तुलसीपुर, ३१ साउन । नेपालले छिमेकी जिल्लाबाट किनेर ल्याएको भन्दै अन्यत्रै लैजादै गरेका गाईहरुलाई शिवसेना नेपालले नियन्त्रणमा लिएको छ । तुलसीपुरबाट रोल्पा लैजादै गरेको ११ वटा गाई र बाच्छालाई शिवसेना नेपालले तुलसीपुरबाट उद्धार गरेको हो ।
रोल्पाको त्रिवेणी गाउँपालिकामा बस्दै आएका व्यक्तिहरुले आफ्नै घरमा पाल्ने बहानामा लैजादै गरेको अवस्थामा तुलसीपुरस्थित गौँझेनीबाट गाई र बाच्छालाई उद्धार गरेको शिवसेना नेपालका जिल्ला सचिव वासुदेव भुसालले जानकारी दिए ।
त्रिवेणी गाउँपालिकाको बुर्तिवाङमा बस्ने २२ वर्षिय महेन्द्र विक, ४० वर्षिय मनसरा विक र ४५ वर्षिय मैसरी विकलाई सोधपुछ गरी नियन्त्रणमा लिएको सोही संस्थाका युवा अध्यक्ष दामोदर सुवेदीले बताए ।
‘११ वटा गाईलाई शंकास्पद तरिकाले दोघरे पुल हुँदै लैजाने क्रममा उद्धार गरिएको हो’ सचिव भुसालले भने ‘एउटा किन्दा १० वटा निःशुल्क दिएको भने पछि हामीलाई शंका लागेर नियन्त्रणमा लिएका हौँ ।’
आफूहरु रोल्पादेखि तुलसीपुर पहिलो पटक आएको बताउने उनीहरुले घरमा पाल्नका लागि गाई र बाच्छा लिन दाङ आएको भन्दै शंकास्पद तरिकाले बयान दिएको भन्दै उनीहरुलाई प्रहरी चौकीमा लगेर कागज गरी छोडिएको वरिष्ठ उपाध्यक्ष असिताभ लामिछानेले बताए ।