कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई कारवाही गरिने

फिचर मुख्य खबर समाज

तुलसीपुर, ४ असोज ।
चाडपर्वमा कुनै पनि वस्तुको कृत्रिम अभाव सिर्जना नगर्न तुलसीपुर उद्योग वाणिज्य संघले आम व्यवसायीहरुलाई आग्रह गरेको छ । संघले चाडपर्वका नाममा उपभोक्ताहरुलाई चर्को मूल्यमा मालसामान बिक्री वितरण गर्ने तथा कुनै पनि अखाद्य वस्तुहरु बिक्री गर्ने व्यवसायीलाई तत्काल कारवाही गर्ने जनाएको छ । संघको शनिबार बसेको नियमित बैठकमा बोल्दै संघका अध्यक्ष वीरबहादुर रावतले चाडपर्वलाई व्यवसायीले अवसरका रुपमा नभएर सेवा र सर्वसुलभ तरिकाले बजारमा दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्नुपर्ने बताएका छन् ।
अध्यक्ष रावतले चाडपर्वमा दैनिक उपभोग्य वस्तुको सही मूल्य कायम गरी म्याद सकिएका वस्तुहरु तत्काल पसलबाट हटाउनसमेत अनुरोध गरे । वाणिज्य संघले खाद्य, फलफूल, तरकारी, मासु र अन्य उपभोग्य सामग्रीहरु बिक्रीका बारेमा विभिन्न माध्यमबाट अनुगमन भैरहेको समेत प्रष्ट पारे । बैठकमा बोल्ने वक्ताहरुले तुलसीपुरलाई सफा सुन्दर र चहलपहल हुने स्थानहरुमा विशेष सुरक्षा निगरानी बढाउनेसमेत सुझाव दिएका छन् ।
कार्यक्रममा निवर्तमान अध्यक्ष विमल रिजालले यस क्षेत्रको विकास गर्न सबै दलका नेता तथा जनप्रतिनिधिको सक्रियता बढनुपर्ने बताए । उनले निजी क्षेत्रको सहकार्यमा हुने हरेक सकारात्मक र ब्यबसायिक गतिविधिलाई आफूहरुले हातेमालो गर्न तयार रहेकोसमेत जानकारी दिए । कार्यक्रममा वाणिज्य संघमा विभिन्न पदमा रहि अध्यक्षको समेत भूमिका कुशलतापूर्वक निर्वाह गरेको भन्दै निवर्तमान अध्यक्ष विमल रिजाललाई मानार्थ सदस्यता प्रदान गरिएको छ ।
दश बर्षभन्दा बढी निरन्तर संघको विकासमा योगदान पु¥याएको भन्दै रिजाललाई मानार्थ सदस्यता प्रदान गरिएको महासचिव रुपबहादुर खत्रीले जानकारी दिए । कार्यक्रममा बोल्ने वक्ताहरुले चाडपर्वमा उपभोक्तालाई असर पर्ने कुनै पनि गतिविधि भएको पाईएमा तत्काल वाणिज्य संघमा जानकारी गराउनुपर्ने समेत बताएका थिए ।
कार्यक्रममा पूर्व अध्यक्षहरु चिरञ्जीवि रिजाल, हेमन्त रिजाल, प्रेस सल्लाहकार शरद रेग्मी, केन्द्र तथा प्रदेश सदस्यहरु नरेशराज भण्डारी, दुर्गाप्रसाद भुसाल, बिमल पौडेल, वरिष्ठ उपाध्यक्ष रामप्रसाद चलिसे, उपाध्यक्ष ललितजंग शाह लगायतले मन्तव्य व्यक्त गरेका थिए । कोषाध्यक्ष डिल्लीबहादुर वलीले आर्थिक गतिविधिका बारेमा जानकारी गराएका थिए ।
त्यस्तै तुलसीपुर उद्योग वाणिज्यअन्तर्गत किराना ब्यवसायी उपसमितिले चाडपर्वमा उपभोक्तालाई दुईदेखि दश प्रतिसतसम्म छुट दिने निर्णय गरेको संयोजक वसन्त कुमार खड्गीले जानकारी दिए । बैठकले संविधान दिवसको अवसरमा विभिन्न पदकबाट विभूषित भएकालाई बधाई ज्ञापन गर्ने निर्णय गरेको छ ।
नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय अध्यक्ष भवानी राणा, उपाध्यक्ष केन्द्रीय सदस्य तथा विभिन्न जिल्लाका अध्यक्ष हरु र दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाललगायत अन्य सुरक्षा निकायका प्रमुख तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई बधाई ज्ञापन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *