तुलसीपुर, २८ असोज । दाङ खुकुरी प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् । शान्तिनगर गाउँपालिका–६ पहाडीपुर बस्ने ३० बर्षिय प्रकाश थापालाई खुकुरी प्रहार गर्ने सोही ठाउँका २२ बर्षिय निमबहादुर वलीलाई प्रहरीले पक्राउ गरेको छ । सामान्य विषयमा विवाद हुँदा वलीले थापालाई खुकुरी प्रहार गरेका थिए ।
थापाको टाउको र बायाँ कानमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइते थापालाई प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । खुकुरी प्रहार गर्ने वलीलाई खुकुरीसहित ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको दाङका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।
यसैबीच प्रहरीलाई झुक्काएर फरार भएका एक थुनुवालाई ११ महिनापछि प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । गत बर्षको कार्तिक २५ गते सार्वजनिक नैतिकताविरुद्धको मुद्दामा जिल्ला प्रशासन कार्यालय दाङबाट म्याद थप गरेर तुलसीपुर लग्ने क्रममा भागेका तुलसीपुर–५ का २१ बर्षिय विष्णु बुढाथोकीलाई प्रहरीले ११ महिनापछि पक्राउ गर्न सफल भएको हो ।
प्रहरीलाई झुक्काएर भाग्न सफल भएका बुढाथोकीलाई १ ग्राम ३ सय ४० मिलिग्राम लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो । तुलसीपुर–५ बसपार्कमा लुकीछिपी बसेको भन्ने सूचनाको आधारमा प्रहरीले खोजी गर्दा पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।