- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरकृषि पर्यटन र गाउँघरको विकास

कृषि पर्यटन र गाउँघरको विकास

- Advertisement -spot_img

कृषि र पर्यटनको आ–आफ्नै महत्व छ । दुबैलाई एकै ठाउँमा समन्वय गरेर विकास गर्ने हो भने गाउँघरमा कृषि र पर्यटन दुबैको विकास हुन्छ । तर यस्तो योजना पर्यटनको क्षेत्रमा हालसम्म बनेको पाँइदैन । कृषि र पर्यटन दुबैलाई समन्वय गरेर विकासको योजना बनाउँदा फाइदा पुग्छ र ग्रामीण क्षेत्रमा पर्यटनको विकासले गति लिदै जान्छ । पछिल्लो समय दाङमा व्यावसायीक कृषि खेती गर्ने कृषकको संख्या बढ्दै गएको छ । कृषिबाट आम्दानी हुन थालेपछि विदेशबाट फर्किएका युवाहरू कृषि पेशामा लागेका छन् । कृषि पर्यटनको लागि यो राम्रो पक्ष हो ।

कोभिड–१९ को महामारीले पर्यटन क्षेत्र सुस्तायो । लामो समयपछि अहिले विशेषगरी ग्रामीण पर्यटनका गतिविधि देखिन थालेको छ । दाङमा आजभोलि धारापानी, छिल्लीकोट, बाह्रकुने र ज्यामीरे ताल, मौलाकोट, घोरदौरा, सवारीकोट, बङ्गलाचुली गाउँपालिकाको बगलाचुली र बागेश्वरी मन्दिर उजामा ग्रामीण पर्यटकहरू पुग्ने गर्दछन् । अर्कोतर्फ पुरन्धाराको छहरा, तुलसीपुरको गण्ोशपुर पार्क, चमेरे गुफा र देउखुरीमा देवीकोट, जखेरा ताल, जंगलकुटी, रिहारधाम पनि ग्रामीण पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ ।

यी बाहेक पर्यटनको पूर्वाधार र विशेषगरी गाउँमा सडक विस्तार हुँदै गएपछि कोइलाबास, हात्ती ढुङ्गा मात्र होइन चरिङ्गे दह, भोटे दह, किचेनी दह र सिंचाईको लागि निर्माण भएका चेपे ड्याम लगायतका ठाउँमा पनि ग्रामीण पर्यटकहरू पुग्ने गरेका छन् । ग्रामीण पर्यटकहरूको घुमफिर गर्ने उद्देश्य फरक भएपनि सबै पर्यटकहरू आफू घुमफिर गर्ने ठाउँमा रमाउने हो । पर्यटनको क्षेत्रमा एउटा भनाइ छ । जुन ठाउँमा पर्यटकहरू पुग्दछन् त्यहाँ केही न केहि खर्च गर्नुपर्दछ । खर्चै नगरी फर्कन्छ भने त्यो पर्यटक नभई केवल अवलोकनकर्ता मात्र मानिन्छ । घुमफिर गर्ने जो कोहिसँग पनि केही न केही पैसा हुन्छ ।

कुनै पनि पर्यटकीयस्थलमा पुगेपछि उसलाई आवश्यक पर्ने कुनै पनि वस्तु किन्न सकोस् । तर दाङ जिल्लाका ग्रामीण पर्यटक पुग्ने ठाउँमा खर्च गर्ने ठाउँ छैन । बंगलाचुली र छिल्लीकोटमा भ्यू–टावर निर्माण भएको छ तर पर्यटकहरूले आवश्यक बस्तु खरिद गर्ने त परैका कुरा चिया चमेना खाने ठाउँ पनि छैन । गाउँमा पुग्ने पर्यटकहरूलाई खर्च गर्ने ठाउँ हुनुपर्दछ । यो भनेको गाउँघरमा उत्पादन बढाउनु हो । गाउँमा कृषिलाई पर्यटनसँग जोडेर उत्पादन गर्ने हो भने आयआर्जन बढ्छ । गाउँमै रोजगारीका अवसरहरू सिर्जना हुन्छन् र गाउँमा पनि पर्यटनको विकास हुन्छ ।

दाङ महाभारत र चुरे शृङ्खला बीचमा समथर कृषि पर्यटनको लागि उपयुक्त मानिन्छ । दाङमा २ उपमहानगरपालिका, १ नगरपालिका र ७ गाउँपालिका रहेका छन् । भू–बनोटका कारण दाङमा कृषिको क्षेत्र फराकिलो छ ।

यहाँ अदुवा, टिमुरदेखि लिएर बेमौसमी तरकारी उत्पादन गर्न सकिन्छ । तर अहिलेसम्म निर्वाहमुखी कृषिले गर्दा कृषि नाफामूलक बन्न सकेको छैन । जसले गर्दा कृषि पर्यटन त के कुरा किसानहरूले आफ्नै पेट भर्न पनि सकिरहेका छैनन् । अब गुजारामुखी कृषि प्रणाली परिवर्तन गरी कृषिलाई पर्यटनको क्षेत्रमा बदल्नुपर्दछ । कृषकको जीवनस्तर परिवर्तन गर्न कृषिमा परिवर्तन नभएसम्म हुँदैन । कृषि पेसालाई पर्यटनमा जोडेर उत्पादन बढाउँदै जाने हो भने कृषि व्यवसायले ग्रामीण क्षेत्रको विकास हुन्छ ।

दाङमा कृषि पर्यटनको विकास गर्न सबै स्थानीय तहले अब पर्यटनको विकास गर्न निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गर्दै लैजानु पर्दछ । यसका लागि आवश्यक नीति, योजना, कार्यक्रम, रणनीति र भौतिक एवं मानवीय पुँजीको प्रवद्र्धन गर्नुपर्दछ । सबै स्थानीय तहले आफ्नो ठाउँमा के खेती गर्दा राम्रो उत्पादन हुन्छ । त्यसको पकेट एरिया बनाउनुपर्दछ ।

कृषि पेसालाई मर्यादित र सम्मानित बनाउने र कृषिका लगानीकर्तालाई प्रोत्साहन तथा सम्मानको व्यवस्था स्थानीय सरकारबाट हुनुपर्दछ । आफ्नो जन्मस्थानमा कृषि पेसामा सम्मान प्रोत्साहन नपाएका कारण दिनप्रतिदिन युवा विदेश पलायन हुने विषयलाई रोक्न पनि कृषिमा आकर्षण र सम्मान दिन सक्नुपर्दछ । सहजरूपमा मल, बीउ, अनुदान, सुलभ ऋण प्राप्त हुने अवस्था भए कृषिमा लगानीकर्ता सुरक्षित र आकर्षित हुन्छन् । कृषि क्षेत्रलाई हरेक तहबाट अनिवार्य प्राथमिकतामा राख्नुपर्ने व्यवस्था सरकारले गर्नुपर्दछ ।


धान, मकै, तोरी, गहुँ, मात्र होइन आयआर्जन हुन सक्ने सिउँडी प्रजातिको ड्रागन फ्रुट, एभोकार्डो, आँप, लिच्ची, मेवा, केरा, कटहर, अब्बा, कागती, अमिलोजस्ता फलफूलको पकेट एरिया कहाँ बनाउने ? भन्ने योजना हुनुपर्दछ । पकेट एरिया बनाएर खेती गर्न सकियो भने गाउँमा पर्यटकहरू पुग्दछन् । कृषकले लगाएको खेती पर्यटकहरूले अवलोकन गर्ने मात्र होइन पर्यटकहरूले आवश्यक परेको बस्तु खरिद गर्दछन् ।

कृषि पर्यटनको पकेट एरिया विकासले कृषि उत्पादनमा बृद्धि मात्र नभएर बजारमा प्रभाव, कृषिको लागि प्राविधिक विषय र सूचनाको समेत आदान प्रदान हुन्छ । कृषि पर्यटनको विकासले पर्यटन क्षेत्र विस्तार भई मौलिक संस्कृति र सामाजिक सद्भाव बढ्न सक्छ । कृषि पर्यटनले नयाँ प्रविधि र युवा कृषकको उत्साहको बीचमा प्राविधिक पक्षको आदानप्रदान भई उत्पादनमा विशिष्टता, प्रशोधनमा नविनता, स्वादमा मौलिकता, उपभोगमा गुणस्तरीयता र स्थानीय बजार प्रवद्र्धनमा समेत सहयोग पुग्दछ भने व्यावसायीक स्थायीत्व र युवा कृषकको कृषिमा सहभागिता बढ्ने भएकोले कृषिलाई पर्यटनसँग जोड्नु पर्दछ ।

कृषि पर्यटनको विकासले पर्यटन क्षेत्र विस्तार भई पर्यटकको प्रत्यक्ष सहभागितामा मौलिक उत्पादनको प्रसोधन हुन्छ । कृषि पर्यटन विकासले गाउँमै होमस्टेको विकास हुन्छ । ग्रामीण पर्यटकहरूलाई गाउँमा बस्न खान होमस्टेको सुविधा भएपछि पर्यटकको आकर्षण बढ्न जान्छ । पर्यटकको माग हुन थालेपछि मौलिक घरेलु वस्तुहरूको उत्पादन बढ्छ । चिनारी एवं चिनोको रूपमा प्रदान गरिने स्थानीय उत्पादनको उपहारले बजार विस्तार हुन्छ ।

पर्यटन निजी क्षेत्रको व्यापार पनि हो । यसबाट व्यक्ति र समुदायले फाइदा उठाउँछन् । सरकार र आमनागरिकलाई यसबाट प्रत्यक्ष एवं अप्रत्यक्ष फाइदा हुन्छ । दाङमा पर्यटकीय सम्भाव्यताहरू छन् भनेर बस्दैमा पर्यटक आउँदैनन् । यसका लागि वातावरण बनाउनुपर्छ । पर्यटकीय वस्तु र गन्तव्यलाई अधिकतम उपयोगमा ल्याउनुपर्छ ।

यसका लागि गाउँ–गाउँमा स्थानीय सरकारले होमस्टे, पदमार्ग, उपहार र कोसेलीहरू पर्यटकहरूलाई स–शुल्क दिने सीप र व्यावसायीक तालिम, पाक शिक्षा, स्वास्थ्य एवं सुरक्षा शिक्षा पालिकाहरूले दिनुपर्दछ । सरकारी तथ्यांक हेर्ने हो भने ८० प्रतिशतभन्दा बढी गाउँले भरिएको नेपालमा ६५ प्रतिशतभन्दा बढीको रोजगारी क्षेत्र कृषि हो । त्यसैले कृषि पर्यटनलाई व्यावसायीक बनाउन पर्दछ ।

शहरदेखि गाउँसम्म रोजगारी विकासमा कृषि पर्यटनले गर्ने हुँदा यसको विकासमा सबैको ध्यान जान जरूरी छ । परम्परागत रूपमा गरिदै आएको निर्वाहमुखी कृषि प्रणालीले अब ग्रामीण क्षेत्रमा बसोबास गर्ने कृषहरूको आवश्यकता पूरा हुन सक्दैन । बेरोजगारी युवाहरू विदेश पलायन मात्र होइन आन्तरिक बसाईसराई अहिले दाङमा पनि जटिल समस्या बन्दै गइरहेको छ । गाउँका खेतीयोग्य जमीन दिन प्रतिदिन बाँझो बन्दै गएको छ । पशुपालनको लागि धेरै सम्भावना भए पनि त्यसको सही प्रयोग हुन सकेको छैन । कृषि पेशा आमरूपमा सबैको हेलाको पेशा बनेको छ ।

अहिले घुमफिरको लागि निस्कने, अर्गानिक खाना खाने र ग्रामीण जीवनशैलीप्रतिको आकर्षण बढ्दै गइरहेको छ । शहरको जीवनशैली विविध कारणबाट कष्टप्रद र पट्यारलाग्दो बन्दै गइरहेको छ । शहर बजारमा बस्ने धेरै मानिसहरू फुर्सदका समयमा गाउँघरमा घुमफिरमा रमाउन खोज्दछन् । गाउँघरमा पर्यटकहरूलाई आकर्षण गराउने माध्यम भनेको कृषि पर्यटन हो ।

ग्रामीण विकासको आधार पनि कृषि पर्यटन हो । कृषि पर्यटनले एकातिर कृषकलाई खाद्यान्न उत्पादन र पशुपालनमा आकर्षित गर्दछ भने अर्कोतर्फ ग्रामीण पर्यटकलाई कृषि प्रणाली र ग्रामीण जीवनशैलीको बारेमा पर्यटकहरूलाई अध्ययन अनुसन्धानमा सहयोग पु¥याउँछ । गाउँमा जाने पर्यटकहरूलाई अर्गानिक र पोषणयुक्त खानाको स्वादसमेत दिलाउँछ । कृषि पर्यटनको बजारको खासै समस्या छैन । उत्पादित बस्तुले सहज रूपमा बजार पाउन सक्दछ ।

अहिले दिन प्रतिदिन जीवनशैली रूपान्तरित भइरहेको छ । हप्ताको एकचोटी बिदा मनाउन घर बाहिर जाने संस्कारको विकास भइरहेको छ । हाम्रा स्कुल तथा कलेजले समेत आफ्ना विद्यार्थीलाई विविध भ्रमणका कार्यक्रम तयार गरेको पाइन्छ । सरकारी, गैह्रसरकारी संघसंस्थामा कार्यरत कर्मचारी विविध कार्यक्रम बनाएर घुमफिरमा निस्कने अहिले फेशनजस्तै बनेको छ जुन पर्यटनको क्षेत्रमा सकारात्मक पक्ष हो । अबको हाम्रो पहल भनेको घुमफिरमा निस्कने यी प्रत्येक पाइलालाई गाउँ–गाउँ र बस्ती बस्तीमा पु¥याउन सक्नुपर्दछ । कलम र कम्प्युटरको किप्याडमा रमाउने शहरिया जीवन बिताउनेहरूलाई कृषि पर्यटनको गाउँमा जाँदा कृषकले हलो, कुटो, कोदालोले खेतबारीमा काम गरेको देख्न पाउँछ । जुन कारणले उसलाई पनि आफ्नो करेसाबारीमा तरकारी फलाउने उत्सुकता जगाउँछ ।

अहिले शहर बजारमा जन्मे हुर्केका बालबालिकाहरू कृषिका कुरा थाहा हुन छाडेको छ । दूध कहाँ पाइन्छ ? भन्ने हो डेरीमा भन्ने अवस्थामा पुगेका छन् । सुन्तला, काफल खान्छन् तर त्यसको बोट कस्तो हुन्छ ? भन्ने कुरा धेरैलाई थाहा हुन्न । यो उदाहरण मात्र हो । कृषि पर्यटनले यस्ता कुराहरूलाई अवलोकनका माध्यमले थाहा दिलाउँछ ।

कृषि पर्यटनको क्षेत्रमा आफ्ना बालबालिकासँग गाउँमा स्थानीय ताजा र अर्गानिक खानेकुरा खादै एकरात बिताउँदाको अनुभव छुट्टै हुन्छ । कृषकसँगै प्रत्यक्ष रूपमा कृषि कार्यमा संलग्न भएर गाउँघरको घुमघाम सबैलाई रमाइलो हुन्छ । शहरिया बालकका लागि आफ्नै आँखाकै अगाडि भैंसीको दुहेको, काठको ठेकीमा दही माथेको, दहीबाट मही, नौनी उत्पादन प्रक्रिया हेर्दा रमाउँछन् ।

यो मात्र होइन कृषि पर्यटनले गाउँमा धेरै कुराको अध्ययन र अवलोकन गराउँछ । कृषि पर्यटक समाजमा प्रत्यक्ष सहभागी हुनाले सामाजिक सद्भाव बढ्छ । फर्म–स्टे, होमस्टेले पर्यटकको आकर्षण बढ्दै गाउँमा जाने पर्यटनको संख्या बढ्छ । सामाजिक सद्भावको दायरा विस्तार हुँदै मौलिक घरेलु वस्तुहरूको उत्पादन बढ्छ । चिनारी एवं चिनोको रूपमा प्रदान गरिने स्थानीय उत्पादनको उपहारजस्ता बस्तुको बजार विस्तार हुन्छ । कृषिलाई पर्यटनसँग जोड्न सके कृषिप्रतिको नैराश्यता हराउँदै रूचि बढ्छ । ग्रामीण पर्यटकको संख्या बढ्दै कृषि उपजको बजारीकरणमा टेवा पुग्छ ।

प्रदेश सरकारले पनि समृद्धिको मुख्य आधार कृषि र पर्यटनलाई मानेको छ । तर, मुख्य पर्यटकीय गन्तव्यमा कृषि कार्य भएको देखिन्न । अब प्रत्येक स्थानीय तहमा ठूला कृषि फार्महरूको सम्भाव्यता अध्ययन र माटोकोे गुणस्तर परीक्षण गरी नमूना सामुहिक कृषि फार्महरूको विकास गर्नुपर्दछ । यस्तो फार्ममा एउटा मात्र बाली वा तरकारी खेती गर्नुपर्छ । यस्तै, जग्गाधनीले खेती नगर्दासम्म बाँझो जग्गामा सँधियारले स्वाभाविक रूपमा नगदे बाली, खेती गर्न सक्ने अधिकारको कानुन ल्याउन पर्दछ ।

बाँझो जग्गा आधुनिक कृषि गर्न चाहने उद्यमी व्यवसायीलाई निश्चित अवधिका लागि लिजमा दिन सकिने कानुनी व्यवस्था पनि हुनुपर्दछ । अब गर्ने ब्यवसायी कृषिमा अर्गानिक बस्तुको उत्पादन गर्नुपर्दछ । कृषि पेसालाई मर्यादित र सम्मानित बनाउने र कृषिका लगानीकर्तालाई प्रोत्साहन तथा सम्मानको व्यवस्था स्थानीय सरकारबाट हुनुपर्दछ । आफ्नो जन्मस्थानमा कृषि पेसामा सम्मान प्रोत्साहन नपाएका कारण दिनप्रतिदिन युवा विदेश पलायन हुने विषयलाई रोक्न पनि कृषिमा आकर्षण र सम्मान दिन सक्नुपर्दछ । सहजरूपमा मल, बीउ, अनुदान, सुलभ ऋण प्राप्त हुने अवस्था भए कृषिमा लगानीकर्ता सुरक्षित र आकर्षित हुन्छन् । कृषि क्षेत्रलाई हरेक तहबाट अनिवार्य प्राथमिकतामा राख्नुपर्ने व्यवस्था सरकारले गर्नुपर्दछ ।

अर्को महत्वपूर्ण कुरा कृषिमा भएको लगानीको सुरक्षा हो । अहिले बेलाबखत खडेरी, असिनाजस्ता मौसममा आएको प्रतिकूलता, रोगव्याधी, बाँदर, किरा आदिबाट हुने जोखिम तथा न्यून गुणस्तरको बीउबिजनका कारण खाद्यान्न, फलफूल तथा तरकारीको उत्पादनमा नोक्सानी पु¥याइरहेको छ । यसबाट कतिपय किसानको लगानी बर्षेनी खेर गएको छ । प्राकृतिक विपत्ति वा रोगजन्य कारणबाट हुने क्षतिबाट जोगाउन बाली तथा पशु बिमाको व्यवस्था गरिनुपर्दछ । औद्योगिक बिमाको व्यवस्था गर्ने हो भने ब्यवसायी कृषि सुरक्षित बन्न सक्दछ ।

कृषि पर्यटनको लागि अहिले कृषक समूह, कृषि सहकारी, कृषि फर्मको नाम मात्र होइन निजी लगानीमा समेत कृषि कार्य गर्न सकिन्छ । कृषि पर्यटनले ग्रामीण क्षेत्रमा रहेर पनि आयआर्जन र ग्रामीण पर्यटन विकासको विकास गर्न सकिन्छ । सरकारले कृषिमा अनुदान बढाउने, कृषि सम्वन्धित तालिम, ग्रामीण सडकमार्ग विस्तारमा विशेष ध्यान दिनुपर्दछ । कृषिको क्षेत्रमा लगानीमैत्री वातावरण बनाउने हो भने कृषि उत्पादन मात्रै होइन, कृषि पर्यटकबाट पनि गाउँको विकास हुन्छ । दाङमा कृषि पर्यटनको सम्भावना धेरै छ । कृषिलाई आधुनिकीकरण गर्नसक्ने हो भने कृषि पर्यटनको विकास हुन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here