खेलाडीलाई पुरस्कार घोषणा

खेलकुद फिचर मुख्य खबर

काठमाडौँ, २६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ सागमा पदक विजेता खेलाडी, प्रशिक्षकहरूलाई नगद पुरस्कारको घोषणा गरेका छन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रोत्साहनस्वरूप प्रधानमन्त्रीले स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार राशिको घोषणा गरेका हुन् ।
एक स्वर्ण विजेतालाई ९ लाख रूपैयाँ नगद दिइनेछ भने एकभन्दा बढी स्वर्ण विजेतालाई ११ लाख रूपैयाँका दरले नगद पुरस्कार दिइनेछ ।
प्रधानमन्त्री ओलीले घोषणा गरेको पुरस्कार राशिअनुसार पौडीमा चार स्वर्ण जित्ने गौरिका सिंहले स्वर्णतर्फबाट ४४ लाख प्राप्त गरेकी छन् । छन् । त्यसैगरी उनले दुईवटा रजत पदक पनि जितेकी छन् ।
दुईवटा रजतमा थप १२ लाख रूपैयाँ प्राप्त गर्नेेछिन् । उनले स्वर्ण र रजत गरी कम्तिमा ५६ लाख रूपैयाँ नगद पाउनेछिन् । त्यसैगरी कास्य विजेताले जनही तीन लाख प्राप्त गर्नेछन् ।
गौरिकाले समूहमा तीन कास्य पदक जितेकाले त्यसमा कति रकम प्राप्त गर्ने छिन भन्ने एकीन भएको छैन । त्यसैगरी तेक्वान्दोकी आयशा शाक्यले दुईवटा स्वर्ण पदक जितेकी छन् ।
उनले २२ लाख रूपैयाँ प्राप्त गरेकी छन् । भने करातेका मण्डेकाजी श्रेष्ठले पनि दुईवटा स्वर्ण जितेकाले २२ लाख रूपैयाँ प्राप्त गर्नेछन् ।
त्यसैगरी पदक विजेताका प्रशिक्षकलाई पनि जनही पाँचलाख रूपैयाँ दिइने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
त्यसैगरी फुटबलको स्वर्ण विजेता प्रत्येक खेलाडीहरूलाई जनही पाँच लाख रूपैयाँ दिइने छ । नेपालले १३औँ सागमा हालसम्मकै सर्वाधिक पदक जितेको छ ।
१३औँ सागमा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्यसहित कूल २०५ पदक जितेको छ ।
सागमा समावेश २६ खेलमध्ये नेपालले २५ खेलमा पदक जितेको छ । नेपाल सुटिङमा भने पदकविहीन रहेको थियो । यस्तै करातेका मण्डेकाजी श्रेष्ठ र आयशा शाक्यले एउटै संस्करणमा दुई स्वर्ण कीर्तिमान बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *