चिउरीका बिरुवा वितरण

मुख्य खबर समाज

तुलसीपुर, १ साउन । तुलसीपुर उपमहानगरपालिकाका सामुदायिक वनहरुलाई लक्षित गरेर मंगलबारदेखि चिउरीका बिरुवा वितरण सुरु गरिएको छ । उपमहानगरले सुरु गरेको सुन्दर र हरियाली तुलसीपुर अभियान अन्तर्गत चिउरीका बिरुवा वितरण सुरु गरिएको हो । नगरप्रमुख घनश्याम पाण्डेले सामुदायिक वन उपभोक्ता महासंघ तुलसीपुर नगर समितिका उपाध्यक्ष खेमलाल महतरालाई बिरुवा हस्तान्तरण गरेका हुन् ।
सामुदायिक वन, निजी तथा पारिवारिक वन र अन्य ब्यक्तिगत नर्सरीहरुलाई समेत निःशुल्क रुपमा बिरुवा वितरण गरिने प्राकृतिक श्रोत संरक्षण केन्द्र नेपाल दाङका अध्यक्ष भीमबहादुर खत्रीले बताए । यहाँका माहुरी ब्यवसायीहरुसँग समन्वय गरेर सामुदायिक वनहरुमा पाँच हजार चिउरीका बिरुवा रोप्ने कार्यक्रम रहेको उनले बताए । चिउरी बहुउपयोगी बिरुवा भएकाले यसबाट सामुदायिक वनहरुले धेरै फाइदा लिन सक्ने प्रमुख पाण्डेले बताए ।
उक्त अवसरमा वन विज्ञ लिला पौडेल, उपमहानगरका वातावरण शाखा अधिकृत टोपबहादुर डाँगीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा दिगो विकासका लागि प्राकृतिक श्रोत संरक्षण केन्द्र नेपाल दाङका सचिव नारायण भण्डारीले चिउरीका बिरुवा निःशुल्क वितरण गरिने र संरक्षणमा उत्कृष्ट हुने सामुदायिक बनलाई सम्मान गरिने जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *