यसैगरी निःशुल्क स्वास्थ्य सेवा, शिक्षा, खानेपानीलगायतका समस्यालाई दीर्घकालिन रूपमा अन्त्य गरी यहाँको विकास गर्ने सोच बनाएका छौँ ।
पश्चिम दाङमा कृषिको सम्भावना पनि अत्यन्तै भएकाले पनि कृषि पेशालाई सम्मानित पेशाका रूपमा स्थापित गरी कृषिको बजारीकरण, व्यवसायीक किसानलाई अनुदानसम्मका विभिन्न योजना अघि सारेका छाँै । अनि विपन्न नागरिकका बालबालिकालाई निःशुल्क शिक्षाको पूर्ण ग्यारेण्टी र आदिवासी जनजातिहरूका सीपलाई प्रवद्र्धन गर्ने किसिमका योजना अघि सारेका छौँ ।

चुनावी एजेण्डा कार्यान्वयन हुने आधारहरू के हुन् ?

कार्यान्वयन हुने आधारहरू थुप्रै छन् । नेकपा नेतृत्वको सरकार छ, देशको अर्थपुँजीले धान्न सक्ने विकासका योजना अघि सारेका छौँ । कार्यान्वयन गर्नलाई समस्या होइन् । यसअघि पनि गरिएका विकास निर्माणसँग नागरिक सन्तुष्ट हुुनुहुन्छ ।
अहिले पनि कार्यान्वयन हुन्छन् भन्ने म नागरिकलाई विश्वास दिलाउन चाहन्छु । अहिलेसम्म केन्द्रबाट पनि राम्रो साथ र सहयोग पाइराखेको छु । म निर्वाचित भएर गए भने झनै सहजता हुने छ र मैले अघि सारेका योजना कार्यान्वयन हुनेछन् । नागरिकलाई निराश बनाउने काम हुनेछैन् भनेर भन्न चाहन्छु ।

दुई वर्षभित्रमा त कार्यान्वयन गर्न समस्या होला नि ?

दुई वर्ष नै पर्याप्त हुन्छ भनेर त भन्दिन तर मैले सारेका योजना कार्यान्वयन हुन्छ भन्ने विश्वास छ । बहुमतको सरकार छ । पश्चिम दाङमा मेरो श्रीमान उत्तरकुमार ओलीले सारेका थुप्रै योजना कार्यान्वयन हुने चरणमा छन् । ति योजनाको निरन्तरतासँगै मैले लिएका योजना सकेसम्म कार्यान्वयन हुन्छन् । सबैभन्दा मुख्य कुरा त के हो भने मेरो एक्लो प्रयासले मात्र सफल हुने होइन् ।
मलाई आम नागरिकहरूको साथ जरूरी छ । मैले सारेका योजना कार्यान्वयनमा यहाँका नागरिकको खबरदारीले मात्र विकास निर्माणका योजना कार्यान्वयन गर्न सफल हुनेछौँ । मलाई हरेक पाइला–पाइलामा नागरिकको साथ र सहयोग आवश्यक छ र साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वासमा छु ।

तपाईको पक्षमा मत परिणाम आउला त ?

आउँछ भनेर नै चुनावी मैदान छौँ । चुनावमा हार व्यहोर्ने भनेर कोही पनि आउँदैन् । नेकपामा देखिएका जनमतले पनि बताइसकेको छ । हामीले यसअघि जनतामाझ गरेका क्रियाकलापले पनि जनता खुशी हुनुहुन्छ । अहिलेको जिम्मेवारी पनि मलाई नै दिनुहुन्छ विश्वस्त छौँ । अरू दलभन्दा पनि नेपाली काँग्रेससँग हाम्रो प्रतिस्पर्धा हो ।
तर काँग्रेसले यसअघि गरेका विकास निर्माणले जनता सन्तुष्ट हुन सकेका छैनन् । नेकपाको सरकार आइसकेपछि जनताले विकासको अनुभूति गर्न पाएका हुन् । त्यसैले पनि हामीले जित्ने आधार बलियो देखिएको छ । जनताको घर–घरमा पुग्दै गर्दाखेरी नागरिकले दिनुभएको अटुट मायाले मैले जितको महशुस गरिसकेको छु ।

सरकारप्रति नागरिकका गुनासा पनि छन् नि ?

केही गुनासा हुनु स्वभाविक पनि हो । नेकपा नेतृत्वको सरकारले गरेका कामको जनताले गुनासो गर्नु नै नागरिक विकास निर्माणसँग प्रत्यक्ष जोडिन थालेका छन् भन्ने हो । सकारात्मक आलोचना सरकार आवश्यक छ ।
तितो नै नभइदिएको भए गुलियोको के महत्व भन्नुस् त आफै । त्यसैले अलि–अलि गुनासा आउन स्वभाविक हो र सरकारले तुरून्तै ति गुनासाको सम्बोधन गर्न सक्यो भने नै सफल त्यही हुन्छ भन्ने हो । गुनासा गर्ने नागरिकको चेतना बढ्यो भने नै सरकारलाई खबरदारी हो । त्यसैले यथार्थपरक आलोचनाको त खाँचो नै छ ।

मतदातालाई के भन्नुहुन्छ ?

मंसिर १४ मा हुन लागेको प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेकपाको तर्फबाट म बिमला ओलीलाई सूर्य चिन्हमा भोट दिएर अत्याधिक बहुमतले विजयी गराउनुहुनेछ भन्ने आम मतदातामा हार्दिक अनुरोध गर्न चाहन्छु । त्यसैगरी निर्वाचनमा सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्न गर्दछु ।
उपनिर्वाचनमा मत परिणाम मेरो पक्षमा पार्नका लागि नागरिकहरूमा पुग्न सहयोग गर्नुहुने सम्पूर्ण नेता तथा कार्यकर्ताहरूमा पनि धन्यवाद ज्ञापन गर्दछु । निर्वाचनमा मात्र होइन् त्यसपछिका दिनमा सदैव मतदाता अर्थात् नागरिकको साथ पाइराख्नेछु धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *