घोराही, १५ फागुुन । प्रदेश नम्बर ५ को सरकारले कृषि सामाग्रीको बजारीकरणका लागि कृषि उपज बजार तथा संकलन केन्द्र स्थापना गर्न स्थानीय तह, कृषक समूह, कृषि सहकारी र निजी फर्म सञ्चालकलाई आग्रह गरेको छ । बिचौलियका कारण किसानले आफ्नो उत्पादनको सही मुल्य पाउन नसकिरहेको भन्दै प्रदेश नम्बर ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि उत्पादनको बजारीकरणका लागि कृषि उपजबजार तथा संकलन केन्द्र स्थापना गर्न लागेको हो । सरकारले कृषि उपज सामाग्रीको बजारीकरणका लागि प्रादेशिक बजार, हाटबजार, थोक बजार, खुद्रा बजार तथा संकलन केन्द्र निर्माण गर्न स्थानीय तह, कृषक समूह र कृषि सहकारीलाई ७५ प्रतिशत अनुदान र निजी फर्म तथा कम्पनीलाई ५० प्रतिशत अनुदान दिने कृषि ज्ञान केन्द्र दाङका प्रमुख कृष्णबहादुर बस्नेतले जानकारी दिए । उनले भने ‘सरकारले कृषि उत्पादनको बजारीकरण गर्न कृषि उपज बजार तथा संकलन केन्द्रको लागि पूर्वाधार निर्माण गर्न फागुनभित्र प्रस्तावनाको निवेदनसहित आवेदनको मागसमेत गरेको छ ।
उनका अनुसार मन्त्रालयको वेवसाइट www.molmac.p5.gov.np तथा कृषि ज्ञान केन्द्र दाङमा विस्तृत जानकारी प्राप्त गर्न सकिने छ । स्थानीय तह तथा कृषि समूह, कृषि सहकारी संस्था एवं निजी फर्म र कम्पनीले आवेदनका लागि आवश्यक पर्ने कागजपत्र मन्त्रालयको वेबसाइटबाट पनि प्राप्त गर्न सक्छ र कृषि ज्ञान केन्द्र घोराहीमा वा पायक पर्ने कृषि ज्ञान केन्द्रमा पनि आवश्यक जानकारी लिन सकिन्छ उनले भने । कृषिको उर्वरभूमि प्रदेश नम्बर ५ मा कृषि उत्पादन बढ्दै गएको छ तर किसानले कृषि उत्पादनको सही मुल्य पाउन नसक्दा बिचौलियाको निरुत्साहितको लागि सरकारले कृषि उत्पादन बिक्री वितरण गर्न कृषि उपज बजार स्थापना गर्न ठूलो मात्रामा अनुदान रकम प्रदान गरेको छ– उनले भने, कृषि उपज बजारअन्तर्गत पर्ने हाटबजार सेड, थोक बजार र संकलन केन्द्र निर्माण, बारबन्देज, गोदाम घर तथा अफिसकोठा निर्माण, खानेपानी, शौचालय तथा फोहर व्यवस्थापन भएको हुनुपर्ने मापदण्ड निर्धारण गरिएको छ । उनले सरकारले कृषि समूहको जग्गा खरिद तथा भाडामा भने लगानी नगर्ने उनले बताए । त्यस्तै संकलन केन्द्र लागि व्यवस्थापन कक्ष सेड स्टोर, तौलने सुविधा, सूचना सुविधा, शौचालय र खानेपानीको सुविधा भएको हुनुपर्ने मापदण्ड रहेको प्रमुख बस्नेतले बताए । त्यस्तै थोक बजार निर्माणका लागि कम्पाउण्ड वाल, एप्रोज रोड, कार्यालय, सूचना केन्द्र स्टोर, तौलने सुविधा, सूचना तथा सञ्चार सुविधा, शौचालय र खानेपानीको सुविधा हुनुपर्ने, खुद्रा बजारका लागि सेड निर्माण स्टोर, शौचालय र खानेपानी हुनुपर्ने, नयाँ हाटबजार र पुरानो हाटबजार सुदृढीकरणका लागि व्यवस्थापन कक्ष, सेड निर्माण, शौचालय र खानेपानी, खुद्रा बजारका लागि सेड निर्माण स्टोर, शौचालय र खानेपानी हुनुपर्ने मापदण्ड निर्धारण गरिएको उनले बताए ।
त्यस्तै प्रदेशस्तरको हाट बजारका लागि कम्पाउण्ड वाल, एप्रोच रोड, कार्यालय, सूचना केन्द्र, स्टल, स्टोर गोदाम, शौचालय र खानेपानीको मापदण्ड निर्धारण गरिएको छ उनले भने । कृषि बजारका लागि आवेदन दिन चाहने स्थानीय तह, कृषि समूह, कृषि सहकारी संस्था र निजी फर्म तथा कम्पनी सञ्चालकले निवेदनको ढाँचा, प्रस्तावनाको ढाँचा, मापदण्डमा आवश्यक पर्ने कागजातहरु र तोकिएका कार्यालयलगायतका जानकारी मन्त्रलायको वेबसाइटबाट र पायक पर्ने कृषि ज्ञान केन्द्रबाट प्राप्त गर्न सकिने प्रमुख बस्नेतले बताए ।