गतिभन्दा सुरक्षामा ध्यान दिन आवश्यक

फिचर मुख्य खबर

तुलसीपुर, ४ भदौ । सडकमा गुड्ने सवारी साधनहरुले गतिमा भन्दा सुरक्षामा ध्यन दिन आवश्यक भएको एक कार्यक्रमका सहभागीले बताएका छन् । सोमबार तुलसीपुरमा आयोजित सवारी दुर्घटना न्यूनिकरणसम्बन्धी जनचेतना तथा अन्तरक्रिया कार्यक्रम बोल्ने सहभागीहरुले यस्तो बताएका हुन । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको आयोजना तथा छहरा यातायात प्रालि तुलसीपुर र नमस्ते एकता प्रालि तुलसीपुरको समन्वयमा आयोजित कार्यक्रममा सवारी दुर्घटना न्यूनिकरण, सवारी चालकमा ट्राफिक जनचेतना, ट्राफिक नियमको पालनालगायतका विषयमा बृहत् छलफल भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र शाहले गतिमा भन्दा सुरक्षामा ध्यान दिए सवारी दुर्घटना न्यूनिकरण हुने बताए । पछिल्लो समय चुनौतीको रुपमा रहेको सवारी दुर्घटना अत्यधिक गति, आम जनमानसमा सचेतनाको कमि र लापरबाहीका कारणले हुने गरेकाले यसको न्यूनिकरणका लागि सबै पक्ष गम्भीर हुनुपर्ने उनल वताए । अटो व्यवसायीहरुले उठाएका मागका विषयमा आफूहरु गम्भीर भएको बताउँदै वडा अध्यक्ष शाहले अटो व्यवसायीहरुमाथि अन्याय हुन नदिने बताए । कार्यक्रमका विशिष्ट अतिथि तुलसीपुर उप–महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष नवराज लामिछानेले सवारी दुर्घटना न्यूनिकरण तथा सडक सभ्यता अभिबृद्धिका लागि आफूहरु लागि परेको बताउँदै पूर्वाधार विकाससँगै मानव संशाधनको विकास आवश्यकता भएकाले सडक सभ्यता अभिवृद्धि, अटो रिक्साको व्यवस्थापन, ट्राफिक जनचेतना लगायतका विषयमा आफूहरु गम्भीर रहेको उनले बताए । कार्यक्रममा अटो रिक्सा व्यवसायी विनय शर्मा, तोज बहादुर डाँगी, कर्मादेवी विकलगायतले रुट परमिट, दर्ता प्रकृया र पार्किङ लगायतका विषयमा राखेका जिज्ञासाका बारेमा पनि अध्यक्ष लामिछानेले प्रष्ट पारेका थिए । एकता अटो व्यवसायी समितिका महासचिव पदम चन्दको अध्यक्षतामा भएको कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव निरीक्षक चन्द्र बहादुर केसीले सवारी दुर्घटना हुनुको कारण, यसको न्यूनिकरण, चालकमा ट्राफिक जनचेतना, चालकको काम कर्तव्य, सवारी चालक अनुमतीपत्र लगायतका बिषयमा श्रब्यदृश्य मार्फत प्रशिक्षण दिएका थिए । उक्त अवसरमा झण्डै दुईसय अटो रिक्सा व्यवसायी तथा चालकको उपस्थिति रहेको थियो । छहरा यातायात प्रालि तुलसीपुरका अध्यक्ष विकास वलीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी जवान डिल्लीराज आचार्यले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *