गर्भपतनको सवाल र अधिकार तालिम

फिचर मुख्य खबर समाज

गढवा, २७ असोज । गढवामा गर्भपतनको सवाल र अधिकारबारे एकदिने तालिम समापन भएको छ । विहेवारी २० वर्ष पारी भन्ने उक्तिका साथ गर्भपतनको सवाल र अधिकारबारे गढवा गाउँपालिका भरिका महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई एकदिने तालिम प्रदान गरिएको हो ।
मुक्त कम्लहरी विकास मञ्च दाङको आयोजना र गर्लस फस्ट फण्डको आर्थिक तथा प्राविधिक सहयोगमा मुक्त कम्लहरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष सुनिता चौधरीको सभापतित्व र गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चौधरीको प्रमुख आतिथ्यतामा
भएको कार्यक्रममा बोल्ने वक्ताहरुले गर्भपतनलाई महिलाहरुको प्रजनन स्वास्थ्यसँग सम्बन्धित रहेको हुनाले र असुरक्षित गर्भपतनबाट ज्यानसमेत जान सक्ने भएकोले सावधानी अपनाउनुको साथै अवैध गर्भपतनलाई कानुनले अपराध मानेकोले यस्तो अपराध नियन्त्रण गर्नमा सबै महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई जुट्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शान्ति चौधरीले गर्भपतनको सवालमा महिला तथा किशोरी दिदीबहिनीहरु सजग हुन जरुरी रहेको बताए । उनले सामाजिक मर्यादा बिपरीतको क्रियाकलाप नगर्ने हो भने गर्भपतनको समस्या नआउने बताइन् ।
त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक लोकराज पौडेलले गर्भधारणदेखि गर्भपतन गराउँदासम्म धेरै कानुनी समस्या पनि हुने भएकोले यसको अधिकार र कर्तव्यको बारेमा बुझ्न जरुरी रहेको बताए ।
गर्भपतनले महिलाहरुको पाठेघर बिग्रने, बच्चा जन्माउन नसकिने दीर्घकालिन रोग लाग्नुको साथै सामाजिक प्रतिष्ठानमा पनि असर पर्ने भएकोले अवैध गर्भपतनबाट सावधान हुनुपर्ने बताए ।
कार्यक्रममा रेडियो साझा आवाजका स्टेशन म्यानेजर दुखहरण यादव, स्वयम्सेविका शकुन्तला डिसी, कोकिला शाही, गीता यादवलगायतले विचार व्यक्त गरेका थिए । कार्यक्रममा मुक्त कम्लहरी विकास मञ्च गढवाकी कार्यक्रम संयोजक ज्ञानु थापाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन मञ्चकी सचिव मिना चौधरीले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *