छ हजार युवालाई सिपमूलक तालिमः मन्त्री बराल

मुख्य खबर समाज

घोराही, १६ फागुन । प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेश सरकारले छ हजार युवाहरुलाई सिपमूलक तालिम दिने बताएका छन् । नेपाल मगर संघको ३७ औँ मगर दिवसका अवसरमा घोराहीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बरालले यस्तो बताएका हुन् । राज्यको पहुँचमा पुग्न नसकेका आदिबासी तथा अल्पसंख्यक समुदायका युवाहरुलाई तालिमको ब्यवस्था गर्न लागेको बताए । प्रदेशको विकासका लागि सबैको सहयोग आवश्यकता पर्ने भन्दै मन्त्री बरालले छोटो समयका सिपमूलक तालिममार्फत् उनीहरुलाई स्वरोजगार गराउने उद्देश्य राखिएको बताए ।
नेपाल मगर संघ दाङका अध्यक्ष खलुप्रसाद पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मन्त्री बरालले मातृभाषामा पढाइ हुने विद्यालयलाई बजेट ब्यवस्थापन गर्न लागेको बताए । प्रदेशका विभिन्न सामुदायिक विद्यालयमा मातृभाषामा पढाइ हुने गरेको बताउँदै मन्त्री बरालले आर्थिक भार कम गर्नका लागि बजेटको ब्यवस्थापन गर्न लागेको उनले बताए । कार्यक्रममा नेपाल मगर संघका प्रदेश अध्यक्ष बिमल सारु मगर, नेपाल मगर संघका केन्द्रीय सल्लाहकार रामचन्द्र थापा, सल्लाहकार दयाजी रोका मगर, थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष भुवन चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । मगर संघ दाङका बरिष्ठ उपाध्यक्ष डिल्ली घर्ती मगरको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव मुक्त बुढा मगरले गरेका थिए ।
कार्यक्रममा नन्दलाल पुन मगर र सम्झना पुन मगर स्मृति छात्रवृत्तिबाट आदर्श मावि देउखुरीका छात्र नवीन ठेडी मगर र पद्मोदय माविका छात्रा युवा थापा मगरलाई नगद, प्रमाणपत्रसहित छात्रवृत्ति वितरण गरिएको थियो । यस्तै घोराहीमा जारी प्रथम सहिद लखन थापा मगर कप रनिङ फुटबल प्रतियोगिताका लागि सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।

मगर संघको भवनको शिलान्यास

यसैबीच नेपाल मगर संघको भवन शिलान्यास गरिएको छ । घोराही उपमहानगरपालिका–१८ ढोडेनीमा निर्माण हुन लागेको भवनको प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले गरेका हुन् । भवनको शिलान्यास गर्दै मन्त्री बरालले मगर समुदायमा पछिल्लो समयमा जागरण फैलिएको बताए । पछिल्लो समयमा मगर समुदायले चेतनाका कार्यक्रम गरिरहेको भन्दै मन्त्री बरालले प्रशंसा गरे ।
नेपाल मगर संघ प्रदेश नम्बर पाँचका अध्यक्ष बिमल सारु मगरको अध्यक्षता तथा कार्यक्रमको सहजीकरण प्रदेशका भाषिक उपाध्यक्ष सितलाल पुन मगरले गरेका थिए । प्रदेशस्तरको भवन शिलान्यासका लागि नेपाल मगर संघले पहल सुरु भएको छ । साथै नेपाल मगर संघले प्रदेश सरकारको तर्फबाट बजेट ब्यवस्थापन गर्न पनि नेपाल मगर संघले आग्रह गरेको छ ।

जयशेर माविको चारकोठे भवन शिलान्यास

यसैबीच प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जयशेर मावि रावतगाउँको चारकोठे भवनको शिलान्यास गरेका छन् । सामाजिक विकास मन्त्रालयको अनुदानमा निर्माण हुन लागेको भवनको मन्त्री बरालले शिलान्यास गरेका हुन् । भवनको शिलान्यासपश्चात् सम्बोधन गर्दै मन्त्री बरालले प्रदेश सरकारले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए । पहिलो चरणमा ६० विद्यालयमा भवन निर्माणका लागि बजेट ब्यवस्थापन गरेको जानकारी दिदै शिक्षकले सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने दाबी गरे ।
उच्च शिक्षा र प्राविधिक शिक्षाका लागि प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताउँदै मन्त्री बरालले भौतिक पूर्वाधार निर्माणपश्चात् शैक्षिक सुधारका लागि विशेष कार्यक्रम लागू हुने बताए । सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार चुनौती रहेको भन्दै मन्त्री बरालले गुणस्तरियताका लागि कार्यक्रम निर्माण भइरहेको बताए । जयशेर मावि रावतगाउँका लागि प्रदेश सरकारले ४० लाखको लागतमा भवन निर्माण हुन लागेको छ । जेठ मसान्तसम्म भवन निर्माण सक्ने गरी विद्यालय प्रशासनले मन्त्रालयसँग सम्झौता गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *