जंग्रहवामा खेलमैदान बन्दै

मुख्य खबर

राजपुर, ९ साउन । जंग्रहवामा राष्ट्रियस्तरको खेलमैदान निर्माण कार्य सुरु भएको छ । गत आर्थिक वर्ष ०७५÷७६ को खेल मैदान निर्माण योजनाअन्तर्गत ५० लाख बजेटमा खेल मैदान बनाउन सुरु गरिएको हो । प्रदेश सरकारको सशर्त अनुदानमार्फत प्राप्त बजेटबाट खेलमैदानलाई व्यवस्थित बनाउनका लागि अहिले पर्खाल र तारको जाली लगाउने काम भईरहेको छ ।
राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवामा राष्ट्रियस्तरको खेलमैदान बनाउन सुरु गरिएको हो । नेपाल सरकारको नीति अनुसार स्थानीय तहको प्रत्येक गाउँपालिकामा राष्ट्रियस्तरको खेलमैदान निर्माण गर्ने योजना अुनसार खेलमैदान निर्माण गर्ने कार्य सुरु भएको छ । प्रदेश सरकारको सशर्त अनुदान कार्यक्रममार्फत विनियोजित गरिएको ५० लाख बजेटबाट खेलमैदान बनाउन सुरु गरिएको छ ।
जंग्रहवामा रहेको २० बिगाह बराबरको जग्गाले भविष्यमा अन्तर्राष्ट्रिय खेलमैदानको सम्भावना भन्दै उक्त स्थानलाई हाल राष्ट्रियस्तरको खेलमैदानका रुपमा स्थापित गराउन लागिएको राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्र सिंह भण्डारीले बताए ।
उनले सम्वन्धित सरोकारवाला निकायको सर्वसहमतद्वारा खेल मैदानलाई थप व्यवस्थित बनाउन लागिएको जानकारी दिए । समय–समयमा गाउँपालिकास्तरीय विभिन्न किसिमका खेल प्रतियोगिता, खेल महोत्सवहरु सञ्चालन हुँदै आएको यस खेलमैदान जंग्रहवाको पहिचानको रुपमा समेत रहेको उनको भनाई छ ।
यस्तै गाउँपालिका अध्यक्ष लोकराज केसीले खेलमैदानको लागि जग्गा सुरक्षित गर्न पर्खाल र तारवार लगाउने कामलाई प्राथमिकता दिएको बताए । उनले भने ‘पर्खाल र तार लगाउने काम सम्पन्न भयो भने हामीले डिपीआर गरी खेलमैदानलाई व्यवस्थित बनाउँदै लैजाने छौँ ।’
त्यस्तै अधूरो खेलमैदानलाई व्यवस्थित बनाउनका लागि गाउँपालिकाले आर्थिक वर्ष ०७६÷७७ को योजनाअन्तर्गत बजेट समेत छुट्याएको अदालत भण्डारीले जानकारी दिए ।
खेल मैदानलाई व्यवस्थित बनाउनका लागि पर्खाल निर्माण, तारवार व्यवस्थापन र मैदानभित्र माटो फिल्डिङ तथा खानेपानी ब्यवस्थापनको लागि गाउँपालिकाले ३० लाख रुपैयाँ बजेट छुट्याएको उनले जानकारी दिए ।
खेल मैदान व्यवस्थित र उत्कृष्ट बनाउनका लागि थप बजेटको आवश्यकता परेमा सम्बन्धित सरोकारवाला र प्रदेश सरकारसँग थप रकम माग गर्न सकिने उनको भनाई छ ।
खेल निर्माण कार्यलाई दीगो रुपमा अघि बढाउनका लागि आवश्यक परेको खण्डमा सम्बन्धित सरोकारवाला निकाय र नेपाल सरकारसँग आवश्यक बजेट माग गर्न आफूहरु तयार रहेको उनीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *