घोराही, १७ असार । नेपाली कांग्रेस दाङले घोराहीमा भइरहेको गुणस्तरहीन पिचको विरोधमा विरोध जुलुस निकालेको छ । घोराहीको बजारका सडकमा भर्खरै मात्र गरिएको पिच गुणस्तरहीन भएको भन्दै विरोध जुलुस निकालेका थिए ।
सडकमा छर्री हालेर सडक दुर्घटनाको जोखिम बढाएको र गुणस्तरहीन पिच गर्ने काम घोराही उपमहानगरपालिकाबाट भएको भन्दै यसको चौतर्फी आलोचना हुन थालेपछि कांग्रेसको अगुवाईमा घोराहीमा विरोध जुलुस निकालिएको हो ।
नेपाली कांग्रेस दाङका सचिव शंकर प्रसाद डाँगीले घोराही उपमहानगरपालिकाको पिचले आफैमा गुणस्तरको प्रश्न उठाएको बताए । घोराहीको मुख्य बजारका सडकमा भएका पिचले उपमहानगरलाई गिज्याइरहेको वताए ।
उनले विकास निर्माणको अन्तिम समयमा आएर गरिने विकास खर्च र विकास निर्माणले मेयरको शालिनता, भद्रतामाथि प्रश्न चिन्ह खडा हुने काम भएको बताए ।
‘यो परिपाटि पहिलेदेखि नै थियो’ जुलसपछि परिणत भएको कोण सभामा उनले भने ‘स्थानीय सरकार आउँदा पनि उस्तै भयो, यसले पारदर्शीमाथि नै प्रश्न उठाउँछ ।’
‘सडक कालोपत्रेका नाममा बिच्छाईएको छर्रीका कारण उपमहानगरका काम गुणस्तरहीन छन भन्ने ज्वलन्त उदाहरण हामी माझ छ’ उनले भने ‘घोराहीका मेयर सापको शालीनता र भद्रता पनि उदाङ्गो भएको छ, सरकारी करको दुरुपयोग हुने अवस्थामा कांग्रेस चुप लागेर बस्दैन ।’
घोराही १५ का वडा अध्यक्ष रमेश पाण्डेले उपमहानगरको काम कारवाही पारदर्शी नभएको भन्दै सचेत गराएको बताए । प्रजातान्त्रिक मूल्यमान्यतामा नरहेको भन्दै उपमहानगरको कर्मचारीको मोहमा परेर मेयरका कामहरु भइरहेको बताए ।
यस्तो तरिकाले उपमहानगरको विकासमा सधै नै प्रश्न उठने, गुणस्तरमा शंका हुने उनले बताए । कोणसभामा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति भूपबहादुर डाँगी, नेविसंघ क्षेत्र नम्बर ३ का सभापति तिलक रावत, नेपाल महिला संघकी जानका केसीलगायतले दुई तिहाई सरकारको काम सन्तोषजनक नरहेको र जनतामा निराशा मात्रै रहेको बताएका थिए । केही दिन अघिमात्रै बैंक रोडका स्थानीयहरुले आफै सडकको छर्री उठाएर फालेका थिए ।
सडक कालोपत्रे गरेको केही दिनमा नै उम्किने र छर्रीमात्रै विच्छाएर गुणस्तरहीन काम गर्न खोजिएको कांग्रेसले आरोप लगाएको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर ३ को आयोजनामा निकालिएको विरोध जुलुसले घोराही बजारका विभिन्न भाग परिक्रमा गरी घोराहीको तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
पछिल्लो उपमहानगरको पिचको बारेमा सत्तारुढ दलका नेता, कार्यकर्ताहरुले पनि विरोध गर्दै आएका छन् । कोणसभामा सहभागीहरुले घोराही उपमहानगरको विकास निर्माणमा कामहरु एकपछि अर्को गर्दै गुणस्तरहीन देखिएको भन्दै पछिल्लो पटक घोराही बजारको पिचले उपमहानगरपालिकाको काम कारवाही जनताले थाहा पाउने गरी छताछुल्ल भएको पनि बताए ।
विरोध जुलुसमा कांग्रेस नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारण जनताहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव वद्री खड्काले गरेका थिए । विरोध जुलुसका क्रममा घोराहीका मेयर, उपमेयर विरुद्ध नाराबाजीसमेत कांग्रेस नेता, कार्यकर्ताहरुले गरेका थिए ।