तुलसीपुर, २२ पुस । राप्ती शान्ति उद्यानलाई पर्यटकीयस्थलको रूपमा चिनाउनु पर्ने यहाँका नागरिकहरूले बताएका छन् । भ्रमण वर्ष २०२० सँगै दाङको पर्यटन प्रवद्र्धनमा यस उद्यानले महत्वपूर्ण योगदान पु¥याउने भन्दै सबैले यसको चिनारीको लागि भूमिका खेल्नुपर्ने बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ गणेशपुरमा रहेको राप्ती शान्ति उद्यान (गणेशपुर पार्क)लाई पर्यटकीय स्थलको रूपमा चिनाउनुपर्ने तुलसीपुर क्षेत्रका स्थानीबासीहरूको भनाइ छ ।
व्यवस्थित ढङ्गले पार्कको संरचना निर्माण गर्नसके यस उद्यानलाई आन्तरिक तथा बाह्य पर्यटकहरूको गन्तव्य स्थलका रूपमा स्थापित गराउन सकिने उनीहरू बताउँछन् । भएका सबै स्थानहरूलाई भन्दा निश्चित स्थानहरूलाई छनोट गरी संरक्षण, प्रवद्र्धन, विकास गर्न नागरिक, स्थानीय सरकार, प्रशासनलगायत सम्बन्धित सरोकारवाहरू सक्रिय भएर लाग्नुपर्ने बताए ।
उद्यानलाई सामाजिक, साँस्कृतिक र प्राकृतिक रूपले व्यवस्थापन गर्नसके तुलसीपुर घुम्न आउने पर्यटकहरूको लागि रोजाईको उद्यान बन्न सक्ने तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ निवासी प्रमिला चौधरीको भनाइ छ ।
उनले जातिय विविधतालाई ध्यानमा राख्दै भए गरेका संरचनाको सरक्षण र नयाँ संरचनाको निर्माण गर्नसके पर्यटकहरू गुणात्मक रूपमा भित्रिने बताइन् । ‘पहिलेको भन्दा प्रगति भएको छ, तर जति हुनुपर्ने हो त्यति भएको छैन, उनले भनिन्– समयमै यस पार्कको स्तरोन्नति गर्न सकियो भने अझ राम्रो हुनेथियो ।’
यस्तै आफू पहिलो पटक पार्क घुम्न आएको बताउने शान्ति गुरूङले सरसफाईलाई विशेष प्राथमिकतामा राख्न आवश्यक रहेको बताईन् । पार्क वरपर फोहर र दुर्गन्ध बढ्दै गए घुम्न आउने व्यक्तिहरूले नराम्रो सन्देश लैजाने भएकाले सरसफाईमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
‘आउन त म यहाँ पहिलो पटक आएकी छु’ उनले भनिन्– ‘यसो हेर्दा वनभोज खाने ठाउँ, पानी भर्ने ठाउँ, चिडियाघर फोहर देखेर अलि नमज्जा लाग्यो, यसलाई सम्बन्धित निकायले ख्याल गर्नुपर्छ ।’
शिक्षक पूर्ण पुनले सर्वप्रथम प्रचारप्रसारलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताउँछन् । उनले तुलसीपुर क्षेत्रभित्र विभिन्न किसिमका जातजातिहरू बसोवास गर्ने भएको भन्दै जातिय सङ्ग्राहलयको स्थापना गर्न सकेमा पर्यटक बढ्नेसमेत बताए ।
हरेक ठाउँको आ–आफ्नै पहिचान, विशेषता र मौलिकता हुने भन्दै स्थानीय मौलिकता झल्कने खालका कृत्रिम तथा प्राकृतिक संरचनाहरूको निर्माण गर्न अत्यावश्यक रहेको औंल्याए ।
‘हामी कतै गयौँ भने त्यहाँको मौलिकतालाई विशेष प्रथामिकता दिन्छौँ’ उनले भने –‘यहाँ पनि यस्तै संग्राहलय, स्थानीय परिकारहरू राख्ने हो हेर्न, बुझ्न र जान्न पनि यहाँ पर्यटकहरू आउने गर्छन्, यसरी पनि पर्यटक भित्र्याउन सकिन्छ ।’ निर्माण गरिएका भौतिक संरचना तथा पूर्वाधारहरूलाई व्यवस्थित गर्नसके, यातायात सहजता भएका उद्यानको स्तरोन्नति हुनसक्ने उनले बताए ।
समय–समयमा विभिन्न समुदायको पहिचान झल्कने किसिमका परिकार, पोशाक, कृत्रिम तथा प्राकृतिक सामाग्रीहरूलाई प्रदर्शन गर्न सकिने तरिकाले स्टलहरू सञ्चालन गर्नसके यस क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनमा थप सहयोग हुने नेवार समाज तुलसीपुरका अध्यक्ष नरेशराज भण्डारीले बताए । क्षेत्री, बाहुन, थारू, नेवार,
मगर र गुरूङ समुदाय लगायतका अन्य जातिहरूको संग्राहलय स्थापना गर्नसके यसले थप पर्यटकहरू भित्र्याउने तर्क आन्तरिक पर्यटकहरूको छ । विगत लामो समयदेखि वनभोज स्थलका रूपमा प्रयोग हँुदै आएको उक्त उद्यान पछिल्लो समय व्यवस्थित बन्दै गएको छ । यही वर्ष घुम्न जाउँ तुलसीपुर अभियानसमेत सुरू भएको छ ।