प्रदेश टुडे
घोराही, १७ फागुन । स्वास्थ्य कार्यालय दाङले कोभिड–१९ विरूद्धको खोप लगाउन सबैमा आह्वान गरेको छ । कोभिड विरूद्धको खोप अभियान सञ्चालनकै क्रममा यस्तो आह्वान गरेको हो । पहिलो र दोस्रो चरणमा छुटेका व्यक्तिहरूसहित सबैले कोभिड विरूद्धको खोप लगाउन स्वास्थ्य कार्यालयले आह्वान गरेको छ ।
पहिलो र दोस्रो चरणमा खोप लगाएकाहरूमा नकारात्मक असर कुनै पनि नदेखिएको भन्दै निर्धक्क भएर सबैलाई खोप लागउन आह्वान गरिएको छ । स्वास्थ्य कार्यालय दाङले कोभिड–१९ रोगविरूद्धको खोप अभियानको बारेमा पत्रकारहरूसँग छलफल तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेर यही फागुन २३ गतेदेखि शुरू हुने तेस्रो चरणको खोप अभियानमा सहभागी हुन अनुरोध गरेको छ ।
छलफलमा स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले कोभिडविरूद्धको खोप लगाएर ढुक्क रहन अनुरोध गरे । ‘पहिलो र दोस्रो चरणको कोभिडविरूद्धको अभियान सकिएको छ, त्यसमा खासै नकारात्मक असर देखिएको छैन्’ छलफलमा उनले भने ‘छुटेकाहरू नडराउनुस्, खोप लगाएर ढुक्क हुनुस् ।’ कुनै–कुनै व्यक्तिमा सामान्य असर देखिए पनि २४ घण्टाभित्र आफै सामान्य अवस्थामा फर्किएको उनले बताए ।
‘अहिलेसम्म खोप लगाएकै कारण स्वास्थ्यमा जटिल अवस्था भएको भनेर कुनै रिपोर्ट आएको छैन्’ उनले भने ‘खोप लगाएमा केही समयै कोहीलाई मात्र सामान्य रियाक्सन देखिने गरेको छ, आतिनु पर्दैन् ।’ खोप लगाएर जटिल समस्या देखियो भने तुरून्त नजिकैको स्वास्थ्य चौकीमा जान सुझाव दिएका छन् । विशेषगरी ५५ वर्षदेखि माथि भएका उमेरमा व्यक्तिहरूलाई खोपको आवश्यक भएको उनले बताए । उनीहरूसँग रोगसँग लडने क्षमता कम भएकाले कोभिडविरूद्धको खोप लगाइने उनले बताए । १८ वर्षदेखि कम उमेर भएका किशोर किशोरीहरूले खोप लगाउन नहुने उनले बताए ।
प्रमुख जिल्ला अधिकारी एवं जिल्ला खोप समन्वय समिति दाङका प्रमुख जयनारायण आचार्यको अध्यक्षतामा छलफल भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपाली, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा.बसन्त लामिछाने खोप झनै आवश्यक भएको बताए । कार्यक्रममा कोभिडका फोकलपर्सन कमल चन्दले खोपको बारेमा जानकारी गराएका थिए ।