छाडा चौपाया सास्ती

सम्पादकीय

केही समय सेलाएको छाडा चौपायाको समस्या फेरी टड्गारो समस्याको रुपमा देखापरेको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिकाका स्थानीयहरुले छाडा चौपायाले सास्ती दिएको भन्दै त्यसको नियन्त्रण र ब्यवस्थापन हुनुपर्ने माग राखेर उपमहानगरको मुख्य गेटमा गाईवस्तुको क्याम्प गराइनुले स्थानीयहरु छाडा चौपायामा कति आजित रहेछन् भन्ने पनि देखाएको छ । छाडा चौपायाका कारण जिल्लाका प्रायः सबै शहरी क्षेत्रमा सास्ती हँुदै आएको छ । स्थानीय तह र सरोकारवाला निकायले यसको उचित व्यवस्थापन गर्न नसक्दा अहिले छाडा चौपाया बजार क्षेत्रमा चुनौतीको रुपमा रहेका छ । स्थानीय तहहरुले यसको ब्यवस्थापनको लागि ठोस नीतिसमेत ल्याउन सकेका छैनन् । ल्याए पनि त्यसको उचित ब्यवस्थापन र निकास निकाल्न नसक्दा यो समस्या सदाबहार जस्तै बनेको छ । छाडा चौपायाकै कारण चोक तथा सडकमा आवागमन नै समस्या हुँदै आएको छ ।
पशु चौपाया छाडा छोड्दा दाङका मुख्य बजार तथा सडक क्षेत्र समस्यामा ग्रस्त नै छ । छाडा चौपायाका कारण दुर्घटनाको जोखिम समेत बढ्न गरेको छ । बजारको सुन्दरता पनि घट्दै गएको छ । छाडा पशु चौपाया चुनौती बन्दै गएको छ । संघीय संरचनासँगै स्थानीय तहमा आएका अधिकार प्रयोग गरेर स्थानीय तहले सडकमा देखिने छाडा चौपायाको व्यवस्थापन गर्नुपर्छ । स्थानीय तहहरुले ल्याएका स्मार्ट सिटी र ब्यवस्थित र सुन्दर सहरको अवधारणा पूरा गर्न छाडा चौपाया मुख्य बाधक देखिन्छ । तर पनि स्थानीयहरुले यो कार्यमा खासै ध्यान दिएको देखिएको छैन । छापा चौपाया ब्यवस्थापन गर्ने घोषणा गरेको लामो समय बितिसक्दा पनि नगरका छाडा पशु व्यवस्थित हुन नसक्नुले स्थानीय तहले योजना ल्याउने तर कार्यान्वयन नगर्ने देखिएको छ । छाडा चौपाया ब्यवस्थापनको लागि नगरहरुले छाडा चौपायहरु ब्यवस्थापन गर्न कान्जी हाउसहरु निर्माण गरे पनि त्यो सहीरुपमा प्रयोग गर्न सकेका छैनन् । न त त्यसको प्रयोग गरिएको छ, न त त्यसलाई सहीरुपमा ब्यवस्थापन नै गर्न सकिएको छ । स्थानीय तहहरु छाडा चौपाया ब्यवस्थापन गर्ने कार्यमा चुकेकै छ । स्थानीय र किसानलाई छाडा चौपायाले पारेको सास्तीलाई ब्यवस्थापन गर्दे नगरलाई छाडा चौपाया मुक्त नगरका रुपमा विकास गर्ने तर्फको साेंच अघि बढाउन सके यसको सजिलै ब्यवस्थापन हुने देखिन्छ । छाडा पशु चौपायाको व्यवस्थापन प्रभावकारी नहुँदा सडक छेउछाउका व्यापारी, पैदलयात्री, सवारी चालकलाई बढी सास्ती हुने गरेको छ । स्थानीय तहहरुले छाडा चौपाया ब्यवस्थापनका लागि ठोस नीति र कार्ययोजना ल्याएर अघि बढ्नुपर्ने समय आएको छ । बजारमा चौपाया छोड्नेलाई पनि कानुनी दायराभित्र ल्याएर कारबाही गर्न सक्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *