घोराही उपमहानगरपालिको सुझाव संकलन

फिचर मुख्य खबर राजनीति समाज

घोराही, ५ असार  ।
‘केन्द्रीय सरकारले दाङमा विकासको लागि अपेक्षा अनुसारको वजेट विनियोजन गर्न सकेन, अब दाङको विकासको लागि स्थानीय सरकारले नै कसिनुपर्छ’ घोराही उपमहानगरपालिकाले आयोजना गरेको घोराही उप–महानगरपालिकाको आर्थिक वर्ष ०७५÷०७३ को लागि नीति कार्यक्रम तथा बजेट तर्जुमाका लागि सुझाव संकलन कार्यक्रममा दाङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रामदयाल गुप्ताले दिएको सुझाव हो यो । स्थानीयले हुन्छ कि प्रदेश सरकारले हुन्छ विकास निर्माणमा बजेट छुट्याउन कन्जुस्याई नगर्न उनले सुझाव दिए । घोराही उपमहानगरपालिकालाई स्मार्ट सिटी बनाउने योजना छ, त्यो अनुसारको दीर्घकालिन योजना बनाएर अघि बढ्न सुझाव दिए ।
कुनै पनि व्यवसाय वा घरको कर तिर्नको लागि आफूले गर्भ महसुस गर्ने खालको करको दायरा गराउनुपर्ने उनको सुझाव थियो । ज्येष्ठ नागरिक दाङका अध्यक्ष भूपाल गिरीले ज्येष्ठ नागरिकहरुलाई घरमै लगेर ज्येष्ठ जागरिक भत्ता वितरण गर्न सुझाव दिए । ‘हामी ज्येष्ठ नागरिकहरु वडामा तथा बैंकमा भत्ता लिन जान सक्दैनौँ’ गिरीले घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीलाई सुझाव दिदै भने ‘वडा अध्यक्ष, सदस्य जो हुनु हुन्छ, घरमै बृद्ध भत्ता ल्याइदिने योजना बनाउनुस् ।’ बृद्धाश्रममा सघन उपचार कक्षको निर्माणको लागि समेत पहल गरेका थिए ।
नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले पछिल्लो समयमा गाउँमा रहेका मठ मन्दिरहरु अतिक्रमण हुँदै गएकाले त्यसको संरक्षणको लागि टोल विकास सस्थालाई नै जिम्मा दिन उनको सुझाव थियो । त्यसैगरी स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि पनि स्थानीय सरकारले प्राथमिकतामा राख्न उनले अनुरोध गरे ।
नेपाल शिक्षक संघ दाङका अध्यक्ष अमर खड्काले विद्यालयमा शिक्षक दरबन्दी र विद्यार्थी संख्याको व्यवथापन गर्न सुझाव दिए । ‘कुनै सामुदायिक विद्यालयमा अटाई नसक्नु विद्यार्थी छन्, कुनै विद्यालयमा विद्यार्थी नै छैनन्’ अध्यक्ष खड्काले सुझाव दिदै भने ‘यो विषयमा कसैको पनि ध्यान गएको छैन्, विशेष ध्यान दिनुपर्छ ।’ शिक्षकहरुलाई नयाँ प्रविधिसँग जोड्नको लागि तालिमको व्यवस्था गर्न उनको सुझाव थियो ।
जिल्ला सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद शर्माले घोराही उपमहानगरपालिकाले हरेक क्षेत्रमा सहकारीको व्यवस्था गर्न सुझाव दिए । स्थानीयस्तरमा उत्पादन भएका कृषिजन्य वस्तुको उत्पादनको एकरुपता मूल्यको लागि सहकारीलाई जिम्मा दिनुपर्ने नीति नियम बनाउन उनको सुझाव थियो । घोराही उप–महानगरपालिकाले आर्थिक वर्ष ०७५÷०७६ को लागि नीति कार्यक्रम तथा वजेट तर्जुमाका लागि सुझाव संकलन गरेको थियो । सुझाव संकलनका क्रममा कार्यक्रममा सहभागी सरोकारवालाहरुले घोराहीका वडा–वडालाई बस्तीसम्म जोड्ने योजना ल्याउने पर्ने, एकीकृत विकासको योजना, बस्ती विकास र बजार व्यवस्थापनको लागि घोराही उपमहानगरपालिकाले नीतिगत योजना बनाउनुपर्ने सुझाव दिएका थिए ।
त्यसैगरी सार्वजनिक खोजी तथा संरक्षण, पशुपंक्षीको हाटबजारको योजना, चिल्ड्रेन पार्कको निर्माण, घोराही बजारलाई व्यवस्थित र चलायमान, घरबहालको क्याटोगरी निर्धारण गरी करको व्यवस्था गर्नुपर्नेलगायतका सुझाव दिएका थिए । कार्यक्रममा सहभागी सरोकारवालाहरुले सामूदायिक वनको संरक्षण, भू–क्षय नियन्त्रणका लागि संरचना निर्माण, लैंगीक हिंसा तथा घरेलु हिंसामा परेकाहरुको लागि मनोपरामर्शको उप–महानगरपालिकाले मनोविमर्शकर्ता राख्नुपर्ने, दूरदर्शी चक्रपथ निर्माण, भू–उपयोग नीति, भू–वर्गीय नीति निर्माण गराउनु पर्ने व्यवस्थित बधशाला, नागरिक सुरक्षाको लागि नगर प्रहरीको व्यवस्था, प्लाष्टिक न्यूनीकरणमा वैकल्पीक झोलाको व्यवस्था नगरमा गरिनुपर्ने, सिसी क्यामराको व्यवस्था, सडक बालबालिकाको व्यवस्थापनका लागि बाल सुधारगृह, सुस्तमनस्थिति भएकाहरुको संरक्षणको लागि घोराही उपमहानगरपालिकाले तदारुकता देखाउनुपर्ने, स्वास्थ्य, वातावरण संरक्षण, पानी, औद्योगिक क्षेत्र निर्माणमा घोराही उपमहानगरपालिका स्पष्ट नीति बनाएर अगाडि बढ्न् सुझाव दिएका थिए ।
घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, पूर्व अध्यक्षहरु मधुसुदन वैद्य, माधव शर्मा, हेमराज वञ्जाडे, जिल्ला सहकारी संघका अन्जनकुमार पौडेल, व्यवसायी गुरुप्रसाद कडेल, विधुवा सरोकार मञ्चकी अध्यक्ष हुमा डिसी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनलगायतले सुझाव दिएका थिए । घोराही उपमहानगरपालिका प्रशासकीय अधिकृत चक्रपाणि पाण्डेले कार्यक्रमको बारेमा विषय प्रवेश गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *