खाद्य संस्थानमा चामल बिक्री घट्यो

फिचर मुख्य खबर समाज

तुलसीपुर, १८ जेठ ।
नेपाल खाद्य संस्थान अञ्चल कार्यालय तुलसीपुरमा चालु आर्थिक वर्षमा विगतभन्दा चामल आयात र निर्यात कम देखिएको छ । विगतका वर्षहरुको तुलनामा पछिल्लो समय खाद्य संस्थानको चामलको माग नै घटेकोले कम निर्यात भएको नेपाल खाद्य संस्थान अञ्चल कार्यालय तुलसीपुरका प्रमुख अनिल कुमार श्रेष्ठले बताए ।
गत आर्थिक वर्षमा ७ हजार ९ सय ४३ दशमलव २० क्विन्टल चामलको कोटा रहेकोमा यस आर्थिक वर्षमा त्यो भन्दा पनि कोटा कम छ । पहिले संस्थानले पठाएको खाद्यान्न उपभोक्ताले उपभोग गरे पनि पछिल्लो समय पहाडी तथा हिमाली जिल्लाहरुमा सडक बाटो विस्तार भएसँगै बजारकै चामल बढी उपभोग गर्दै आएकाले संस्थानमा चामलको माग नै घटेको छ । विगतमा हिमाली तथा पहाडी जिल्लाहरुमा सडक बाटोको सुविधा नहुँदा संस्थानले नै खाद्यान्न ढुवानी गर्ने गरेको थियो, प्रमुख श्रेष्ठले भने । यस्तै डोल्पामा सुर्खेत, नेपालगञ्ज, जुम्लाबाट पनि खाद्यान्न निर्यात हुने गरेका कारणले पनि तुलसीपुरको संस्थानमा चामलको माग घटेको छ ।
कार्यालयको तथ्याङ्क अनुसार नेपाल खाद्य संस्थान अञ्चल कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा साढे ४ हजार क्विन्टल खाद्य सामग्री ढुवानी गरेको छ । यस आर्थिक वर्ष ०७४÷०७५ को साउन महिनादेखि बैशाखसम्म ४ हजार ७ सय ३५ दशमलव ५२ क्विन्टल खाद्यान्न आयात भएको कार्यालयका प्रमुख अनिल कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार विभिन्न स्थानबाट खाद्यान्न सामग्री ढुवानी हुने गरेको छ । यस आर्थिक वर्षमा बर्दियाको राजापुरबाट १४ सय ९० क्विन्टल गहुँ आयात भएको उनले बताए । उनका अनुसार वीरगंजबाट ८ सय ८० क्विन्टल चामल आयात भएको छ । लहानबाट १६ सय ४० दशमलव १० क्विन्टल आयात भएको छ ।
यस्तै नेपालगंजबाट ५ सय १० दशमलव ३० क्विन्टल चामल आयात भएको छ । नेपाल खाद्य संस्थान अञ्चल कार्यालय तुलसीपुरले विभिन्न स्थानबाट खाद्यान्न आयात गरेर सञ्चय गरी राख्ने र पहाडी तथा हिमाली जिल्लाहरुमा खाद्यान्न पठाउने गरेको श्रेष्ठले जानकारी दिए ।

पहिले संस्थानले पठाएको खाद्यान्न उपभोक्ताले उपभोग गरे पनि पछिल्लो समय पहाडी तथा हिमाली जिल्लाहरुमा सडक बाटो विस्तार भएसँगै बजारकै चामल बढी उपभोग गर्दै आएकाले संस्थानमा चामलको माग नै घटेको छ । विगतमा हिमाली तथा पहाडी जिल्लाहरुमा सडक बाटोको सुविधा नहुँदा संस्थानले नै खाद्यान्न ढुवानी गर्ने गरेको थियो, प्रमुख श्रेष्ठले भने । यस्तै डोल्पामा सुर्खेत, नेपालगञ्ज, जुम्लाबाट पनि खाद्यान्न निर्यात हुने गरेका कारणले पनि तुलसीपुरको संस्थानमा चामलको माग घटेको छ ।


राप्ती अञ्चलको पूर्वी रुकुम र पश्चिम रुकुममा कोटा अनुसार निर्यात गर्ने गरेको छ । यस्तै डोल्पाको दुनै, जुफाल, लिकु र सर्मीमा कोटा अनुसार पठाउने गरेको प्रमुख श्रेष्ठले बताए । यस आर्थिक वर्ष पूर्वी रुकुममा पहिलेको कोटा अनुसार ५ क्विन्टल पठाइसकिएको छ । पुनः पछि थप माग भएको २ हजार क्विन्टल चामलको माग गरिएको थियो । त्यसमध्ये ४ सय ७५ क्विन्टल गइसकेको छ भने बाँकी रहेको चामल असार मसान्तसम्म पठाइ सक्ने उनले बताए ।
डोल्पाको दुनैमा २ हजार क्विन्टल चामलको कोटा रहेकोमा २ हजार क्विन्टल चामल पठाइएको छ । डोल्पा जुफालमा एक हजार क्विन्टल चामल ढुवानी गर्नुपर्ने रहेकोमा सबै पठाइ सकिएको छ । डोल्पाकै लिकुमा ४ सय क्विन्टल चामलको कोटा रहेकोमा ४ सय क्विन्टल चामल गइसकेको उनले बताए ।
यस्तै डोल्पाको सर्मीमा ४ सय क्विन्टल पठाउनु पर्नेमा ४ सय क्विन्टल चामल पठाइ सकेको प्रमुख श्रेष्ठको भनाइ छ । कार्यालयमा गत आर्थिक वर्ष ०७३÷०७४ मा ११ हजार २ सय ३५ दशमलव ३२ क्विन्टल चामल प्राप्त भएकोमा ७ हजार १ सय ४३ दशमलव २० क्विन्टल अन्यत्र पठाइएको थियो । डोल्पाको दुनैमा एक हजार ९ सय ०१ दशमलव ४० क्विन्टल, जुफारमा एक हजार क्विन्टल, डोल्पाको सर्मीमा ५ सय पठाइएको र डोल्पा लिकुमा ५ सय क्विन्टल र डोल्पाको सहरतारामा ६ सय ७० दशमलव १० क्विन्टल चामल पठाइएको नेपाल खाद्य संस्थान अञ्चल कार्यालय तुलसीपुरका प्रमुख श्रेष्ठले बताए ।
यस्तै पश्चिम रुकुममा १ हजार ६ सय क्विन्टल पठाइएको थियो भने पूर्वी रुकुममा ९ सय ७० दशमलव ७० क्विन्टल पठाइएको थियो । ५ हजार क्विन्टल क्षमता भएको संस्थान कार्यालयको गोदाममा अहिले ३ हजार क्विन्टल चामल मौज्दात रहेको छ । प्रमुख श्रेष्ठले भने, तराईमा खाद्यान्न सञ्चय गरेर राख्छौँ र हिमाली तथा पहाडी जिल्लाहरुमा कोटा अनुसार निर्यात गर्ने गर्छौँ । बजारका व्यापारीहरुले खाद्यान्न बिक्री गर्छन् भने संस्थानहरुले सञ्चय गरेर राख्छ, जतिबेला जुन ठाउँमा आवश्यकता पर्छ त्यही स्थानमा पनि ढुवानी गर्न सकिन्छ । किसानहरुको राहतका लागि धान नै खरिद गर्ने र पछि कुटाएर चामल पठाउने संस्थानहरुको नियम नै रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *