तुलसीपुर, ८ भदौ । नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काका छोरा अनुराग खड्काले खुला राजनीतिमा आउने बताएका छन् । शनिबार तुलसीपुरमा भेला भएका युवाहरुसँगको छलफलमा अनुरागले यस्तो बताएका हुन् ।
‘बुवाकै बाटो समातेर राजनीति गर्ने सोच बनाएको छु’ उनले भने, सबैको सहयोग, सल्लाह र आवश्यक बमोजिम खुला राजनीतिमा आउने योजना बनाएको हुँ ।
उनले बुवा खुम बहादुर खड्काको राजनीतिक लाइन र पथमा बसेर सबैलाई एक बनाउँदै राजनीति गर्ने सोच आफ्नो रहेको बताए । उनले पार्टीभित्रको गुट–उपगुट भन्दा पनि पार्टी बलियो बनाउनेतर्फ सबै नेता कार्यकर्ता लाग्नुपर्ने बताए । मेरो यो गुटभन्दा पनि मेरो यो पार्टी भनेर लाग्नुपर्छ म पनि पार्टीको हितमा नै काम गर्ने छु । कांग्रेस पार्टी रहे मात्रै सबै रहने हो ।
उनले बुवाका अधूरा सपना पूरा गर्न र राजनीतिमा उत्तराधिकारीको रुपमा सक्रिय रहनेसमेत बताए । कार्यक्रममा सहभागीहरुले पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्नेतर्फ सबै लाग्नुपर्ने बताए थिए ।
कार्यक्रममा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका अध्यक्ष जनकप्रसाद खरालले एजेण्डा स्थापित गर्ने समूह गुट सक्रिय हुनु स्वभाविक भए पनि एजेण्डा स्थापित भई पार्टीको निर्णय आइ सकेपछि त्यो भन्दा बाहिर गुट बनाएर जान नहुने बताए ।
खरालले कार्यकर्ताहरुले नै गुट–उपगुट हटाउन सक्ने बताए । ‘कार्यकर्ता गुटको पछि नलागेर पार्टी र नीतिको पछि लागे नेताले मात्रै गुट निर्माण गर्न नसक्ने हुँदा गुटको राजनीति त्यहि सकिन्छ’ उनले भने ।
तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष ललितजंग शाहले नेता अनुसार पार्टीभित्रको गुटले कार्यकर्तालाई निरास बनाउने र पार्टीले हार्ने काम भएको बताए । उनले नेताले गुट हैन संगठन बनाउनेतर्फ लाग्नुपर्ने बताए ।
कार्यक्रममा तरुण दलका अध्यक्ष टिका घर्ती, तुलसीपुर–८ का इकाई सभापति बलिराम खत्री, किरण पौडेल, नारायण खड्कालगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन नेपाल विद्यार्थी संघ दाङका कोषाध्यक्ष अरुण लहरेले गरेको थिए ।
