गोरखा, डिभाईन र अमर टि–२० क्रिकेटको सेमिफाइनलमा

खेलकुद फिचर समाज

तुलसीपुर, २ फागुन । गोरखा मावि तुलसीपुर र डिभाईटन टेम्पल एकाडेमी तुलसीपुर स्वर्गिय राजकुमार श्रेष्ठ स्मृति टि–२० क्रिकेट प्रतियोगिता २०७५ को सेमिफाइनलमा प्रवेश गरेका छन् । रोटरी क्लव अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लव अफ तुलसीपुरको संयुक्त आयोजनामा दाङ तुलसीपुरको अरनिको मैदानमा जारी प्रतियोगितामा हिमाल एकाडेमी तुलसीपुरलाई ५ विकेटले पराजित गर्दै गोरखा माविले सेमिफाइनल यात्रा तय गरेको हो । हिमाल एकाडेमीले दिएको १ सय १९ रनको विजयी लक्ष्य १८ ओभरमा आफ्ना ५ विकेटको क्षतिमा भेटाएको थियो । खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने गोरखा माविका अच्युत थापा म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै बुधबार सम्पन्न क्वाटर फाइनल खेलमा राप्ती विद्यामन्दिर तुलसीपुरलाई ३ विकेटले पराजित गर्दै डिभाईन टेम्पल एकाडेमीले सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर व्याटिङ गर्न खेल मैदानमा उत्रिएको राप्ती विद्या मन्दिरले दिएको ३१ रनको झिनो विजयी लक्ष्य डिभाइनले १० दशमलव ४ ओभरमा आफ्ना ७ विकेटको क्षतिमा भेटाएको थियो । खेलमा पारस वली म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै राप्ती बाल एकाडेमीलाई ९९ रनको भारी अन्तरले पराजित गर्दै अमर बोर्डिङ स्कुलले सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर व्याटिङ रोजेको अमरले निर्धारित २० ओभरमा आफ्ना ३ विकेटको क्षतिमा १ सय ५५ रन स्कोर निकाल्न सफल भयो । जसमा अमरका सविन पौडेलले सर्वाधिक ६३ रनको योगदान दिए । उनी प्रतियोगिताकै हाफ सेन्चुरी बनाउने पहिलो खेलाडी बने । प्रतिउत्तरमा जवाफी व्याटिङ गरेको राप्ती बाल १५ दशमल ३ ओभरमा मात्र ५७ रन बनाउँदै अलआउट भयो । खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने अमरका सविन पौडेल म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताअन्तर्गत बिहीबार बिहान ८ बजे सेमिफाइनल यात्राका लागि हुने अन्तिम क्वाटर फाइनल खेलमा ज्ञानज्योती मावि तुलसीपुर र अरनिको मावि तुलसीपुरबीच हुने आयोजकले जानकारी दिएको छ । विद्यालयस्तरमा क्रिकेट खेलको पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा विजेता हुने टिमले नगद ३० हजार ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेता टिमले नगद २० हजार ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीमध्य बाट वेष्ट व्याट्सम्यान, वेष्ट बलर, वेष्ट फिल्डर, म्यान अफ सिरिज र राइजिङ प्लेयरलगायतका विद्यामा पुरस्कृत गरिने रोट्रयाक्ट क्लव अफ तुलसीपुरका अध्यक्ष रुपेश शर्माले जानकारी दिए । फागुन ४ गतेसम्म हुने प्रतियोगितामा तुलसीपुर क्षेत्रका १२ विद्यालयको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *