चुनावी रौनक, घर–घरमा उम्मेदवार

मुख्य खबर राजनीति

तुलसीपुर, ६ मंसिर । मंसिर १४ को उपनिर्वाचनकोे मिति आउन ८ दिनमात्र बाँकी हुँदा दल तथा उम्मेदवार मतदाता भेटघाटमा व्यस्त रहेका छन् । निर्वाचनमा मत आफ्नो पक्षमा पार्न उम्मेदवार घरदैलो अभियानमा मतदाता भेट्न व्यस्त छन् । नेपाली काँग्रेस र नेकपाबीच चुनावी प्रतिस्पर्धा हुने देखिए पनि अन्य दलहरूले पनि चुनावी गतिविधिलाई सक्रिय बनाएका छन् ।
दाङको निर्वाचन क्षेत्र नम्बर ३ को (ख) मा प्रदेशसभा सदस्यका लागि र घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा वडा अध्यक्ष पदका लागि मंसिर १४ मा उपनिर्वाचन हुन लागेको छ । उपनिर्वाचन हुने ठाउँमा उम्मेदवारहरू मतदाता भेट्न घर–घरमा पुगेका हुन् ।
प्रदेश सभाका लागि नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार केशव आचार्य पनि चुनावी मत परिणाम आफ्नो पक्षमा पार्नका लागि निर्वाचन हुने स्थानका घर–घरमा मत माग्न पुगेका छन् ।
यस्तै घोराही १६ मा अध्यक्षका उम्मेदवार ताराबहादुर डिसी मतदाता घेटघाटमै व्यस्त छन् । नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका डिसीले बिहीबार सर्रा, मघैलगायतका गाउँमा पुगेर मतदाताहरूसँग भेटघाट गरेका छन् । मतदाताहरलाई भेट्नका लागि घरसम्म पुगेका डिसीलाई वडाबासीहरूले आफूहरूका समस्या राखेका थिए । सडक, सिंचाई, खानेपानीलगायतका समस्या उनीहरूले उम्मेदवार डिसीलाई राख्ने गरेका छन् ।
डिसीले आफू बिजयी भएपछि वडा नम्बर १६ लाई नमूना वडा बनाउने बताएका थिए । उनले वडाबासीहरू विकासबाट पिछडिएको भन्दै अब विकास गर्ने जिम्मा दिन मतदाताहलाई अनुरोध गरेका थिए । नेपाली काँग्रेसले नै विकास गर्ने भन्दै उननिर्वाचनमा काँग्रेसलाई मत दिनएर विजयी बनाउन उनले सम्पूर्ण मतदाताहरूमा अनुरोध गरे ।
मतदातालाई भेट्न पुगेका डिसीलाई मतदाताहरूले भव्य स्वागत गर्ने गरेका छन् । मतदाताहरूको दैलोसम्म पुग्ने डिसीलाई १६ नम्बरबासी मतदाताहरूले अविर, फूलमालाले स्वागत गर्दै जितको शुभकामना दिने गरेका छन् । वर्तमान सरकारका क्रियाकलापबाट आफूहरू असन्तुष्ट रहेको भन्दै उनीहरूले यसपटक नेपाली काँग्रेसबाट उम्मेदबार बनेका डिसीलाई मत दिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट घोराही १६ को वडा अध्यक्ष पदका उम्मेदवार सुरेशबहादुर केसीले प्रचारलाई तीब्र बनाएका छन् । पार्टीका नेता, कार्यकर्ता र शुभ चिन्तकको सहभागितामा केसीले प्रचारलाई तीब्र बनाएका हुन् । घोराही १६ को वडा अध्यक्ष पदका लागि सत्तासिन नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका केसीले वडाका सबै टोलमा अभियानलाई तीब्र बनाएका हुन् ।
केसीको नेतृत्वमा बिहीबार वडाका शक्ति, सिर्जना र सपना टोलमा प्रचार अभियानलाई तिब्र पारिएको छ । प्रचारका क्रममा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज जीवन गौतम, जिल्ला सचिव सुवास पुन, कार्यालय सदस्य अजयदिप शर्माको सहभागिता रहेको थियो ।
प्रचारका क्रममा वडा अध्यक्ष पदका उम्मेदवार केसीलाई मतदाताले जितको शुभकामना तथा आशीर्वाद दिएका छन् । साथै उम्मेदवार केसीले मतदातासँग आफूलाई जिताउन अपिल गरेका छन् । साथै आफूले जितेमा वडाको विकास समृद्धिका लागि भूमिका खेल्ने बताए ।
यसैबीच समाजवादी पार्टीले पनि चुनावी गतिविधिलाई सक्रिय बनाएको छ । चुनावी मत परिणाम आफ्नो पक्षमा आउने दाबीसहित पार्टीले मतदाता भेटघाट गरिरहेको छ । पार्टीको तर्फबाट उम्मेदवार बनेका डिल्लीबहादुर डाँगीसहित नेता तथा कार्यकर्ता प्रचारप्रसारमा लागेको टोपबहादुर महतराले बताए । आर्थिक, सामाजिक र राष्ट्रिय सुशासनसँगै विकास निर्माण गर्न पार्टीको उम्मेदवारी रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *