घोराही १४ मा सहरी स्वास्थ्य केन्द्र

मुख्य खबर

घोराही, ६ भदौ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ को नयाँ बजारमा सहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । घोराही उपमहानगरपालिकाले वडा नम्बर १४ का नागरिकहरुलाई आधारभूत स्वास्थ्य सेवा दिने गरी स्वास्थ्य चौकी सरहको सहरी स्वास्थ्य केन्द्र स्थापना गरेको हो । केन्द्रको नगर प्रमुख नरुलाल चौधरीले मंगलबार रिबन काटेर उद्घाटन गरेका हुन् । उक्त केन्द्रबाट ४२ प्रकारका औषधीसहित उपचार र परामर्श निःशुल्क प्रदान गरिने केन्द्रका इन्चार्ज राममणि शर्माले जानकारी दिए । साथै केन्द्रबाट सामान्य उपचार, परिवार नियोजन सेवा, खोप सेवा, गर्भवती जाँच, घाउ चोटपटकको उपचार र स्वास्थ्य परामर्श दिईने उनले बताए । वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र उपप्रमुख सीता सिग्देल न्यौपानेको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले स्वास्थ्यलाई सम्पत्तीका रुपमा बुझ्नु पर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले सकभर औषधी खानै नपर्ने अवस्थाको सृजना गर्न आवश्यक रहेको बताए । नगर प्रमुख चौधरीले रोग लाग्नै नदिनु बुद्धिमानी हुने भन्दै खानपान, सरसफाई, शारीरिक अभ्यास, योगामा ध्यान दिदा स्वस्थ जीवन जिउन सकिने धारणा व्यक्त गरे । घोराही उपमहानगरपालिकाले नगरबासीलाई आधारभूत सेवा सुविधामा सहज पहुँच स्थापित गर्न प्रयासरत रहेकोसमेत जानकारी दिए । सडक सुधार, स्वास्थ्य, खानेपानी, शिक्षा, सिचाई र दैनिक सेवा प्रवाहलाई चुस्त बनाउँदै नागरिकहरुको सहज पहुँच गराएरै छाड्ने प्रतिबद्धता जनाए । वडा सदस्य लछुमन बुढामगरको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केशवराज पण्डित, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, नगर स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती, सृजनशील टोल विकास संस्थाका अध्यक्ष यामप्रसाद खरेललगायले सहरी स्वास्थ्य केन्द्रलाई साझा सम्पत्तीका रुपमा संरक्षण र सदुपयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रमको सहजीकरण दिलमाया बुढामगरले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *