चीनसँगको नाका र यसभित्रका कुरा

विचार

चीनसँगको व्यापारिक कारोवार अहिले केरुङ नाकाबाट मात्र भएको छ । तातोपानी भुकम्पपछि बन्द भएको नाका सडक पुनः निर्माण भैराखेको छ । अहिले चीनसँग सीमा जोडिएको मुस्ताङको कोरला, हुम्लाको हिल्सा, ताप्लेजुङ, ओलाङचुङगोला, संखुवासभाको किमाथाङका, दोलखाको लामाबगर, गोरखाको लार्के र मुगुको नाग्चेलाग्मा नाकाको सम्भाव्यता अध्ययन गर्न दुुबै देश सहमतिमा जुटेका छन् । चीनसँग सीमा जोडिएका नेपालका १५ जिल्लामध्ये मनाङ र धादिङमा मात्रै उत्तर जोड्ने नाका छैन । सरकारले चीनका १३ नाका सडक सञ्चालनको तयारी गरेको छ । चीनसँग रणनीतिक महङ्खवका १३ वटा नाका सडक निर्माण कार्य जारी छ । तातोपानी, केरुङ र कोराला नाकासम्म ट्रयाक खुले पनि दशवटा नाकामा निर्माण काम भैरहेको छ । चीनसँग अहिले एउटा मात्र केरुङ–रसुवागढी नाका खुला छ । भूकम्पपछि बन्द तातोपानी नाका बन्द भएपछि चीनबाट आयात हुने सबै सामान केरुङ नाकाबाटै आइरहेका छन् । मुस्ताङको कोरला नाकासम्म सवारी पुगे पनि दुई देशबीच नाका सञ्चालनमा ल्याउने विषयमा सहमति नहुँदा प्रयोगमा आइसकेको छैन । चीनसँग जोडिएका तातोपानी, केरुङ, कोरला, किमाथांका, हिल्सा र टिंकर नाका व्यापारिक दृष्टिकोणले छोटो नाका मानिन्छ ।
भौगोलिक हिसावले अति विकट, धेरै स्थानमा हिमाल कडा चट्टान, हिमतालले चीनसँग हाम्रो सीमा बनेको छ । तर पनि सीमाका ती जिल्लाका मानिसहरुले हिउ नपर्ने महिनामा पैदल मार्गबाट तिब्बतसँग आफ्नो ब्यापारिक कारोवार गर्दै आएका छन् । दार्चुला जिल्ला चीन र भारतसँग सीमा जोडिएको जिल्ला हो । दार्चुला जिल्लाका मानिसहरुले चीनसँग व्यापार गर्ने प्रमुख नाकाको रुपमा व्यास क्षेत्र हो । व्यासबाट चीनको तिब्वत क्षेत्रमा आवतजावत गर्दा लाभञ्ज्याङ पार गरी जानुपर्ने हुन्छ । भञ्ज्याङलाई तिब्बती भाषामा ला भनिन्छ । त्यसैगरी बझाङ जिल्लाका मानिसहरुले अपि वेसक्याम्पको सीमाबाट पहिलेदेखि नै स्थानीयहरुले ब्यापार गर्दै आएका छन । उपल्लो डोल्पामा साल्दाङ, मिजेर, तिन्जे, मुकोट, छार्का र धो समुन्द्रको सतहबाट करिब ५ हजार मिटरको उचाइमा रहेका गाउँ हुन् । छार्का गाउँ विश्वकै अग्लो स्थानको मानव बस्ती मानिएको छ । यी गाउँका मानिसहरुले पनि हिउ नपर्ने महिनामा तिब्बतसँग ब्यापार गर्दै आएका छन् । गोरखा जिल्लाको लार्के नाकाबाट समेत पाँच दशक अगाडिसम्म नुनको ब्यापार गर्दै आएका थिए ।

तब्बती व्यापारीले नेपालीलाई बिक्री गरेका सामान सिङमाग्याजेसम्म आफैले ढुवानी गरिदिन्छन् । नेपालीका लागि आवश्यक चामल, नुन, तेललगायत उपभोग्य वस्तु रिउ बजारबाटै ल्याइन्छ । सीमा क्षेत्रको तीन गाउँमा तिब्बती सामान प्रयोग गरिन्छ । सदरमुकाम फुङलिङबाट सीमा पुग्न ९५ किलोमीटर पार गर्नुपर्छ । चीनसँगको तिप्लापास नाकामा सडक पु¥याउन ताप्लेजुङ–ओखलढुंगा सडक निर्माण भइरहेको छ । ९५ किलोमिटर लामो उक्त सडकमा ३५ किलोमीटर ट्रयाक खुलेको छ भने ६० किलोमिटर खण्ड निर्माणाधीन छ ।

हिमाली जिल्लामध्ये क्षेत्रफलको आधारमा सबैभन्दा सानो जिल्ला रसुवा हो । रसुवाको उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्वतसँग सीमा छ । नेपाल–चीन सीमाना रसुवागढी डेढ शताव्दी पुरानो ऐतिहासिक धरोहर हो । यो नाका नेपाली इतिहासको साक्षी पनि मानिन्छ । बहादुर शाह र जंगबहादुर राणाको पालामा तिब्बतसँग भएको लडाईमा यही गढीबाट नेपाली पूर्खाहरुले लडेर तिब्बतसँग युद्ध जितेका थिए । रसुवागढी प्राचीनकालमा नेपाल र भोटबीच चल्ने व्यापारको प्रमुख नाका थियो । अंशुबर्माको शासन कालका बेला उनकी छोरी भृकुटी यही नाका हुँदै घर माइती गर्ने गरेकी थिइन । मल्ल कालमा पनि रसुवागढी नाकाबाट तिब्बतसँग ब्यापार हुने गरेकाले यो मुख्य परम्परागत ऐतिहासिक ब्यापारिक नाका हो । मध्यकालको उत्तराद्र्धसम्म पनि यो ठाउँ प्रमुख ब्यापारिक मार्ग र केन्द्रको रुपमा परिचित रहेको थियो । चीनसँगको लडाईका बेला नेपाली लडाकुले आफ्नो सुरक्षाका लागि रसुवागढी बनाएका हुन् । रसुवागढीमा ठूला–ठूला ढुंगा कुदेर बनाइएको अग्लो पर्खाल लगाइएको छ ।
अहिले केरुङ नाका खुलेको छ । काठमाडौँदेखि केरुङसम्मको १७४ किमि बाटो करिब सबै ठाउँमा सिंगल लेनको सडक छ । रसुवा जिल्लाको भूगोलमा पर्ने अधिकांश सडक वर्षामा पहिरोको जोखिम छ । उता चीनको केरुङको भूगोलमा अब करिब तीन महिना हिउँ परेर बाटो अवरुद्ध हुन्छ । काठमाडौँ केरुङ हुँदै चीनको सिगात्सेसम्मको दूरी तातोपानी नाकाको तुलनामा ११२ किलोमिटर टाढा पर्दछ । अर्थात् काठमाडौँ–केरुङ–सिगात्सेसम्मको दुरी ७१० किलोमिटर छ भने काठमाडौँ–तातोपानी–सिगात्सेको दुरी ११२ किलोमिटर कम अर्थात् ५९८ किलोमिटर मात्रै रहेको छ । भौतिक पूर्वाधारका हिसावले बर्षौदेखि सञ्चालनमा रहेको तातोपानी नाकामा सबै पूर्वाधारहरु रहेको छ । बिजुली, टेलिफोन, इन्टरनेट, बैंक तथा होटललगायतको बजार व्यवस्था तातोपानी नाकामा दुबै मुलुकका सीमा क्षेत्रहरुमा रहेको छ । तर केरुङ नाकामा दुबै देशका सीमा क्षेत्रहरुमा ती सबै सुविधा छैन ।
अहिले चीनले सिल्करोडको अवधारणामा नेपालको केरुङ नाकालाई राखेको छ । जसका कारण पूर्वाधारहरु केरुङतिरै विकास होस् भन्ने पक्षमा छ । अर्को उसको तिब्बती मामला हो । राजधानीबाट १ सय १४ किलोमिटर टाढा रहेको तातोपानी नाकाबाट सबैभन्दा बढी तयारी कपडा आयात हुने गरेको थियो । खाद्य वस्तुमा स्याउ, लसुन, प्याज र अदुवा भित्रिन्थ्यो । यो नाकाबाट खाद्यान्न भने आउँदैन । सीमा क्षेत्रका तिब्बतीहरु नै नेपालबाट खाद्यान्न लगेर गुजारा चलाउने गर्दथिए । यहाँबाट पेट्रोलियम पदार्थ र अन्य व्यापारिक सामान ल्याउन सकिने भौगोलिक अवस्था छ । प्रशासनिक प्रक्रिया पूरा गर्दा चीनका विभिन्न सहरबाट व्यापारिक सामान नेपाल भित्रिन १५ देखि २५ दिन लाग्ने गर्दछ । यो नाका तिब्बतसँग जोडिएको भए पनि उपभोग्य वस्तुहरु भने धेरैजसो चीनको ठूला सहरबाट आउने गर्दछ । सीमा क्षेत्र खासादेखि नेलाम, सिगात्से हुँदै तिब्बतको राजधानी ल्हासासम्मको भू–भागमा खाद्यवस्तु उत्पादन कम हुने गर्दछ । चीनको सिचुआन प्रदेशको छिन्दुमा खाद्यान्न उत्पादन हुनेगर्छ । तिब्बतको सान्थुङबाट भने नेपालमा बर्षेनी ठूलो परिमाणमा स्याउ भित्रिने गरेको छ । छिन्दु बजार पुग्न ल्हासा पार गर्नुपर्छ । यो नाकाबाट बर्षेनी २० अर्ब बराबरको वस्तु आयात हुने गरेको छ । त्यसमध्ये झन्डै २५ प्रतिशत तयारी कपडा पर्दछ । सामान साटासाटको माध्यमबाट झण्डै चार दशकअघि तातोपानी नाकाबाट सुरु भएको चीनसँगको व्यापार अहिले बैंकिङ प्रणालीमा आधारित छ । खासाबाट नेलाम, सिगात्से हुँदै तिब्बतको राजधानी ल्हासा पुग्न सडक मार्गबाट झन्डै दुईदिन यात्रा गर्नुपर्छ । मितेरी पुलबाट खासा दश किलोमीटर छ ।

तातोपानीभन्दा नजिकको अर्को नाका हो तिब्बतको टिङकी जुन नाका दोलखा जिल्लाको सीमामा पर्दछ । तातोपानी नाकाभन्दा दोलखा जिल्लाको तिब्बतको टिङकी अर्थात् लामाबगर नाका ७१ किलोमिटर नजिक छ । यो नाका पनि ऐतिहासिक हो । तातोपानी नाका खुल्नुभन्दा अगाडि यो नाकाबाट काठमाडौँसँग ब्यापारी कारोबारसमेत हुने गरेको थियो । भूगोलको दृष्टिले पनि हाल सञ्चालनमा रहेका केरुङ र तातोपानीभन्दा यो नाकाको सडक सुरक्षित देखिन्छ । अहिले पनि दोलखाका लप्चीबासी तिब्बतको फलेक भन्ने स्थानको बजारमा निर्भर छन् । लप्ची र फलेक नाकाका बजार हुन् । अहिले लामाबगरमा छोटी भन्सार पनि छ । लामाबगरमा सीमा प्रशासन, भन्सार, प्रहरीको संरचना छ । अहिले तिब्वततिरको भूगोलमा भीर पहरा जंगल छ । त्यहाँबाट तिब्बतका स्थानीयहरुले सीमासम्म सडकको ट्रयाक खोलिसकेका छन् ।
तिब्बतको फलेकदेखि नेपालको लामाबगर जोड्न करिब ३० किलोमीटर सडक बनाउनुपर्छ । लामाबगर पुग्न सिंगटीसम्म २९ किलोमीटर डबल लेनको ग्राभलिङ सडक सञ्चालनमा छ । सिंगटी–तामाकोसी १५ किलोमीटर ट्रयाक खोल्न बाँकी छ । तामाकोसी बजारबाट सिन्धुलीसम्म ५५ किलोमीटर कालोपत्रे सडक छ । अब करिब ३० किलोमीटर सडक विस्तार गर्नसके नाका जोडिन सक्छ । हाल लामाबगरदेखि दोलखाको सदरमुकाम चरिकोटसम्म ६८ किलोमीटर सडक निर्माण भइसकेको छ । चरिकोटबाट अरनिको राजमार्ग हुँदै काठमाडौँसम्म १ सय ३३ किलोमीटर कालोपत्रे सडकमा यातायात चालु छ । लामाबगर नाकाबाट तिब्बत जोड्न सरकारले यसवर्ष ९ सय मिटर सुरुङमार्ग निर्माण गर्ने भएको छ । गोरखा जिल्लामा दुई नाका धेरै बर्ष अगाडिदेखि सञ्चालनमा छ । सामागाउँ र छेकम्पार दुई स्थानमा रहेको नाका ५ हजारभन्दा बढी उचाइमा रहेको छ । हिउँ परेको समयमा मानिसहरुको आगमन बन्द हुन्छ । तर नाका खुलेपछि सर्वसाधारण एकै पटक हिउँद भरिलाई पुग्ने सामग्री लिन पैदल चौरी झुपाको साथमा तिब्बत जाने प्रचलन छ । सदरमुकाम गोरखाबाट आरुघाटसम्म सडक विस्तार भए पनि नाका पुग्न सात दिनको पैदल यात्रा गर्नुपर्छ । सामागाउँ नाका मनाङतर्फ पर्छ भने छेकम्पार नाका धादिङ र रसुवा तर्फको सीमानामा पर्दछ । अहिले नाका पुग्न बेनीघाट–लार्केभञ्ज्याङ एक सय ६२ किलोमीटर सडकमा ५८ किलोमीटरमा ट्रयाक खुलेको छ । अहिले ती नाकाबाट ल्याएको सामान गोरखा जिल्लाका हिमालपारीका गाउँले मात्रै उपभोग गर्दै आएका छन् । हिमालपारीको बिकट भूगोलमा रहेका ति गाउँमा करिब एक हजार दुई सय घरधुरी छन् । नेपाल हुँदै चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दूरीको प्रस्तावित मार्ग भएको नाका हो संखुवासभा जिल्लाको किमाथांका । नेपालमा उत्पादित वस्तु किमाथांका लैजान सात दिनभन्दा बढी समय लाग्छ । यहाँका बासिन्दा तिब्बतका देन्दाङ र चाँगा बजारबाट खानेकुरा ल्याउँछन् । देन्दाङ र चाँगाबाट ल्याएका सामान किमाथांका र चेपुवामा बिक्रीका लागि समेत राखिन्छ । यी गाउँबाट नजिक रहेका मकालु, पावाखोला, हटियाका स्थानीयले समेत चिनियाँ सामाग्रीकै प्रयोग गर्छन् । चीनतर्फ भने सीमावर्ती गाउँ चाँगासम्म सडक निर्माण भइसकेको छ । त्यहाँसम्म फराकिलो ग्राभेल सडक, केन्द्रीय प्रसारण लाइनको बिजुली पनि छ । किमाथांका नाकाबाट सदरमुकाम खाँदबारी जोडने सडक निर्माणको काम थालनी भएको छ । चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्ग मानिएको ३ सय ७६ किलोमीटरको कोसी राजमार्ग खाँदबारी र किमाथांका दुबैतर्फबाट सडक खन्ने काम सुरु गरिएको छ । मुस्ताङ र चीन जोड्ने कोराला आवागमनको व्यवस्थित नाका हो । मुस्ताङको उपल्लो भेग लोमन्थाङ क्षेत्रको १४ हजार फिट उचाईमा अवस्थित कोरला पास विशाल मैदानी फाँटको बीचमा रहेको छ । दुबै देशको सजिलो र खुल्ला पठार क्षेत्रमा अवस्थित कोरलाबाट तिब्बतको दक्षिणपट्टि सबैभन्दा नजिकको सहर सागा ३० किलोमीटर मात्र टाढा छ । पोखराबाट कोरलासम्म दुई सय ७० र मुस्ताङ सदरमुकाम जोमसोमदेखि कोरलासम्म जम्मा १ सय १३ किलोमीटर कच्ची सडकले जोडिएको छ । लोमान्थाङका बासिन्दाले अहिले त्यहाँ चल्ने सवारी साधनका लागि चाहिने पेट्रोल, डिजेल चीनबाटै ल्याउने गरेका छन् । लोमान्थाङवाट चीनको ढोङवा बजारको दूरी करिब एक सय पचास किलोमीटरमा रहेको छ । ढोङवा बजारबाट कोरला नाकासम्मको सडक निकै समथर चौडा बाटो भएकोले ढुवानीका लागि समस्या छैन ।
नेपालतर्फ पनि अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकिने फराकिलो भूमि छ । मुस्ताङ समथर भू–भाग र स्याडो रेनजोन पनि भएकोले बाढी पहिरोले बाटो अवरुद्ध हुने समस्या पनि छैन । ढोङवा बजारबाट लासा र माउण्ट कैलाशसम्म छ लेनको चाक्लो सडक भएकोले पनि अन्य बजारबाट आवश्यक सामाग्री ल्याउने विकल्प पनि खुला रहन्छ । उपल्लो मुस्ताङमा हिउँदमा हिउँ पर्ने र तल्लो म्याग्दी क्षेत्रमा बर्षामा बाढी पहिरोले सडक अवरुद्ध पार्ने यो रुटका समस्या हुन् । कोरला नाका पोखरा–बेनी–जोमसोम–लोमन्थाङ–कोरला सडक उत्तरको तिब्बत र दक्षिणको सुनौली जोड्ने सबैभन्दा नजिकको नाका हो । केरलाबाट मानसरोवर तीर्थस्थलसमेत सबैभन्दा नजिकमा पर्छ । सडकको पहुँच नपुगेको र ढुवानीको माध्यम चौंरी मात्रै भएकाले ताप्लेजुङ जिल्लाको ओलाङचुङगोला नाकाबाट तत्कालै ठूलो राहत पुग्ने अवस्था छैन । तिब्बतले नेपाली सीमाना टिप्ताला भञ्ज्याङ नजिकैको आफ्नो भू–भाग सिङमाग्याजेसम्मै ग्राभिलिङ सडक विस्तार गरेको छ । सिङमाग्याजेबाट मुख्य व्यापारिक केन्द्र रिउ बजार गाडीमा दुई घण्टामा पुगिन्छ । तिब्बती व्यापारीले नेपालीलाई बिक्री गरेका सामान सिङमाग्याजेसम्म आफैले ढुवानी गरिदिन्छन् । नेपालीका लागि आवश्यक चामल, नुन, तेललगायत उपभोग्य वस्तु रिउ बजारबाटै ल्याइन्छ । सीमा क्षेत्रको तीन गाउँमा तिब्बती सामान प्रयोग गरिन्छ । सदरमुकाम फुङलिङबाट सीमा पुग्न ९५ किलोमीटर पार गर्नुपर्छ । चीनसँगको तिप्लापास नाकामा सडक पु¥याउन ताप्लेजुङ–ओखलढुंगा सडक निर्माण भइरहेको छ । ९५ किलोमिटर लामो उक्त सडकमा ३५ किलोमीटर ट्रयाक खुलेको छ भने ६० किलोमिटर खण्ड निर्माणाधीन छ । सोलुखुम्बुसँग जोडिएको चीनको नाङपाला चार वर्षदेखि बन्द छ । यो खुलाउन सके नाङपालादेखि खाद्यान्न, लत्ता कपडा, पेट्रोलियम पदार्थलगायत सामग्री ल्याउन सकिन्छ । सडक भने बनेको छैन । तर, नाम्चेदेखि नाङपालाको याक र चौंरीमार्फत भारी बोकाएर सामान ल्याउन सकिन्छ । नाका बन्द भए पनि नाङपालाभन्दा केही पर तिब्बतकै थिंग्रीसम्म अझै चौंरीखर्क, नाम्चे र खुम्जुङका बासिन्दाले जान पाउने व्यवस्था छ । यो नाका खोल्न सकेमा चीनबाट सिमेन्ट, रड लगायत पूर्वाधार निर्माणका सामाग्रीसँगै दैनिक उपभोग्य सामाग्री, ल्याउन सकिने छ । हुम्लाको हिल्सा यारी नाकाको तिब्बततर्फको भागमा कालोपत्रे सडक छ । नेपालतर्फ भने सदरमुकाम सिमकोट जोड्ने ९० किलोमिटर सडक निर्माण पूरा भएको छ । सीमाको तिब्बतर्फको भाग शेराबाट करिब ३० किलोमीटर टाढा तिन्चु भन्ने मैदानमा व्यवस्थित बजार छ । अहिले पनि नेपालीहरु त्यहीबाट चिनियाँ सामान ल्याउने गर्छन् । नेपालतर्फको सडक अर्थात् हुम्लाको सदरमुकाम सिमिकोट हँुदै राष्ट्रिय सडक सञ्जालसँग निर्माणाधिन सडक जोड्ने हो भने चीनबाट सहज रुपमा पेट्रोलियम पदार्थ तथा खाद्यसामाग्री ल्याउन सक्ने अवस्था छ । मुगु गमगढीदेखि तिब्बतको व्यापारी केन्द्र हयाजिमारसम्म ८४ किलोमीटरको दूरी छ । अहिलेसम्म गमगढीदेखि रोवाको कम्फासम्म १४ किलोमीटर मात्र कच्ची सडक बनाइएको छ । प्रत्येक बर्ष साउनको तेस्रो सातदेखि तिब्बतको ह्याजीमारामा दुई हप्तासम्म लाग्ने हाटमा मुगुबासी पुगी यार्सा तथा जडिबुटी बेचेर त्यहाँबाट बर्षभरी पुग्ने खाद्यान्न, लत्ता कपडा र अन्य सामानहरु ल्याउने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *