तुलसीपुर, २९ मंसिर । दाङको भालुवाङ चन्द्रौटा सडकखण्डको कालाकाटेमा रहेको चन्द्रसूर्य होटेल र भालुवाङ होटेल ब्यवसायी समितिले होटलको खानामा गुणस्तर सुधार गर्ने प्रतिवद्धता जनाएका छन् । प्रदेश टुडे राष्ट्रिय दैनिकले ‘चन्द्रसूर्यमा गुणस्तरहीन खाना’ शीर्षकको समाचार मंसिर २१ गते प्रकाशन गरेको थियो । त्यो समाचारप्रति समाचारमा ध्यानाकर्षण भएको भन्दै पत्रिकालाई पत्र लेखी खाना सुधार गर्ने प्रतिवद्धता जनाइएको हो । चन्द्रसूर्य होटेल सञ्चालन धनीश्वर सुवेदी र भालुवाङ होटेल ब्यवसायी समितिका अध्यक्ष महेश बेल्वासे छुट्टाछुट्टै पत्र लेखेर यस्तो प्रतिवद्धता जनाएका हुन् ।
समाचारमा भएका केही कुराहरुमा हाम्रो ध्यानाकर्षण भएको छ, पत्रमा भनिएको छ, केही गल्ती हामीबाट भएको छ, त्यो गल्तीलाई दोहरिन दिने छैनौँ, अब भएका गल्तीलाई सुधार गरेर लैजान्छौ । ‘केही कमीकमजोरी भएको भनि यात्रुहरुले गुनासो मात्र गर्नुभएकोमा त्यसलाई ठूलो विषय बनाई बढाइ चढाइ गरी समाचारमा उल्लेख गरिएको बुझेका छौँ’, पत्रमा भनिएको छ, खानामा आगामी दिनहरुमा सुधार गर्ने प्रतिवद्धता ब्यक्त गर्दछौँ ।
