गाउँपालिकाको ध्यानाकर्षण

मुख्य खबर समाज

सल्यान, ३ भदौ । स्थानीय पालिकाहरुबाट प्रदान गरिने सेवालाई प्र्रभावकारी बनाउनका लागि स्थानीय सभाले गाउँपालिकालाई विभिन्न विषयमा ध्यानाकर्षण गराउने भएको छ । गाउँपालिकाअन्तर्गतका हरेक क्रियाकलापहरुलाई जवाफदहित र पारदर्शीता बनाउनका लागि स्थानीय सभाले विभिन्न पक्षमा ध्यानाकर्षण गराउने भएको हो ।
सल्यानको कपुरकोट गाउँपालिकामा रहेको स्थानीय सभाको बैठकले गाउँपालिकाबाट प्रवाह गरिने सेवालाई पारदर्शीता, जवाफदेहिता र न्यायपूर्ण बनाउनका लागि गाउँपालिकालाई ध्यानाकर्षण गराउने भएको हो ।
पारस्परिक जवाफदेहिता परियोजनाअन्तर्गत वडा नम्बर ३ मा रहेको स्थानीय सभाको सोमबार बसेको बैठकले गाउँपालिकामा सञ्चालन भए गरेका कृषि, व्यापार, खानेपानीलगायत विभिन्न पूर्वाधारका विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
बैठकले कृषि क्षेत्रको समग्र विकासका लागि कृषि उपज केन्द्रलाई ध्यानाकर्षण गराउने भएको हो । बैठकले तरकारी निकासी गर्दा लाग्ने कर हटाईएको भएपनि किसानहरु लाभान्वित नभएको भन्दै कृषि उपज बजार केन्द्र स्थापनका लागि ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
वडा नम्बर ३ का वडाध्यक्ष तथा स्थानीय सभाका संयोजक मिन बहादुर सेनको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाबासीहरुलाई स्वच्छ पिउने पानीको पहुँचमा ल्याउन,
सरसफाई कार्यलाई ब्यवस्थित गर्न र सामुदायिक विद्यालय सञ्चालनका लागि अभिभावकहरुले शुल्क उठाउनुपर्ने बाध्यतालाई हटाउन गाउँपालिकालाई ध्यानाकर्षण गराउने निर्णय भएको पारस्परिक जवाफदेहिता परियोजनाका सल्यान जिल्ला संयोजक दिपेन्द्र शाहीले जानकारी दिए ।
सोमबारको बैठकमा परियोजनाका पैरवी सल्लाहकार भोला भट्टराईले स्थानीय सभा तथा साझेदारी मञ्चमा उठ्ने सवाल र स्थानीय तहले प्रदान गर्ने सेवा प्रवाहमा पारेको सकारात्मक प्रभावलाई महत्वपूर्ण उपलब्धि मान्नुपर्ने बताएका थिए ।
उनले नागरिक र सरकारबीच छलफल, अन्तरक्रिया तथा समन्वयलाई निरन्तर अगाडि बढाउनुपर्ने बताए । बैठकमा गाउँपालिकाअन्तर्गत विभिन्न विषयगत शाखाका प्रमुख, नागरिक समाज, शिक्षक, विद्यार्थी, सञ्चारकर्मीलगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *