खेतमा जीवनोपयोगी सीप सिक्दै विद्यार्थी

फिचर मुख्य खबर समाज

घोराही, २२ साउन ।
घोराही–१६ सर्रास्थित ज्ञानमाला एकेडेमीका छात्रछात्राहरु साउने झरीमा बेसाहीस्थित खेतमा पसे । विद्यालय पोशाकमै रहेका बालबालिकाले किसानहरुसँगै रोपाई गरे र किसानका कुरा सुने । कक्षाकोठाभित्र बसेर निश्चित पाठ्यपुस्तकमा मात्रै गरिने अध्ययन अपर्याप्त हुने हँुदा व्यवहारिक शिक्षाका लागि विद्यार्थीलाई खेतमा लगेको विद्यालयका प्रधानाध्यापक केशवराज गिरीले बताए । कक्षा ८ को पेशा, व्यवसाय तथा प्राविधिक शिक्षा बिषयको प्रयोगात्मक सिकाइ उपलब्धिका लागि विद्यार्थीहरु बिषय शिक्षिका शारदा भण्डारीको साथमा खेतमा पुगेका थिए । रोपाइका लागि तयार पारिएको खेतमा विद्यार्थीहरुले धानको बिऊ हातमा लिएर रोप्न थालेपछि कृषकहरु समेत हर्षित भए । बालबालिकालाई खेतीपाती सिकाउन पाउँदा कृषक जगवीर चौधरीले खुशी व्यक्त गरे । बालबालिका पनि किसान बन्न पाउँदा निकै हौशिए । ‘अहिलेसम्म धान रोपाइको अनुभव थिएन, आज किसान भएर खेतमै पुग्दा नौलो अनुभव गरियो’, छात्रा गृष्मा गिरीले भनिन्, ‘किसानका दुःख र संघर्ष सिक्ने अवसर प्राप्त भयो । समाजका दुःख सुख बुझियो ।’ यस्तै खेतीको अनुभवै नगरेका छात्र किसन खड्काले रोपाइँ गर्दा किसानहरुको श्रमबारे जानकारी पाएको बताए । किसान बुवा आमाहरुले सन्तानको शिक्षाका लागि बगाएको पसिना र श्रमको मूल्य बुझेको उनले बताए । रोपाइ रमाइलो लागेपछि अब धान काट्न पनि आउने अर्की छात्रा सपना सुनुवारले बताइन् । विद्यार्थीहरुसँगको छलफलबाटै पाठ्यक्रममा आधारित भएर प्रयोगात्मक विधिबाटै शिक्षण गर्दा प्रभावकारी भएको विषय शिक्षिका शारदा भण्डारीले बताइन् । विद्यार्थीहरुलाई जीवनोपयोगी शिक्षा प्रदान गर्न यो विधि उपयोगी भएको उनले बताइन् । विद्यालयले यस वर्षदेखि क्रियाकलापमा आधारित जीवन उपयोगी शिक्षण विधि अवलम्वन गर्दै आएको उनले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *