गंगा मावि प्रविधिमैत्री

समाज

घोराही, ४ असार । घोराही उपमहानगरपालिका वडा नम्बर २ स्थित गंगा माध्यमिक विद्यालय रामपुर प्रदेशकै प्रविधिमैत्री विद्यालय भएको छ । विद्यालयमा अबदेखि कम्प्युटरका माध्यमबाट स्मार्टबोर्ड प्रयोग गरेर पढाई हुने भएको छ ।
नेपाल सरकारले प्रत्येक प्रदेशका एक÷एक विद्यालयलाई प्रविधिमा स्मार्ट विद्यालय बनाउने नीति अनुरुप प्रदेश नम्बर ५ मा गंगा माध्यमिक विद्यालय रामपुर प्रविधिमैत्री स्मार्ट विद्यालय भएको हो ।
प्रदेश सरकारको सिफारिसमा नेपाल टेलिकमले उपलब्ध गराएका सामाग्री सबै जडान भएका छन् । ६० थान कम्प्युटर, १६ थान सिसी क्यमरा, १२ थान स्मार्टबोर्ड, १४ थान मल्टिमिडिया प्रोजेक्टरलगायतका सामाग्री जडान भएका हुन् ।
हस्तान्तरित सबै सामाग्री कक्षाकोठामा जडान भैसकेको छ । विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष जगतप्रसाद चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा मंगलबार एक कार्यक्रम गरी विद्यालयलाई प्रविधीमैत्री विद्यालय घोषणा गरिएको हो ।
कार्यक्रमममा प्रविधिमैत्री विद्यालय घोषणा गर्दै नगर प्रमुख चौधरीले शैक्षिक गुणस्तर र प्राविधिक ज्ञानको विकास गर्न प्रविधिमैत्री शिक्षण सिकाइले सहयोग गर्ने बताए ।
नगर क्षेत्रका सबै विद्यालयलाई बाल तथा अपाङ्गमैत्री बनाउने नगरको योजना रहेको भन्दै त्यस सँगसँगै विद्यालयलाई प्रविधिमैत्री पनि बनाईनेसमेत उल्लेख गरेका थिए ।
कार्यक्रममा विशिष्ठ अथिति नेपाल टेलिकमका बरिष्ठ लेखा अधिकृत केशवराज देवकोटा, वडा नम्बर २ का अध्यक्ष केशवराज आचार्य, विद्यालयका प्रधानाध्यापक शशिधर उपाध्याय,
सहायक प्रधानाध्यापक एमवि केसीलगायतले प्रविधिले शिक्षा क्षेत्रमा परिवर्तन ल्याउने बताएका थिए । यसैबीच प्रविधिबाट शिक्षण गर्ने विधिका बारेमा जानकारी दिन सोही विद्यालयका शिक्षकहरुका लागि तीनदिने तालिम दिइएको छ ।
नेपाल टेलिकमका प्राविधिकहरुले प्रविधिबाट शिक्षण गर्ने विधि, प्रविधि सञ्चालनलगायतका बारेमा जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *