गुडिया बनाउने तालिम

मुख्य खबर समाज

घोराही, १ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ को आर्थिक सहयोग र दाङ महिला जेसिजको आयोजनामा महिलाहरुका लागि १५ दिने गुडिया बनाउने तालिम सुरु भएको छ ।
दाङ महिला जेसिजका अध्यक्ष रेखा शर्माको अध्यक्षता एवं घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको हो ।
तालिममा प्रमुख अतिथि पाण्डेले महिलाहरु आर्थिक रुपले बलियो नभएसम्म परिवारको आर्थिक अवस्थामाथि उठ्न नसक्ने भएकाले अहिलेको आवश्यकता भनेको महीला पनि आर्थिकरुपले सशक्त हुनुपर्ने बताएका थिए ।
हिजोको समाज, परिवार पुरुषको आर्थिक जोहोबाट मात्र चलेको भएपनि आज महिला र पुरुष दुबैको आर्थिक जोहोबाट मात्रै एउटा परिवारको आर्थिक समृद्धि हुने भएकाले महिलाहरु पनि स्वरोजगार बन्न आवश्यक रहेको बताए ।
सिकेको सिपलाई व्यवहारमा उतारेर महिलाहरु विभिन्न व्यवसायको माध्यमबाट आर्थिक रुपले सशक्त हुन सक्ने भएकाले यसतर्फ सहभागीले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि घोराही उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष चित्रबहादुर डाँगीले महिलाहरु आर्थिक रुपले बलियो नभएसम्म सरकारले अघि सारेको आर्थिक समृद्धिको नारा नारामै सीमित हुने भएकाले महिलाहरुको आर्थिक समृद्धि आवश्यक रहेको बताए ।
महिलाहरु घरमा मात्र सीमित नभई आयआर्जनको काममा पनि जोडिन सके परिवारको आर्थिक अवस्थामा पनि सुधार आउने बताए ।
जेसी बसन्ता भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा दाङ महिला जेसिजका कार्यकारी उपाध्यक्ष ममता विष्टले धन्यवाद ज्ञापन गरेकी थिईन् । कार्यक्रमको सहजीकरण महासचिव अनिता ढकालले गरेकी थिईन् । १० जना महिलाको सहभागिता रहेको तालिमको प्रशिक्षकमा एमी घर्ती रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *