गोठीखोलामा अस्थायी प्रहरी चौकी

फिचर मुख्य खबर

तुलसीपुर, ३१ असार । सुरक्षा व्यवस्थालाई मध्यनजर गरेर तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ गोठीखोलामा अस्थायी प्रहरी चौकी उद्घाटन गरिएको छ ।
पाँचकोठे पक्की भवनको नगरप्रमुख घनश्याम पाण्डे र जिल्ला प्रहरी प्रमुख एसपि वेलबहादुर पाण्डेले उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै नगरप्रमुख पाण्डेले बदलिदो संरचना अनुसार स्थानीय तहका सवै ठाउँमा प्रहरी चौकी स्थापना गर्न लागिएको बताए ।
उनले उपमहानगरका १९ वटै वडामा स्थायी प्रहरी चौकी स्थापनालाई आफूले निरन्तरता दिएको बताए ।
मुलुकमा राजनीति संघीयता आएपनि वित्तीय र प्रशासनिक संरचनामा संघीयता आउन नसकेको बताए । समाजमा अपराध नियन्त्रणका लागि तीनवटा कुरामा ध्यान दिन आवश्यक रहेको उनको भनाई थियो ।
नगरप्रमुख पाण्डेले नागरिक सचेत भए, अपराध नियन्त्रण गर्ने निकाय सक्रिय भए र घटनापछि राजनीतिक दबाव आउन बन्द भए अपराध नियन्त्रणमा कुनै पनि समस्या नहुने बताए ।
कार्यक्रममा बोल्दै प्रहरी प्रमुख वेलबहादुर पाण्डेले शान्ति, सुरक्षा कायम गर्नका लागि घरबाटै सबैले पहल गर्नुपर्ने बताए । ‘आफ्ना सन्तानले के गरिरहेका छन् ? भन्ने बारेमा चनाखो भएर सोच्नुपर्ने हुन्छ’ उनले भने ।
नागरिकको सहयोग पाएमा समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरीलाई सजिलो हुने उनको भनाई थियो । प्रहरीका बारेमा विभिन्न भ्रम जनतामा माझमा बेलाबखत छरिने गरेको बताउँदै प्रहरीले सधै जनताको पक्षमा काम गर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला अध्यक्ष कीर्तिबहादुर खड्काले पछिल्लो समय गुण्डागर्दीका घटना बढिरहेको भन्दै प्रहरीको सक्रियता बढाउन आवश्यक रहेको बताए ।
उक्त अवसरमा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादुर रावत, वडा अध्यक्ष बालकृष्ण राना, उपभोक्ता समितिका कोषाध्यक्ष पदम बहादुर खड्का, पत्रकार शरद रेग्मीलगायतले मन्तव्य राखेका थिए । प्रणव खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता निर्माण समितिका अध्यक्ष रत्नबहादुर खड्काले गरेका थिए ।
चौकी निर्माणको लागि स्थानीय दलबहादुर विष्टले झण्डै १ कठ्ठा बराबरको जग्गा दान गरेको चौकीका प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद श्रेष्ठले बताए । प्रहरीको भवन निर्माण गर्न स्थानीय आमा समूह, सहकारी समूहले श्रमदान गरेको श्रेष्ठले बताए ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ ले भवन निर्माणमा ५ लाख सहयोग गरेको थियो । जस्तापाता उपमहानगरपालिकाले सहयोग गरेको हो । त्यसबाहेक पाँचकोठे भवन निर्माणको लागि आवश्यक बालुवा, गिट्टी, ढुंगा, रड, सिमेन्ट सबै स्थानीय व्यापारीले सहयोग गरेका हुन् । ‘जनताको सहयोग नभएको भए भवन बन्न सम्भव थिएन’ श्रेष्ठले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *