गाउँपालिकामै वडा सञ्चालन

फिचर मुख्य खबर समाज

रोल्पा, ३० कार्तिक ।
बिगत चार महिनादेखि रोल्पाको रून्टिगढी गाउँपालिकाका नौवटा वडा कार्यालयहरू गाउँपालिकाको कार्यालयबाट सञ्चालन हँुदा सेवाग्राहीले सास्ती भोग्दै आएका छन् । रून्टिगढी गाउँपालिका वडा नं. ४ कि ७० बर्षिय रेशमा सेन आफ्नो नातिको जन्मदर्ताको प्रमाणपत्र लिन गाउँमा रहेको वडा कार्यालयमा पुगिन् । तर उनले कार्यालयमा सचिव भेटाइनन् र वडा कार्यालयले भन्यो ‘सचिव बिगत चार महिनादेखि गाउँपालिकामा बस्नु हुन्छ त्यसैले गाउँपालिकामा जानुहोस् ।’
उनी सचिव खोज्न दुई घण्टाको बाटो हिडेर गाउँपालिकाको कार्यालयमा आइन् । त्यहाँ पनि उनले सचिव भेटाइनन् र कार्यालयका कर्मचारीले भने ‘आज सचिवज्यू अर्को वडामा कार्यक्रममा जानु भाको छ भोलि आउनुहोला ।’ उनले दुखेसो पोख्दै भनिन् ‘कस्तो जमाना हो, कस्तो सरकार हो, सबै सुविधा गाउँमा आ’को छ भन्छन् तर एउटा सिफारिस बनाउन र सचिव खोज्न दुईदिन लाग्ने ।’
उनी त एउटा पात्र मात्र हुन् केही समयदेखि गाउँपालिकामा वडा सचिव खोज्न आउनेहरूको पीडा उस्तै छ । चार घण्टाको पैदल हिडेर आएर समयमा सचिव नभेटेपछि बजारमा बास बस्नुपर्ने समस्या रहेको सेवाग्राहीहरूको गुनासो रहेको छ । सचिवहरू भने एउटा सचिवले पाँचवटा वडाको कामकाज एक्लै गर्नुपर्ने बाध्यता भएकोले प्रत्येक वडामा जाने सम्भावना नभएकोले गाउँपालिकामा बसेर काम गर्न परेको बताएका छन् ।
सेवाग्राहीहरूको समस्याका बारेमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि जिएमसँग जिज्ञासा राख्दा कर्मचारी समायोजनका कारण वडामा सचिवहरूको समस्या रहेको बताउँदै यसका बारेमा लोकसेवा आयोगसँग आवश्यक कर्मचारी माग गरेकोले छिट्टै समस्या समाधान हुने बताए ।
हाल यस गाउँपालिकामा दुईजना सचिवहरूले मात्र नौ वटा वडाको कामकाज गर्दै आएका छन् । यति लामो समयसम्म पनि वडा कार्यालयहरू सचिवबिहीन हुँदा गाउँमा रहेको स्थानीय सरकार गम्भीर नहुँदा समस्या जस्ताको तस्तै रहेकोे स्थानीयको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *