तुुलसीपुर, १ असोज । राप्ती लाइफ केयर हस्पिटलले गत शनिबार र आइतबार भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अस्पतालमा उपचारका लागि ल्याएका सल्यानको दार्मा गाउँपालिका–६ का ४ वर्षिय बालक अर्जुन परियारको भारतमा लखनउमा मृत्यु भएपछि बालकका आफन्तले अस्पतालमा अराजक गतिविधि गरी अस्पतालप्रति भ्रामक सन्देश फैलाएको भन्दै अस्पतालले ध्यानाकर्षण भएको जनाएको हो ।
अस्पतालका प्रवक्ता जीवन भण्डारीले मंगलबार एक विज्ञप्ति जारी गरी बिरामीको मृत्यु हुनुमा भवितव्य भएको भन्दै अस्पतालकै कारण मृत्यु भएको भने नभएको उल्लेख गरिएको छ । विज्ञप्तिमा शोकाकुल परिवारप्रति समवेदनासमेत प्रकट गरिएको छ । साथै विज्ञप्तिमा घटनालाई संयमता अपनाई सहयोग गर्ने प्रहरी प्रशासनलगायत सबैमा धन्यवाद प्रकट गरिएको छ ।