दंगीशरण, १९ फागुन । दंगीशरणमा गाउँपालिकामा परियोजनासम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबार भएको छ । समाजमा वातावरणीय शिक्षाको विकास सीड सस्ंथाको आयोजनामा गरिब तथा सीमान्तकृत समुदायको गुणस्तरीय शिक्षाका लागि आर्थिक तथा सामाजिक समावेशीकरण कार्यक्रम भएको हो ।
कार्यक्रममा सीड संस्थाका कार्यकारी अधिकृत भागिराम चौधरीले संस्थाको परिचयअन्तर्गत मानवअधिकार पद्दति, सशक्तिकरण, क्षमता अभिवृद्धि, सेवा प्रवाह, परियोजनाको उद्देश्यहरु तथा अपेक्षित उपलब्धिहरु, परियोजनामा सम्पन्न गरिने गतिविधि तथा क्रियाकलापहरुमा परियोजनाको बजेटहरुका बारेमा प्रस्तुतिकरण गरेका थिए ।
उक्त अवसरमा कार्यकारी अधिकृतले लक्षित वर्ग र विद्यालयहरुमा कार्यक्षेत्र भित्रका ३७ विद्यालयहरु र गरिब समुदायका महिला तथा बालबालिकाहरुलाई समेटिने गरी परियोजनाको कार्यक्रम दंगीशरण गाउँपालिका र शान्तिनगर गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा गर्ने जानकारी गराएका थिए ।
स्थानीय तहका सामुदायिक विद्यालयहरुमा परियोजनाले गर्ने क्रियाकलापहरुमा प्रस्तावित विद्यालयको अवस्था विश्लेषण तथा योजना, गाउँपालिका स्तरीय बाल महाभेला, गाउँपालिका स्तरीय बालविवाह रोकथाम सम्मेलन, नमुना विद्यालय निर्माणसम्बन्धी शिक्षक, विद्यालय ब्यवस्थापन समिति बाल क्लव, समुदाय, राजनैतिक दलहरु र स्थानीय सरकारसँग अन्तरक्रिया कार्यक्रम, बालिकामैत्री नमूना विद्यालय निर्माण कार्यमा सहयोग, स्यानीटरी प्याड बनाउने सीप विकाससम्बन्धी किशोरीहरु तथा आमाहरुलाई तालिम, बालिकामैत्री विद्यालय सुधार योजना निर्माण तथा अद्यावधिक सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरी एक दर्जनभन्दा बढी कार्यक्रमहरु सञ्चालन गरिने जानकारी गराईएको थियो ।
उक्त अवसरमा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले सिड संस्थाले आयोजना गरेको गाउँपालिकास्तरीय शिक्षा कार्यक्रमलाई उपलब्धिमूलक बनाउनुपर्ने बताएका थिए । स्थानीय तहमा शिक्षा क्षेत्रलाई फराकिलो बनाउनुपर्ने जरुरी रहेकाले यस कार्यक्रमलाई कार्यान्वयन गर्नतर्फ लाग्नुपर्ने बताएका हुन् । गाउँपालिकाका सामुदायिक विद्यालयमा सीड सस्ंथाले ल्याएको यो कार्यक्रमले अझै शिक्षा क्षेत्रलाई अगाडि बढाउन मद्दत पुग्ने बताएका थिए ।
कार्यक्रममा शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले शिक्षा क्षेत्रमा सुधार ल्याउनलाई सिड सस्ंथाले गर्ने प्रयास सफल हुने बताएका थिए । सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा नभएकाले युवाहरु रोजगार पाउन नसकेको भन्दै उनले सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी बालुवामा पानी हालेझैँ भएको बताएका थिए ।
अबको शिक्षा अन्तर्राष्ट्रिय सरकारमा बिक्ने खालको हुनुपर्ने उनको तर्क थियो । कार्यक्रममा दंगीशरण र शान्तिनगर गाउँपालिकाका वडा अध्यक्षहरु, वडा सदस्यहरु, शिक्षा शाखाका प्रमुख तथा उपप्रमुख, महिला तथा बालबालिका कार्यालयका प्रमुखलगायतको उपस्थिति रहेको थियो । सीड सस्ंथाका अध्यक्ष राममोती चौधरीको अध्यक्षता एवं दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमुख आतिथ्यता तथा शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । संस्थाका सामाजिक परिचालक सीता चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सीड सस्ंथाका कार्यक्रम संयोजक माधवराज चौधरीले गरेका थिए ।